पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बासडर नियुक्त

चैत, काठमाडौं । काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्स प्रालिद्वारा आयोजना हुन लागेको कर्पोरेट टी-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
आज आयोजित एक औपचारिक कार्यक्रममा उनलाई लिगको ब्रान्ड एम्बासडरका रूपमा सार्वजनिक गरिएको हो ।
मध्यक्रमका भरपर्दा ब्याटरका रूपमा चिनिने बास्कोटा आफ्नो स्थिर प्रदर्शन र खेलप्रतिको समर्पणका लागि परिचित छन्। घरेलु क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्न सफल भएका छन् ।
उक्त कार्यक्रममा काठमाडौं स्पोर्ट्स एन्ड एभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारीले पृथु बास्कोटालाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
उनले भने, ‘पृथु जस्ता अनुभवी र प्रेरणादायी खेलाडीको साथले हाम्रो प्रतियोगितालाई अझ उचाइमा पुर्याउने विश्वास लिएका छौं । उहाँको संलग्नताले खेलाडीहरूमा थप ऊर्जा र प्रेरणा मिल्नेछ। साथै, यस लिगमार्फत कर्पोरेट क्षेत्र र क्रिकेटबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा गरेका छौं।’
कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।



