मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
विराटनगरको डिग्री क्याम्पसमा पहिलोपटक ३ वर्षे एलएलबी सञ्चालन हुँदै – Pradesh Dristhi
देश

विराटनगरको डिग्री क्याम्पसमा पहिलोपटक ३ वर्षे एलएलबी सञ्चालन हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक कानुन विषयको स्नातक तह (३ वर्षे एलएलबी) को अध्यापन सुरु हुने भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको डिग्री क्याम्पस, विराटनगरले आगामी शैक्षिक सत्रदेखि यो कोर्स सञ्चालन गर्न लागेको हो

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष प्रितम साहले आफूहरुको निरन्तरको प्रयास र प्रभावकारी पहलपछि क्याम्पसले त्रिविबाट कानुन सङ्काय सञ्चालनको ऐतिहासिक अनुमति प्राप्त गरेको बताए । योसँगै डिग्री क्याम्पस, विराटनगरमा त्रिवि अन्तर्गत एलएलबीको पढाइ हुने एक मात्र क्याम्पस बनेको छ।

त्रिभुवन विश्वविद्यालय, कानुन संकायको डीनको कार्यालय (बल्खु) ले शैक्षिक सत्र २०८२/०८३ का लागि एलएलबी प्रथम वर्षको प्रवेश परीक्षासम्बन्धी सूचना प्रकाशित गरिसकेको छ। डीन कार्यालयको सूचनाअनुसार डिग्री क्याम्पस, विराटनगरका लागि ३०० सिट क्षमता निर्धारण गरिएको छ। कानुन अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले आगामी चैत ३० गतेदेखि अनलाइन माध्यमबाट प्रवेश परीक्षाको आवेदन फारम भर्न सक्नेछन्

विराटनगरमै कानुन अध्ययनको अवसर जुटाउन विद्यार्थीहरूले लामो समयदेखि विश्वविद्यालय र सरोकारवाला निकायसँग निरन्तर लबिङ गर्दै आएका थिए । आफ्नो प्रयास सफल भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष साहले भने, ‘यो केवल एउटा नयाँ कोर्सको सुरुवात मात्र होइन, विराटनगर र समग्र प्रदेशका विद्यार्थीका लागि अवसरको ठुलो ढोका खुलेको हो। विद्यार्थीको माग र आवश्यकतालाई केन्द्रमा राखेर हामीले गरेको निरन्तरको पहल आज सफल भएको छ।’

कानुन सङ्काय सञ्चालनका लागि क्याम्पसले आवश्यक भौतिक पूर्वाधार र प्राज्ञिक जनशक्तिको सम्पूर्ण व्यवस्थापन गरिसकेको जनाएको छ। क्याम्पस प्रमुख ढकबहादुर मगरले यसलाई समग्र कोशी प्रदेशकै शैक्षिक उपलब्धिको रूपमा व्याख्या गरे। क्याम्पस प्रमुख मगरले भने, ‘विराटनगरमा कानुन शिक्षा सञ्चालन हुनु ज्यादै खुसीको कुरा हो। अब कानुन पढ्नकै लागि धेरै खर्च गरेर काठमाडौँ वा धरान धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। हामी गुणस्तरीय शिक्षा प्रदान गर्न पूर्ण रूपमा तयार छौँ।’

यसैगरी, त्रिवि प्राध्यापक सङ्घ (क्याम्पस एकाइ) का अध्यक्ष राम पोखरेलले नयाँ शैक्षिक कार्यक्रमले अभिभावक र विद्यार्थी दुवैलाई आर्थिक र व्यावहारिक रूपमा सहज बनाएको बताए ।

उनले भने, ‘यति महत्त्वपूर्ण विषय आफ्नै ठाउँमा पढ्न पाउनु ठुलो कुरा हो। क्याम्पस प्रशासन र प्राध्यापकहरू गुणस्तरीय शिक्षणका लागि पूर्ण प्रतिबद्ध छौँ।’

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker