फेब्रुअरीको पर्यटक आगमन कोभिड अगाडिभन्दा धेरै, एकै महिना १ लाख ५ हजार भित्रिए

काठमाडौँ । सन् २०२६ को फेब्रुअरी महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा सामान्य वृद्धि देखिएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको तथ्याङ्कलाई उद्धृत गर्दै सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो महिना कुल १ लाख ५ हजार ४ सय ४१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
यो सङ्ख्या गत वर्ष (सन् २०२५) को सोही महिनाको तुलनामा ८.८ प्रतिशतले बढी हो । सन् २०२५ को फेब्रुअरीमा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए । त्यस्तै, कोभिड महामारीभन्दा अगाडिको वर्ष सन् २०१९ को फेब्रुअरीको तुलनामा पनि यो वर्ष २.९ प्रतिशतले पर्यटक आगमन बढेको देखिन्छ । सो अवधिमा १ लाख २ हजार ४ सय २३ जना पर्यटक आएका थिए ।
यी हुन् पर्यटक आउने प्रमुख देशहरू
फेब्रुअरी महिनामा नेपाल भित्रिने पर्यटकहरूको सूचीमा सधैँझैँ छिमेकी मुलुक भारत पहिलो स्थानमा रहेको छ । भारतबाट यस महिना २२ हजार ७ सय ४५ जना पर्यटक नेपाल आएका छन् । त्यसैगरी, दोस्रो स्थानमा उत्तरी छिमेकी मुलुक चीन रहेको छ, जहाँबाट १० हजार ८ सय १६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
तेस्रो स्थानमा अमेरिका रहेको छ । एक महिनाको अवधिमा अमेरिकाबाट ९ हजार ७१० जना पर्यटक भित्रिएका छन् । त्यस्तै, श्रीलंकाबाट ७ हजार ५१५, म्यानमारबाट ६ हजार ३५, बेलायतबाट ५ हजार ६१८ पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, थाइल्याण्डबाट ३ हजार ६३८, बंगलादेशबाट ३ हजार २१२, जर्मनीबाट २ हजार ८५० र दक्षिण कोरियाबाट २ हजार ५५३ पर्यटकले यो महिनामा नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।
यस तथ्याङ्कअनुसार म्यानमार र थाइल्याण्ड जस्ता बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेका देशहरूबाट पनि पर्यटक आगमनमा राम्रो सुधार देखिएको छ ।
प्रतिशतका आधारमा बजार हिस्सा
कुल पर्यटक आगमनलाई प्रतिशतको आधारमा विश्लेषण गर्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन मुलुकहरूको हिस्सा सबैभन्दा ठुलो देखिएको छ । कुल आगमनमा सार्क क्षेत्रको योगदान ३३.५ प्रतिशत रहेको छ ।
क्षेत्रगत रूपमा हेर्दा सार्क मुलुकपछि ’अन्य एसियाली’ मुलुकहरूबाट २८.३ प्रतिशत पर्यटक आएका छन् । युरोपबाट १६.६ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन्, जसमा बेलायत र जर्मनीको हिस्सा प्रमुख छ ।
त्यस्तै, अमेरिकी महादेशबाट ११.२ प्रतिशत र ओसेनियाबाट १.६ प्रतिशत पर्यटक आएका छन् । मध्यपूर्व र अफ्रिकी मुलुकहरूबाट हुने आगमन भने क्रमशः ०.९ प्रतिशत र ०.३ प्रतिशतमा सीमित रहेको देखिन्छ ।
कुन क्षेत्रबाट कति सुधार
सन् २०२५ को तुलनामा केही देशहरूको आगमनमा निकै ठुलो उछाल आएको छ ।
म्यानमारबाट हुने आगमन ९१.६ प्रतिशतले बढेको छ भने पोल्याण्डबाट ९०.३ प्रतिशत र श्रीलंकाबाट ७२ प्रतिशतको वृद्धि देखिएको छ । यद्यपि, अस्ट्रेलिया र भियतनाम जस्ता केही देशहरूबाट हुने आगमनमा भने गत वर्षको तुलनामा गिरावट आएको तथ्याङ्कले देखाउँछ।



