मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आशा विपरीत घट्यो सेयर बजार, अब के गर्ने? – Pradesh Dristhi
देश

आशा विपरीत घट्यो सेयर बजार, अब के गर्ने?

केही दिनअघिसम्म सेयर बजारलाई सबै कुराले साथ दिइरहेको थियो। नयाँ सरकार बन्दै थियो। यही आशमा सेयर बजारमा सुधार देखिँदै गएको थियो।

एकल दलको बलियो सरकार बन्ने भएपछि सेयर बजारले यसअघिको ३२०० विन्दुको उचाइ भेट्ने मात्र नभई नयाँ उचाइ नै बनाउने आशमा थिए लगानीकर्ताहरू।

तर सरकारले कार्यभार सम्हालेको भोलिपल्टैबाट बजार घट्न थाल्यो। राजनीतिक व्यक्तिहरू पक्राउको घटना व्यवसायी पक्राउसम्म पुगेपछि बजार थप घट्दै गयो।

नवगठित सरकारले सत्ता सम्हालेयता मात्रै बजार २७४ अंकले घटेको छ। यो अवधिमा लगानीकर्ताको सम्पत्ति चार खर्ब ५८ अर्ब रूपैयाँले घटिसकेको छ।

धेरै सेयर विश्लेषकहरूले बजारले नयाँ उचाइ भेट्ने दाबी गरिरहेकै थिए। बजारका प्राविधिक विश्लेषकका औजारहरूले पनि सकारात्मक संकेत देखाइरहेका थिए।

तर संकेत विपरीत बजार ओर्लियो।

किन?

प्राविधिक विश्लेषकका औजारहरूले मापन गर्ने भनेकै सेयर लगानीकर्ताहरूको मनोविज्ञानको अवस्था हो।

लगानीकर्ताले बजारका कुन कुन विन्दुमा कसरी प्रतिक्रिया जनाइरहेका थिए भन्ने आधारमै प्रवृत्ति, टेवा वा प्रतिरोध विन्दु बनिरहेका हुन्छन्। बजारको पुरानो गतिकै आधारमा अब बजार कसरी अगाडि बढ्छ भन्ने आकलन यी विश्लेषणले गर्छन्।

तर बजारमा ठूला उतारचढाव आएको समयमा प्राविधिक विश्लेषणले अपेक्षित रूपमा काम नगर्न पनि सक्छ। किनभने यस्तो अवस्थामा बजार अत्यधिक अस्थिर बनिरहेको हुन्छ।

यो समयमा अचानक आउने बाहिरी समाचार, खबर वा अन्य नीतिगत परिवर्तनले बजारका संकेतहरू ‘गलत’ बन्न सक्ने अवस्था हुन्छ।

अहिले बजारमा भएको पनि त्यही हो।

सेयर बजारका ठूला लगानीकर्ता समेत भनेर चिनिने व्यवसायीहरू पक्राउको घटनाले पनि बजारमा प्रभाव पारेको हो।

आइतबार मात्रै यसरी पक्राउ परेकामध्ये व्यवसायी शंकर अग्रवाल रिहा भएका छन्। प्रहरी हिरासतमा रहेका उनका छोरा सुलभ अग्रवाललाई अनुसन्धानको लागि म्याद थप गरिएको छ।

यो घटनाक्रम कसरी अगाडि बढ्छ, त्यसैले बजारको आगामी गति निर्धारण गर्नेछ।

बजार ‘धमिलो’ भएको समयमा अनावश्यक हल्ला पनि चलिरहेका एक ब्रोकरले बताए।

‘आइतबार नै यी व्यवसायीसँग जोडिएको एक कम्पनी समस्याग्रस्त हुन लागेको हल्ला समेत चल्यो,’ एक ब्रोकरले भने, ‘सो कम्पनीको सेयर केही वर्षअघिकै न्यून विन्दुमा आयो।’

तर त्यस्तो कुनै निर्णय सार्वजनिक भएको छैन।

त्यसैले यस्तो अनिश्चितताको समयमा बजारको चाल अव्यवस्थित हुने भएकाले प्राविधिक विश्लेषणहरूमा मात्रै भर पर्नु गलत हुन सक्छ।

कम्पनीहरूको आधारभूत पक्षलाई ध्यान दिने हो भने आधारभूत पक्ष सबल भएका कम्पनीहरूको मूल्य तुलनात्मक रूपमा छिटो फर्किन्छ।

भीडको आधारमा मात्र निर्णय गरेर सेयर बेच्नु वा किन्नु हुँदैन।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker