जम्बी फिल्म ‘प्रलय’मा देखिँदैछन् रणवीर सिंह

‘धुरन्धर’पछि, रणवीर सिंह ‘प्रलय’मा देखिने भएका छन् । निर्माता हंसल मेहताले हालै आफ्नो जम्बी फिल्मबारे कुरा गरेका थिए । फिल्मलाई जय मेहताले निर्देशन गर्नेछन् । जय हंसल मेहताका छोरा हुन् । उनले आफ्नो बुबासँग मिलेर ‘स्क्याम १९९२ ’को सह–निर्देशन गरेका थिए । फिल्म हंसल मेहताको ब्यानरमा निर्माण हुनेछ । रणवीर सिंहको निर्माण कम्पनी पनि सहनिर्माता हुनेछ । फिल्मको बजेट लगभग ३०० करोड भारु रहेको बताइएको छ ।
कस्तो हुनेछ ‘प्रलय’को कथा ?
हलिउड रिपोर्टर इन्डियाको एक रिपोर्ट अनुसार, फिल्म ‘प्रलय’ जम्बी आतंकले भरिएको पोस्ट एपोक्यालिप्टिक विश्वको कहानी बताउने फिल्म हुनेछ । यसको कथा जय मेहता र विशाल कपूरले मिलेर लेखेका छन् । फिल्मको केही कहानी ‘ब्लाइन्डनेस’सँग मिल्दो भन्ने सुन्नमा आएको भएपनि ब्लाइन्डनेस जस्तो पुस्तकलाई फिल्ममा राम्रोसँग रूपान्तरण गर्न नसकिने हंसल मेहताले भनेका छन् ।
रणवीर सिंहको अतिरिक्त फिल्ममा कल्याणी प्रियदर्शन मुख्य अभिनेत्रीको रूपमा देखिनेछिन् । कल्याणी प्रियदर्शन प्रसिद्ध बलिउड निर्देशक प्रियदर्शनकी छोरी हुन् ।े हालैको उनका फिल्म ‘लोका’ निकै हिट भएको थियो । फिल्मको छायांकन २०२६ को मध्यमा सुरु हुने अपेक्षा गरिएको छ । फिल्ममा अन्तर्राष्ट्रिय टोलीले पनि काम गर्ने बताइएको छ ।



