जेनजी प्रदर्शनमा जेलबाट भागेका ४ जना लागुऔषधसहित पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा कारागारबाट भागेका ४ जनालाई सशस्त्र प्रहरीले भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको छ । लागुऔषध कारोबार गरिरहेको अवस्थामा ४ जनालाई पक्राउ सशस्त्रको इन्टेलिजेन्स ब्यूरोले पक्राउ गरेको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले जानकारी दिए ।
पक्राउ पर्नेमा धरान घर भएका ३३ वर्षीय सुनिल थापा, लोकन्थली घर भएका ३३ वर्षिय आशिष पाण्डे, ललितपुर घर भएका २१ वर्षिया राशि गौतम र काठमाडौँको नक्साल घर भएका २१ वर्षिय युनिक पोखरेल छन् ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट पक्राउ परेका सुनिल थापा लागुऔषध कारोबार मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका थिए । उनी भदौ २४ मा कारागारबाट भागेका हुन् । अन्य आरोपीहरू पनि लागुऔषध मुद्दामा थुनामा थिए ।
मंगलबार उनीहरू लोकन्थली स्थित जस्ताको टहरामा लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरूको साथबाट १५ ग्राम लागुऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेट समेत फेला पारेको छ।



