अमेरिकी नागरिकको रक्षाका लागि इरानमाथि हमला : राष्ट्रपति ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरिएको संयुक्त सैन्य आक्रमणको बचाउ गर्दै यसलाई ‘अमेरिकी जनताको रक्षाका लागि चालिएको कदम’ भएको बताएका छन्। उनले इरानी शासनबाट हुन सक्ने आसन्न खतराहरू समाप्त पार्नका लागि अमेरिका र इजरायलले यो संयुक्त कारबाही गरेको स्पष्ट पारेका हुन्।
आक्रमणको केही समयपछि सम्बोधन गर्दै ट्रम्पले भने, ‘केही समयअघि अमेरिकी सेनाले इरानमा ठूलो सैन्य अभियान सुरु गरेको छ। हाम्रो उद्देश्य इरानी शासनको खतरालाई जरैदेखि उखेलेर अमेरिकी नागरिकहरूको सुरक्षा गर्नु हो।’
यता, इजरायलले इरानमाथि मिसाइल प्रहार गरेको पुष्टि गरिसकेको छ भने अमेरिकी अधिकारीहरूले पनि यसमा आफ्नो प्रत्यक्ष सहभागिता रहेको जनाएका छन्। इरानको राजधानी तेहरानमा श्रृङ्खलाबद्ध ठूला विस्फोटका आवाजहरू सुनिएका छन्।
यसैबिच, इजरायली रक्षामन्त्री इजरायल काट्जले यसलाई पूर्व-सतर्कता आक्रमण भन्दै सम्भावित जवाफी हमलालाई मध्यनजर गर्दै इजरायलभर संकटकालको घोषणा गरेका छन्।



