मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
प्रधानमन्त्री बालेन तर्फबाट उद्योग मन्त्रालय दैनिक आउँछन्, मिटिङ गर्छन् सुशान्त वैदिक – Pradesh Dristhi
देश

प्रधानमन्त्री बालेन तर्फबाट उद्योग मन्त्रालय दैनिक आउँछन्, मिटिङ गर्छन् सुशान्त वैदिक

मन्त्रिपरिषदको कार्यविभाजन अनुसार प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

यसअघि रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी उनको भागमा थियो। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहलाई बर्खास्त गरेपछि त्यो मन्त्रालयको जिम्मा पनि उनकै भागमा परेको छ।

आफूले जिम्मेवारी सम्हालेकामध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दैनिक कामकाज हेर्न बालेनले आफ्ना निकट रास्वपा सांसद सुशान्त वैदिकलाई खटाएका छन्।

प्यूठानबाट निर्वाचित वैदिक पछिल्लो एक सातादेखि नियमित रूपमा मन्त्रालय गइरहेका छन्। उनी औपचारिक मन्त्री नभए पनि मन्त्रालयका सचिवदेखि सहसचिवहरूसँग नियमित बैठक गर्ने र मन्त्रालय मातहतका कार्यालय तथा विभागहरूसँग ब्रिफिङ लिने काम उनले गर्दै आएको अधिकारीहरू बताउँछन्।

मन्त्रालय स्रोतका अनुसार कुनै निर्णय गर्नुपर्ने छ भने सरसल्लाह पनि उनैबाट लिइन्छ। दैनिक कामकारबाहीको रिपोर्टिङ र गर्नुपर्ने कामको निर्देशन उनैले दिन्छन्।

दैनिक कामका लागि उनको निम्ति कोठा पनि व्यवस्था गरिएको छ। उनी अहिले वाणिज्य सचिवको कार्यकक्षमा बस्ने गरेका छन्। यो मन्त्रालयमा उद्योग र वाणिज्य गरी दुई जना सचिवको दरबन्दी छ। तर पूर्ववाणिज्य सचिव रामप्रसाद घिमिरेको अवकाशपछि नयाँ सचिव ल्याइएको छैन। अहिले वैदिक दैनिकजसो त्यहीँ गएर बस्ने गरेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत २४ वटा संस्थान तथा प्रतिष्ठान र ८ वटा विभाग तथा कार्यालय छन्। यी सबै निकायका प्रतिनिधिले वैदिकलाई नै रिपोर्टिङ गर्ने स्रोतले बतायो।

‘उहाँ हरेक दिन मन्त्रालय आउनुहुन्छ। आफ्नै कार्यकक्षबाट सचिव, सहसचिव र विभागीय प्रमुखहरूसँग छलफल गर्नुहुन्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले सेतोपाटीसँग भने, ‘मन्त्रालय मातहतका कार्यालय तथा संस्थानहरूले पनि निरन्तर उहाँसँगै छलफल गरिरहेका हुन्छन्।’

तत्काल गर्नुपर्ने कामका विषयमा मन्त्रालयबाट आवश्यक जानकारी लिने र निर्देशन दिने काम पनि वैदिकबाटै भइरहेको मन्त्रालय मातहतका एक विभागीय महानिर्देशकले बताए।

मन्त्रालयका एक सहसचिवका अनुसार प्रधानमन्त्री बालेन शाहले नै आफ्नो जिम्मेवारीमा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कामकाज हेर्ने जिम्मा वैदिकलाई तोकेका हुन्।

‘प्रधानमन्त्रीज्यूले उहाँ (सुशान्त वैदिक) लाई यो मन्त्रालय हेर्न जिम्मेवारी तोक्नुभएको छ। उहाँले प्रधानमन्त्री र मन्त्रालयबीच सहजकर्ताको भूमिका निर्वाह गरिरहनुभएको छ। प्रधानमन्त्रीका तर्फबाट दिनुपर्ने निर्देशन उहाँले दिनुहुन्छ। कुनै औपचारिक निर्णय गर्नुपर्‍यो भने त्यसलाई प्रधानमन्त्रीसम्म उहाँले नै लैजानुहुन्छ। यसले हामीलाई पनि मन्त्रालयको दैनिक काम गर्न सजिलो भएको छ,’ उनले भने, ‘नभए दैनिक कामको रिपोर्टिङ गर्न गाह्रो हुन्थ्यो।’

हामीले यसबारे प्रतिक्रिया लिन सुशान्त वैदिकलाई पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन। हामीले उनलाई ‘तपाईंले नियमित रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बैठक गर्ने र ब्रिफिङ लिने गर्दै आउनुभएको रहेछ, यसबारे प्रतिक्रिया पाऊँ’ भनेर मेसेज पठाउँदा पनि त्यसको जबाफ आएन।

को हुन् सुशान्त वैदिक?

फागुन २१ को निर्वाचनमा प्यूठानमा लामो समयदेखि कायम वामपन्थी प्रभाव तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ३१ वर्षीय वैदिक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले २७ हजार ४६९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका गोविन्दराज पोखरेललाई पराजित गरेका हुन्। पोखरेलले १८ हजार ३३८ मत ल्याएका थिए।

प्यूठान नगरपालिका–१ खैरामा २०५१ जेठ १८ गते जन्मिएका वैदिकको पारिवारिक पृष्ठभूमि पनि राजनीतिसँग जोडिएको छ। उनका बुबा पदमप्रसाद वैदिक न्याय परिषदका सदस्य रहिसकेका व्यक्ति हुन्।

उनको अध्ययन यात्रा तुलसीपुरस्थित राप्ती बोर्डिङ स्कुलबाट सुरू भएको हो। उनले काठमाडौंको पेन्टागन इन्टरनेसनल कलेजबाट व्यवस्थापन संकायमा प्लस–टू पूरा गरेका थिए। उच्च शिक्षाका लागि विदेश गएका उनले नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर अध्ययन गरेका छन्। नेपाल फर्किएपछि उनी नीति तथा अर्थतन्त्रसम्बन्धी क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

लन्डनबाट नेपाल फर्किएपछि उनले लुम्बिनी प्रदेश सरकारमा आर्थिक सल्लाहकारका रूपमा भूमिका निर्वाह गरे। प्रदेश सरकारबाट बाहिरिएपछि उनी ‘काठमाडौं रिसर्च इकोनोमिक्स प्रालि’ स्थापना गरी अनुसन्धान कार्यमा लागेका थिए।

उक्त संस्थामार्फत अर्थशास्त्र तथा राजनीतिशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धान र समन्वयमा सहयोग गर्दै आएको जानकारी उनले केही समयअघि हामीसँगको कुराकानीमा दिएका थिए।

हाल यो संस्थाले बर्दियामा सरकारले तोक्ने धानको न्यूनतम समर्थन मूल्यबारे अध्ययन गरिरहेको छ।

यसबीच सुशान्त ‘जेनजी मुभमेन्ट’ मा पनि सक्रिय भए। भदौ २३ र २४ मा भएको उक्त आन्दोलनले मुलुकको राजनीतिमा ठूलो हलचल ल्यायो।

जेनजी आन्दोलनकै क्रममा सुशान्तले काठमाडौंका तत्कालीन मेयर बालेन शाहसँग भेट्ने अवसर पाएका थिए। पछि शाहसँगै सुशान्त पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए। उनले जेनजी आन्दोलनका मागहरूलाई रास्वपाले आत्मसात गरेको विश्वासका आधारमा आफू पार्टीको केन्द्रीय सदस्य बनेको बताए।

‘अरू दलले जेनजी आन्दोलनका कुराहरू आत्मसात् गरेनन्, तर रास्वपाले गरेको हो,’ उनले निर्वाचित भएपछि सेतोपाटीसँगको कुराकानीमा भनेका थिए, ‘भविष्यमा पनि उसले जेनजी मुभमेन्टका कुराहरू यसैगरी आत्मसात् गर्छ भन्ने विश्वासका साथ म रास्वपाको केन्द्रीय सदस्य बनेको हुँ।’

बालेन शाहसँगको चिनजानकै कारण आफूले रास्वपाबाट प्यूठानको टिकट पाएको सुशान्तले बताएका थिए।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker