मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पर्यटन बोर्डका सीईओ भन्छन्, ‘दुई दिने बिदा आन्तरिक पर्यटनका लागि ‘टर्निङ प्वाइन्ट’ – Pradesh Dristhi
देश

पर्यटन बोर्डका सीईओ भन्छन्, ‘दुई दिने बिदा आन्तरिक पर्यटनका लागि ‘टर्निङ प्वाइन्ट’

काठमाडौँ ।  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदालाई लक्षित गर्दै आकर्षक प्याकेज ल्याउन पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। दुई दिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने दाबी गर्दै उनले यसको भरपुर फाइदा उठाउन व्यवसायीलाई सुझाएका हुन्।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जोशीले विगतदेखि नै पर्यटन प्रवर्द्धनका लागि दुई दिन बिदा दिन प्रस्ताव गरिए पनि बल्ल लागू भएको बताए। हालको यो निर्णयले पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।

नेपालको पर्यटन पूर्वाधार र हस्पिटालिटी उद्योगमा ठूलो लगानी भइसकेको अवस्थामा यो अतिरिक्त बिदाले प्रत्यक्ष राहत दिने उनले स्पष्ट पारे। आन्तरिक पर्यटक नयाँ गन्तव्यतर्फ आकर्षित हुँदा त्यहाँ नयाँ लगानीको सम्भावना पनि बढ्ने र त्यसले दीर्घकालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन बलियो आधार तयार गर्ने जोशीले बताए।

सातामा दुई दिन बिदा पाउँदा कर्मचारी तथा बौद्धिक वर्गले घुमफिरका साथै आफ्ना अनुभव र आइडिया अरूसँग साझा गर्ने पर्याप्त समय पाउने जोशीको बुझाइ छ। यसले समग्र आर्थिक गतिविधिलाई नै चलायमान बनाउन सहयोग पुग्ने उनले बताए।

यसअघि परिवारलाई समय दिन नपाउने र घरायसी कामसमेत गर्न नभ्याउँदा कर्मचारीको कार्यक्षमतामा असर पर्ने गरेको भन्दै उनले अब कार्यालय समय व्यवस्थापनमा आएको परिवर्तनले कर्मचारीको सोच र कार्यशैलीमा समेत सकारात्मक परिवर्तन ल्याउने दाबी गरे।

नेपालीहरू सामान्यतया नयाँ वर्ष, बालबालिकाको बिदा र चाडपर्वका बेला मात्रै घुम्ने गरेकोमा अब प्रत्येक साताको बिदा घुमफिरका लागि अर्को राम्रो अवसर बनेको जोशीले बताए। व्यवसायीले सरकारी बिदालाई केन्द्रमा राखेर प्याकेज ल्याएमा नेपाल पर्यटन बोर्डले त्यसको प्रवर्द्धन गरिदिने उनले प्रतिबद्धता जनाए।

यद्यपि, पर्यटकको सङ्ख्या बढ्दै गर्दा सेवाको गुणस्तर भने खस्कन नहुनेमा उनले जोड दिए। पर्यटन सेवामुखी व्यवसाय भएकाले आतिथ्यता र सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै जोशीले यससम्बन्धी जनचेतनामूलक भिडियोहरू बोर्डले निर्माण गरिरहेको जानकारी दिए।

धेरैजसो गन्तव्यमा नेपाली पर्यटकलाई राम्रो व्यवहार नहुने गरेको गुनासो आउने गरेको सन्दर्भ कोट्याउँदै उनले सेवा प्रवाहमा समानता र सुधार ल्याउनुपर्ने बताए। साथै, ट्रेकिङ वा घुमफिरमा जाँदा पर्यटक आफैँले चकलेट र बिस्कुटका खोल फ्याँक्ने गर्दा वातावरण प्रदूषण बढेको भन्दै यसलाई रोक्न बोर्डले जनचेतना फैलाउने अभियान चलाउने उनले बताए।

यसैबीच, नेपालमा निर्णय हुने तर कार्यान्वयन नहुने परिपाटी रहेकोमा यसपटक सरकारले मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित गरी लागू गरेको भन्दै जोशीले त्यसको प्रशंसा गरे। यो द्रुत प्रक्रिया अन्य निकायका लागि पनि छिटो र प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्न उदाहरणीय रहेको उनको भनाइ छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker