मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कार्य संयोजन समिति गठनप्रति नेकपामा चुलियो असन्तुष्टि, तत्काल महाधिवेशन गर्न माग – Pradesh Dristhi
देश

कार्य संयोजन समिति गठनप्रति नेकपामा चुलियो असन्तुष्टि, तत्काल महाधिवेशन गर्न माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ४५ जनाको केन्द्रीय कार्य संयोजन समिति गठन गरेकोप्रति युवा नेताहरू असन्तुष्ट बनेका छन् । साविक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न २५ घटक मिलेर नेकपा गठन भएको थियो ।

निर्वाचनमा कम्तीमा ६० सिटसहित प्रतिनिधिसभामा निर्णायक शक्ति बन्ने आन्तरिक मूल्याङ्कनविपरीत चुनावी परिणाम आएपछि संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत १९ गते पहिलो पटक केन्द्रीय कार्य संयोजन समितिको बैठक बोलाएका थिए । बैठकमा प्रचण्डले चुनावी हारको प्रारम्भिक समीक्षा रिपोर्ट प्रस्तुत गरेका थिए ।

त्यही दिन नेता प्रेमबहादुर सिंहले केन्द्रीय कार्य संयोजन समिति सार्वजनिक गरे । समितिमा रहेका अधिकांश व्यक्तिहरू विभिन्न घटकका पदाधिकारी रहेका छन् ।

नेकपाका युवा नेताहरूले सल्लाहकार समितिमा बस्नुपर्ने नेताहरू नै कार्यकारी समितिमा सक्रिय हुनु विडम्बना भएको बताएका छन् । जेनजी आन्दोलन र चुनावी परिणामबाट पार्टीलाई ठूलो धक्का लाग्दासमेत नेतृत्वको चेत नखुलेकोमा अनेरास्ववियु (क्रान्तिकारी)का पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य रञ्जित तामाङले असन्तुष्टि पोखे ।

तामाङले तत्काल केन्द्रीय समिति बैठक बोलाएर मौजुदा समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्न माग गरे । ‘निर्वाचनबाट नसुध्रिने, उही पुस्ता र उही पात्र दोहोरिनुको कुनै अर्थ छैन । यसले नेपाली समाजलाई भरोसा दिन सक्दैन । यस्ता गतिविधिले कम्युनिस्ट पार्टी रूपान्तरण हुन सक्दैन’, रातोपाटीसँग उनले भने, ‘तत्काल मौजुदा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएर जानुको विकल्प छैन । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कार्ययोजनासहित महाधिवेशनमा जानुपर्छ । विभिन्न समिति बनाएर जानु भनेको आफ्नै कार्यकालमा पार्टी विघटन गर्नु हो ।’

अनेरास्ववियु (क्रान्तिकारी)की पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य पञ्चा सिंहले पार्टीले सार्वजनिक गरेको ४५ सदस्यीय कार्य संयोजन समिति बनाएकोमा असन्तुष्टि पोखिन् । यो समिति पार्टीको विधान र समावेशी सहभागिताको मर्मविपरीत भएको सिंहले आरोप लगाइन् ।

‘पार्टीले हालै सार्वजनिक गरेको ४५ सदस्यीय कार्य संयोजन समितिले पार्टीको आफ्नै विधान र समावेशी सहभागिताको मर्मलाई उपहास गरेको छ । समावेशिताका सन्दर्भमा नेकपाको यो अभ्यास अनुदारवादी शक्तिहरूभन्दा पनि कमजोर देखिनु विडम्बनापूर्ण छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

सिंहले यदि तल्लो तहका समितिहरूमा पनि विधानको धज्जी उडाउने र समावेशी सिद्धान्तलाई तिलाञ्जलि दिने यही शैली कायम रहे यी समितिहरू पार्टी एकताका आधार होइन, विघटनका साक्षी मात्र बन्नेतर्फ सजग गराएकी छिन् ।

अखिल (क्रान्तिकारी)को केन्द्रीय सचिव प्रेम जैसीले निर्वाचनमा पार्टी पराजय हुनुमा युवाहरूको सहभागिता नहुनु भनी संयोजक प्रचण्डले पेस गरेको प्रतिवेदनलाई लिएर आपत्ति जनाएका छन् । जैसीले अखिल (क्रान्तिकारी)का युवाहरूले नै भोट हालेर पार्टीले श्रेष्ठता हासिल गरेको जिकिर गरे ।

‘कमरेड प्रचण्डको चुनावी समीक्षा प्रतिवेदनमा विद्यार्थी र युवा सङ्गठनले नयाँ पुस्ता सङ्गठित गर्न नसकेको प्रतिवेदन आएछ । स्ववियुमा अखिल (क्रान्तिकारी)ले अनेरास्ववियु र नेविसङ्घको गठबन्धन तथा ओली सत्ता र शक्तिविरुद्ध एकल श्रेष्ठता तपाईंका पार्टी नेताहरूले भोट हालेर हासिल गरेका होइनन्, नयाँ पुस्ताले नै अखिल (क्रान्तिकारी)लाई भोट हालेर श्रेष्ठ बनाएको हो’, उनले भने ।

पार्टीलाई नयाँ पुस्ताले भोट हाल्ने परिस्थिति किन बनेन ? पार्टीलाई नयाँ पुस्ताले भरोसा गर्न किन छाड्यो ? भन्ने कारण खोज्न उनले नेतृत्वलाई सुझाव दिएका छन् । विद्यार्थी सङ्गठनलाई आरोपित गरेर ल्याएको प्रतिवेदन फिर्ता गर्न माग गर्दै जैसीले अन्यथा सडकबाटै खारेज गर्ने चेतावनी दिएका छन् ।

प्रचण्डले प्रस्तुत गरेको १० पृष्ठको प्रतिवेदनमा युवाहरू पार्टीमा आबद्ध नभएका कारण पार्टीबाट टाढा भएको र निर्वाचनमा आफूहरूविरुद्ध प्रयोग भएको उल्लेख गरेका थिए ।

प्रतिवेदनमाथि भोलि सोमबारदेखि निरन्तर छलफल हुने नेता रामकुमार भट्टराईले जानकारी दिएका छन् । महाधिवेशनको तयारी, कार्यविभाजन, पालिकास्तरको अधिवेशनलगायतका विषयमा निर्णय हुने भट्टराईले बताए ।

‘हामीले चुनावी परिणामको प्रारम्भिक समीक्षा गरेका छौँ । अध्ययनका लागि सदस्यहरूलाई प्रतिवेदन वितरण गरिएको छ । भोलिदेखि लगातार समीक्षा हुन्छ । बैठकले सबैलाई समेट्ने गरी निष्कर्ष निकाल्छ’, उनले भने ।

यद्यपि विधानबमोजिम केन्द्रीय कार्यसमिति र सचिवालय गठन नभएको उनले जिकिर गरे । नेकपाको अन्तरिम विधानअनुसार ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था गरिएको छ ।

पार्टी एकताको भावनाअनुसार सहमतिका आधारमा केन्द्रीय समिति, केन्द्रीय कार्य संयोजन समिति र सचिवालय गठन हुने विधानमा भनिएको छ । निर्वाचनअघि नै दुई हजार ४९९ सदस्यीय जम्बो केन्द्रीय समितिका सदस्यहरूले शपथग्रहण गरिसकेका छन् ।

१२५ जनाको केन्द्रीय सचिवालय गठन हुन बाँकी रहेको भट्टराईले जानकारी दिए । केन्द्रीय कार्य संयोजन समितिमा २१ जना साविक माओवादीबाट रहेका छन् । १६ जना एकीकृत समाजवादी र बाँकी अन्य घटकबाट आएका छन् । समितिमा जम्मा चारजना मात्र महिला सदस्य रहेका छन् ।

को–को छन् केन्द्रीय कार्य संयोजन समिति सदस्यहरू ?

list

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker