पराजित भएपछि भीम रावलले भने– १० हजार मतलाई सम्पत्ति मानेर सडकबाटै राष्ट्रियताको पहरेदारी गर्छु

धनगढी । पाँच दशक लामो राजनीतिक विरासत, पूर्वउपप्रधानमन्त्रीको ओहोदा र राष्ट्रियताको सवालमा सधैँ खरो उत्रने छविले चिनिएका नेता भीम रावलको संसद् यात्रा रोकिएको छ ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत अछाम–१ को मतपरिणाम यस पटक उनको पक्षमा देखिएन । झिनो मतले उनी पराजित भए ।
शनिबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रावल नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर स्वाँरसँग ५२६ मतको अन्तरले पराजित भए ।
पराजित भएलगत्तै रावलले दिएको प्रतिक्रियाले भने उनी चुनाव हारे पनि मनोबलमा रत्तिभर नडगमगाएको सन्देश दिएको छ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि रावलले सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत पराजयलाई सहजतापूर्वक स्वीकार गरेका छन् ।
आफूले प्राप्त गरेको १० हजार २२३ मतलाई अंकगणित मात्र नभई जनताको अमूल्य सम्पत्तिको रूपमा उनले व्याख्या गरे ।
‘अछामी जनताले देखाएको गहिरो माया र समर्थन मेरो हृदयमा अटल रूपमा रहेको छ,’ रावलले भनेका छन्, ‘यही समर्थनको परिणामस्वरूप निर्वाचनको अन्तिम क्षणमा तपाईंहरूको अमूल्य १० हजार २२३ मत प्राप्त गरेको छु । ५२६ मतले म तपाईंहरूको आवाजलाई संसदमा औपचारिक रूपमा प्रस्तुत गर्न नसक्ने भएको छु ।’
रावलले प्राविधिक रूपमा चुनाव हारे पनि आफ्नो राजनीतिक एजेन्डा नहारेको दाबी गरे । ‘मैले यो देशको हित र अछामी जनताको भावना अनुरूप नीति निर्माण तहमा अगाडि बढ्ने जुन सङ्कल्प गरेको थिएँ, त्यो सङ्कल्पबाट म रत्तिभर पनि विचलित छैन,’ उनले भने ।
अछाम–१ को यो चुनावी लडाइँ रावलका लागि फलामको च्युरा सरह थियो । एकातिर लामो समय योगदान गरेको पुरानो घर नेकपा एमालेको सांगठनिक शक्ति उनीविरुद्ध थियो भने अर्कोतिर नेपाली कांग्रेस ।
कांग्रेसका भरतबहादुर स्वाँरले १० हजार ७५९ मत ल्याएर विजय हासिल गर्दा रावलले १० हजार २२३ मतमा चित्त बुझाउनु पर्यो ।
एमालेका दीपकबहादुर साउद, रास्वपाका ओमप्रकाश रावल र राप्रपाका लोकेन्द्रबहादुर शाह जस्ता प्रतिस्पर्धीहरूका बिचमा नयाँ दलबाट उत्रिएर पनि १० हजारभन्दा बढी मत ल्याए ।
आफ्नो हारबाट निराश भएका कार्यकर्ताहरूलाई ढाडस दिँदै रावलले नेपाली कम्युनिस्ट पार्टीका योद्धाहरूले ठुलो साहस र सौर्य प्रदर्शन गरेको भन्दै प्रशंसा गरे ।
रावलले भने, ‘यो राजनीतिक यात्रामा हामीले समाएको न्याय, सत्य र राष्ट्रिय स्वाधिनताको झन्डालाई कदापि झुक्न दिने छैनौँ । यो क्षणिक पराजयबाट कोही पनि निराश हुनुपर्दैन ।’
उनले जनताले दिएको मतलाई सम्पत्तिको रूपमा साँचेर राख्ने र सडकबाटै भए पनि नेपालको हक अधिकारको लागि सशक्त रूपमा लडिरहने उदघोष गरे ।
२०१३ सालमा अछाममा जन्मिएका रावलको राजनीतिक यात्रा उतारचढावपूर्ण रह्यो । २०५१ सालदेखि संसदीय राजनीतिमा प्रवेश गरेका उनी पर्यटन राज्यमन्त्री, गृहमन्त्री हुँदै उपप्रधान तथा रक्षामन्त्रीसम्म बने । २०७१ को एमाले महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्ष जितेका रावल एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँगको वैचारिक र कार्यशैलीगत मतभेदका कारण विस्तारै किनारमा धकेलिएका थिए ।
२०७९ को निर्वाचनमा टिकट खोसिएपछि सुरु भएको उनको विद्रोह अन्ततः पार्टीबाट निष्कासन र नयाँ दल गठनसम्म पुग्यो । ‘मातृभूमि जागरण अभियान’ चलाउँदै २०८२ मा नयाँ दलमा समाहित भएर उनी पुरानै निर्वाचन क्षेत्रमा फर्किएका थिए ।
यो निर्वाचन रावलका लागि आफ्नो अस्तित्व प्रमाणित गर्ने अवसर थियो । संसदको ढोका बन्द भए पनि उनले आफ्नो राजनीतिक यात्रा जारी रहने स्पष्ट संकेत गरेका छन् ।
‘आगामी दिनमा हाम्रो राजनीतिक यात्राका कुनै चरणहरूमा फेरि भेट हुनेछ,’ उनले भनेका छन् ।



