वडाध्यक्षमा प्रतिस्पर्धा गरेका रास्वपाका कार्कीको संसद् यात्रा

सिन्धुली । प्रतिनिधिसभा निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर–१ बाट रास्वपाका धनेन्द्र कार्की विजयी भएका छन् ।
रास्वपाका कार्की १६ हजार ६५९ मत ल्याए निर्वाचित भएका हुन् ।
सिन्धुली–१ मा गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको ९, १३ र १४ वडा छन् । नेपाली कांग्रेस– नेकपा एमालेको गढका रुपमा चिनिने यस क्षेत्रमा रास्वपाका कार्कीले आफ्नो पक्षमा चुनावी नतिजा ल्याए ।
२०४८ मा यहाँ एमालेका मदन ढुंगेल, २०५१ मा कांग्रेसका विपिन कोइराला, २०५६ मा एमालेका गंगाप्रसाद नेपाल, २०६४ मा एमालेका विषमलाल अधिकारी, २०७० सालमा नेकपा एमालेका गणेशकुमार पहाडी, २०७४ मा पनि उनै पहाडी र २०७९ मा कांग्रेसका श्यामकुमार घिमिरेले चुनाव जितेका थिए ।
तर अहिले कार्कीले चुनाव जित्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदिप कुमार कटुवाल रहे । कटुवालले १५ हजार ८७५ मत ल्याए । यस्तै कांग्रेसका उम्मेदवार उज्जवल बरालले १५ हजार ५७० मत तथा नेकपाका उम्मेदवार डेकेन्द्र प्रसाद सुवेदी भने ४ हजार ७०८ मत पाए ।
को हुन् कार्की ?
निर्वाचित कार्की २०७४ मा वडाध्यक्षका आकांक्षी थिए । त्यसबेला स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका उनी पछि रास्वपामा संगठित भए । सिन्धुलीमा रास्वपा गठन भएदेखि नै आबद्ध भएका कार्कीले पार्टीको क्षेत्रीय सभापति बनेर काम गरिसकेका छन् ।
रास्वपा सिन्धुलीको सभापति पदमा प्रतिस्पर्धी गरेका उनी प्रतिस्पर्धीसँग बराबर मत आएपछि गोलप्रथाबाट पराजित भएका थिए । उनी यातायात व्यवसायी हुन् ।



