चुनावी प्रचारमा सङ्गीतको सहारा

काठमाडौँ । यतिबेला सहरका गल्लीदेखि गाउँका चौतारीसम्म राजनीतिक दलका प्रचार गीतहरू घन्किरहेका छन् । किनकि देशमा चुनाव आउँदैछ । फागुन २१ गते नजिकिँदै जाँदा उम्मेदवारहरू मतदातासँग भोट माग्न घरदैलोमा छन् । यसमा गीत-सङ्गीतले माहौललाई अझ तताइरहेको छ ।सङ्गीतमा यस्तो अद्भुत शक्ति हुन्छ, जसले मानिसको भावनालाई सिधै स्पर्श गर्छ । सायद त्यसैले होला, हरेक राजनीतिक दलले चुनाव प्रचारको एक माध्यम गीत-सङ्गीतलाई बनाएका छन् । यस्ता गीतमा सिधै भोट माग्नेदेखि पार्टीका एजेन्डा, चुनाव चिह्न र नेताको व्यक्तित्व प्रचार गर्ने शब्दहरू उनिएका हुन्छन् ।
यसपालिको चुनावी प्रचारमा ‘बदलियो कांग्रेस, बदल्छौँ देश’, ‘युवाको आशा भरोसाको केन्द्र गगन दाइ’, ‘सै पनि एमाले, मैं पनि एमाले’, ‘एमाले हुँ म’, ‘अब की बार बालेन सरकार’, ‘घण्टी बजाऊ’, ‘राष्ट्रनायक प्रचण्ड’देखि ‘गाउँ गाउँबाट उठ, बस्ती-बस्तीबाट उठ’ जस्ता गीतहरू सम्बन्धित पार्टीको घरदैलो र चुनावी सभाहरूमा घन्किरहेका छन् ।
यसपटक चुनावी प्रचारका लागि नयाँ गीतहरू थुप्रै निर्माण गरिएका छन् । कतिपय दलहरूले पुरानै गीतलाई पनि प्रयोग गरेका छन् । चुनावी प्रचारका गीतहरू अहिले घरदैलोमा मात्र सीमित छैनन्, युट्युब, टिकटक, फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा समेत यी गीतको प्रयोग व्यापक छ ।
नेपाली कांग्रेसले यस पटकको चुनावमा ‘झ्याप्पै रुखमा छाप लाउनी’ बोलको गीतलाई बढी प्रयोग गरेको देखिन्छ । विमलराज क्षेत्री र प्रीति आलेको स्वर, खेम पुनको संगीत र कृष्ण केसीको एरेन्ज रहेको यो गीत २०७९ को निर्वाचनमा तयार पारिएको हो ।
यसबाहेक कांग्रेसले ‘युवाको आशा भरोसाको केन्द्र गगन दाइ’, ‘आयो कांग्रेस आयो’, ‘नेपाली कांग्रेस जिन्दाबाद’, ‘फरर चारतारे झन्डा’ जस्ता गीतहरू पनि घन्काइरहेको छ । यसै वर्ष सार्वजनिक भएको ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ बोलको गीत अहिले बढी चर्चामा छ, जसमा विमलराज क्षेत्रीको स्वर र पंकज पौडेलको शब्द तथा संगीत छ ।
कांग्रेस निकट सांस्कृतिक महासंघकी कोषाध्यक्ष राधिका हमाल ठाउँ र उम्मेदवार अनुसार फरक–फरक गीत समेत निर्माण गरिएको बताउँछिन् । उनले थुप्रै उम्मेदवारका लागि व्यक्तिगत गीत समेत तयार पारेकी छन् । राधिकाको ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराप्रति भने केही विमति छ । ‘गीतका शब्द गगन थापा र विश्वप्रकाश शर्मा दाजुहरूको अवधारणा हुनसक्छ । तर मेरो विमति यो हो कि कांग्रेस नै बदलेर के गर्ने ? बरु पार्टीभित्रका नराम्रा पक्ष फालौँ र देश बदलौँ भन्नुपर्ने हो कि !’
पार्टीभित्र विचारको बेमेल हुनु स्वाभाविक भए पनि पार्टीको निर्देशन र नेतृत्वको सम्मान गर्दै आफूहरू चुनावी गीत निर्माणमा जुटेको उनी बताउँछिन्
नेकपा एमालेले ‘सै पनि एमाले, मैं पनि एमाले’ र ‘एमाले हुँ म’ जस्ता चर्चित गीतहरूलाई नै प्राथमिकता दिएको छ । साथै ‘आयो एमाले आयो’, ‘राम्रो नेपालमा राम्रो एमाले’, ‘सूर्यमै भोट’ र ‘यता पनि एमाले उता पनि एमाले’ जस्ता गीतहरू चुनावी मैदानमा गुञ्जिरहेका छन् ।
यस वर्ष एमालेका लागि ‘सललल सललल, हाम्रो सूर्य उदायो झललल’ र ‘ज्याम्री माया’ बोलका नयाँ गीतहरू तयार पारिएका छन् । ‘सललल’ गीतमा बैकुण्ठ महत, बाबुराम पन्थी र प्रिया भण्डारीको स्वर छ भने ‘ज्याम्री माया’मा लक्ष्मी आचार्य र बैकुण्ठ महतको स्वर सुन्न सकिन्छ ।
एमाले लुम्बिनी प्रदेश लेखा कमिटीका उपाध्यक्ष एवं लोकगायक बैकुण्ठ महत राजनीतिलाई जनताको मनसम्म पुर्याउने सरल माध्यम संगीत नै भएको बताउँछन् ।
‘मैले आजसम्म पार्टीका लागि गाएका गीतको बदलामा एक रुपैयाँ पनि लिएको छैन’, उनी भन्छन्, ‘यो मेरो व्यक्तिगत इच्छा र पार्टीप्रतिको वैचारिक प्रतिबद्धता हो ।’ महतका अनुसार चुनावी गीतहरू नेताहरूलाई उनीहरूको ‘प्रतिबद्धता पत्र’ सम्झाउने माध्यम पनि हुन् ।
त्यस्तै वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि प्रचारका लागि थुप्रै गीतहरू प्रयोगमा ल्याएको छ । जसमा ‘घण्टी बजाऊ’ र ‘अब की बार बालेन सरकार’ जस्ता गीत चर्चामा छन् ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टीको चुनाव चिह्न ‘घण्टी’ आफैँमा एउटा ध्वनि भएकाले गीतहरूमा यसलाई कलात्मक रूपमा प्रयोग गरिएको छ ।
‘विशेषगरी मधेस प्रदेशमा गीतको बाढी नै आएको छ । मैले यात्रा गर्दा ५०० भन्दा बढी फरक–फरक चुनावी गीतहरू सुनिसकेँ’, झा भन्छन्, ‘अहिले ‘टन टन टन घण्टी’ बोलको गीत निकै लोकप्रिय छ ।’ रास्वपाका लागि यी गीतहरू केन्द्रबाट मात्र नभई स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा निर्माण गरिरहेको झा बताउँछन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यसपटक ‘लाल तारा’, ‘रातो तारा’ र ‘भोट हालौँ तारामा’ बोलका गीतहरू प्रयोग बढी गरिरहेको छ । ‘लाल तारा’ मा रामकुमार नेपालीको संगीत र स्मिता दाहालको स्वर छ ।
जनसांस्कृतिक महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष चेतन सापकोटाका अनुसार यस पटक ‘एआई’ प्रविधिको प्रयोग गरेर पनि थुप्रै चुनावी गीत बनाइएका छन् । ‘यो पटकका गीतहरूमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूलाई बढी जोड दिइएको छ’, सापकोटा भन्छन्, ‘राष्ट्रनायक प्रचण्ड जनतासँगै’ भन्ने गीत अहिले पनि उत्तिकै चर्चामा छ ।’
कांग्रेस, एमाले, रास्वपा र माओवादी मात्र होइन, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत चुनावी मैदानमा जति पनि दलहरु छन् । सबै दल आ–आफ्ना साङ्गीतिक अस्त्रसहित मैदानमा उत्रिएका छन् । त्यसरी प्रयोग गरिएका गीतले वर्षौँको राजनीतिक सम्बन्ध र जटिल एजेन्डालाई सरल रूपमा व्याख्या गरिदिने भएकाले चुनावी मैदानमा गीतकै प्रभाव बढी भएको देखिन्छ ।



