वरिष्ठ मेकअप आर्टिस्ट अशोक रोकाको निधन

काठमाडौं । वरिष्ठ मेकअप आर्टिस्ट अशोक रोकाको निधन भएको छ । उनको निधनमा चलचित्र प्राविधिक संघ र चलचित्र विकास बोर्डले छुट्टा-छुट्टै शोक वक्तव्यमार्फत दुःख व्यक्त गरेका छन् ।
विहिबार बेलुका घट्टेकुलोस्थित एक घरमा रोकाको निधन भएको जानकारी चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन पुष्कर लामाले दिए ।
उनले कलाकारलाई चरित्रअनुसारको जीवन्त साजसज्जा, भाव र रूप प्रदान गर्दै पर्दापछाडिबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
रोकाले नेपाल टेलिभिजनको सिरियल ‘चक्रब्यूह’बाट मेकअप कलाकारको रुपमा काम गरेका थिए ।
रोकाले मेकअपलाई केवल पेशा नभई कला, साधना र श्रद्धाको विषयका रूपमा लिएका थिए । उनको अनुशासन, समर्पण र सिनेमा प्रतिको निष्ठाले नयाँ पुस्तालाई निरन्तर प्रेरित गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।
उनको निधनले नेपाली चलचित्र क्षेत्रले अनुभवी, सादगीपूर्ण र कर्तव्यनिष्ठ सर्जक गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति भनेको छ । साथै, दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त र सम्पूर्ण चलचित्रकर्मीमा गहिरो समवेदना व्यक्त गरेको छ ।
नेफ्टा अध्यक्ष पुष्कर लामाका अनुसार आज शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेर ३० मिनेटसम्म अन्तिम श्रद्धाञ्जलीका लागि रोकाको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा राखिने भएको छ ।
अध्यक्ष लामाले अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन सबै चलचित्रकर्मीलाई आग्रह गरेका छन् ।



