मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बिटुमिन अभाव : अन्तिम चरणमा पुगेर रोकियो नागढुङ्गा–नौबिसे सडकको कालोपत्र – Pradesh Dristhi
देश

बिटुमिन अभाव : अन्तिम चरणमा पुगेर रोकियो नागढुङ्गा–नौबिसे सडकको कालोपत्र

काठमाडौँ । सडक कालोपत्र गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधीन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ

निर्माणको मुख्य सिजनमा मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएकाले काम रोक्नुपरेको निर्माण कम्पनी ज्याङ्सु सगुन जेभीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिएका हुन् । आपूर्तिकर्ताहरूले अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएको भन्दै अर्डर रद्द गरिरहेको घिमिरेले बताए।

निर्माणको अन्तिम चरणमा रहेको नागढुङ्गा–नौबिसे खण्डको ६ किलोमिटर सडकमा अन्तिम कालोपत्र सम्पन्न भइसकेको छ। बाँकी ६ किलोमिटर सडक तेस्रो तहको अन्तिम कालोपत्र गर्ने क्रममा रोकिएको घिमिरेले बताए।

कुल १२.२ किलोमिटर रहेको नागढुङ्गा–नौबिसे सडकको बाँकी ६ किलोमिटर खण्डमा कालोपत्र गर्न करिब ५ सय ३० टन बिटुमिन आवश्यक पर्ने उनले बताए। तत्काल आवश्यक बिटुमिन उपलब्ध भए १० दिनभित्र नागढुङ्गा–नौबिसे सडकखण्डको अन्तिम कालोपत्र सम्पन्न हुने उनको भनाइ छ

निर्माण व्यवसायीहरूले बिटुमिन अभावका कारण कालोपत्रको काम अघि बढाउन नसकिने जानकारी सरकारी पक्षलाई गराइसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाले बताए। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लगाएको कोटा प्रणालीका कारण आयोजनामा प्रयोग हुने यन्त्र उपकरण सञ्चालन गर्न पम्पहरूबाट पर्याप्त डिजेल र पेट्रोलसमेत उपलब्ध हुन नसकेको ओझाले बताए।

नागढुङ्गा–नौबिसे सडकखण्डको हालसम्मको भौतिक प्रगति ८८ र वित्तीय प्रगति ८२ प्रतिशत रहेको छ। बजारमा देखिएको पेट्रोलियम पदार्थ अभावको प्रत्यक्ष असर आयोजनामा परेको छ।

त्रिभुवन राजपथ क्षेत्रमा पर्ने यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker