चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर : उघार्दै दूर–दराजमा सम्भावनाका ढोका

तलतिर अविरल बगिरहेको कालीगण्डकी, त्यही कालीको छेउ हुँदै चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर । हिमाल, पहाड र तराईलाई एकैसाथ जोडेको कोरिडोरले दुर्गम क्षेत्रका लागि सम्भावनाका ढोका खोलेको छ । यो कोरिडोर किसानका लागि बजार, व्यापारीका लागि ग्राहकसहित कैयौँ सम्भावनाको ढोका उघार्ने माध्यम बनेर आयो ।
पूर्व नवलपरासीको गैंडाकोटदेखि मुस्ताङको कोराला नाकासम्म जोडिएको कोरिडोरले बागलुङ, मुस्ताङ, म्याग्दी, पर्वत, पाल्पा र पूर्वी नवलपरासी जिल्लालाई जोडेको छ । विगतमा विकट मानिएको दक्षिण बागलुङलाई कोरिडोरले देशका ठुला सहरसहित भारत र चीनसँग मात्रै जोडेको छैन, सम्भावनाका कैयौँ ढोका खोलेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कोरिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिकामात्र होइन थुप्रै आयामले जोडेको छ ।
त्रिदेशीय सडकका रूपमा रहेको कोरिडोर निर्माणको काम झन्डै १४ वर्ष अगाडि सुरु भएको थियो । कोरिडोर विस्तारपछि पछिल्लो समय सडक छेउछाउमा बस्ती बस्न थालेका छन् । ग्रामीण क्षेत्रबाट झरेर कोरिडोरको आसपासमा व्यापार व्यवसाय गर्ने पनि बढ्दै गएका छन् । करिब ४३५ किलोमिटर लामो कोरिडोर बागलुङ खण्डमा मात्रै ३४ किलोमिटर पर्छ ।
- छेडक छेउमा बस्ती विस्तार हुँदै
कोरिडोरले बागलुङको जैमिनी नगरपालिका क्षेत्रमा ठुलो परिवर्तन ल्याएको छ । बेलबगर, जैमिनी धाम, छरिलौवा, न्वाराढिक, धुस, सुस्सा फाँटमा लगायतका बस्ती बस्न थालेको छ । कोरिडोर स्तरोन्नतिसँगै अधिकांश खण्ड कालोपत्र भइसकेको छ, जसका कारण सवारी साधनको चाप बढ्न थालेको छ ।
जैमिनी नगरपालिका–७ जैदीकी चन्द्रकला चालिसेले कोरिडोर यस क्षेत्रका लागि वरदान साबित हुँदै गएको बताइन् । पहिले कोरिडोर छेउमा फाट्टफुट्ट घर बने पनि अहिले गाउँबाट सडक छेउछाउमा झर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ ।
‘सडकले हाम्रो क्षेत्रमा ठुलो परिवर्तन ल्यायो । यसरी परिवर्तन आउला भन्ने त हामीहरूले सोचेकै थिएनौँ । अबको केही वर्षमा सडकमा छेउछाउ घर–भवनले भरिने छन्,’ उनले भनिन्, ‘गाउँ रित्तिन थाले । सडक वरपर घर बन्ने क्रम बढ्यो ।’
कोरिडोरले विकट क्षेत्रलाई सुगममा परिणत गर्दै गएको चालिसेले बताइन् । पहिले बागलुङ बजारमा पुग्न एक दिन लाग्ने गरेको सुनाउँदै उनले अहिले छोटो समयमै पुग्न सकिने बताइन् ।
उनले भनिन्, ‘आजभन्दा आठ÷दश वर्ष अगाडि यो क्षेत्र निकै पछाडि परेको थियो । जिल्ला सदरमुकाम बागलुङ बजार जानका लागि पर्वतको फलेवास पुगेर गाडी चढ्नु पर्थ्यो । अहिले उठेर घर अगाडि आएपछि गाडी पाइहाल्छ । चढेपछि ४०÷४५ मिनेटमा बजार पुगिन्छ ।’
- नागरिकको जीवनशैली बदलिँदै
कोरिडोर कालोपत्र भएपछि ग्रामीण क्षेत्रका नागरिकलाई बुटवल, भैरहवा लगायत देशका ठुला सहरसम्म पुग्न सहज भएको छ । कोरिडोरमा यातायात सञ्चालन हुन थालेपछि दैनिक जीवनमा परिवर्तन आउन थालेको जैमिनी नगरपालिका–१ का कासिराम पौडेलले बताए ।
कुनै समय नुन, तेल र लत्ता कपडा लिन बुटवल पुगेर फर्किंदा १५ दिन बित्ने गरेको अनुभव सुनाएका उनले अहिले बिहान गएर साँझ फर्किन सक्ने भएको प्रस्ट पारे ।
पौडेलले भने, ‘हाम्रो पालामा नुन बोक्न बटौली (बुटवल) जानु पर्थ्यो । अहिलेको जस्तो चिल्ला सडक थिएनन् । मोटर गाडी गुड्दैनथे । हामी पैदल हिँडेर बटौली पुग्थ्यौँ । बटौलीबाट नुन लिएर घर आउँदा १५ दिन बितेको हुन्थ्यो । अहिले त बिहान गयो भने साँझ सबै काम सकेर आइन्छ । बाटो धेरै राम्रो बनाएको छ ।’
पौडेलले आफूहरूले जीवनको उत्तरार्द्धमा मात्र विकास अनुभूत गर्न पाएको बताए । यद्यपि यो विकासले सन्ततिका लागि सहज हुने उनको भनाइ छ । अचेल घरै अगाडि गाडी आउने हुँदा देश विदेशका सबैथोक सामान आइपुग्ने उनी बताउँछन् । पछिल्लो एक दशकमा कोरिडोरले यस क्षेत्रमा ठुलो परिवर्तन ल्याएको उनले प्रस्ट पारे ।
- बसाइँसराइ रोकिने आशा
जैमिनी नगरपालिका बागलुङमै सबैभन्दा बढी बसाइँसराइ हुने पालिका हो । माथिल्लो क्षेत्रका गाउँबस्ती पछिल्लो समय रित्तिने क्रममा छन् । कोरिडोरका कारण आसपासका स्थानीय भने आफ्नै ठाउँमा बस्ने सोचमा छन् । जैमिनी नगरपालिका–७ का विकास चालिसेले पाँच वर्ष अगाडिसम्म गाउँबाट धेरै स्थानीय बसाइँसराइ गरेर पोखरा, चितवन, भैरहवा, गैंडाकोट लगायतका स्थानमा पुगेको बताए ।
पछिल्लो समय कालीगण्कडी कोरिडोर कालोपत्र भएपछि सडक आसपासका धेरै बसाइँसराइ गर्नबाट रोकिएको उनी सुनाउँछन् । आफ्नो परिवार पनि पहिले बसाइँसराइ गर्ने योजना रहेको भन्दै कोरिडोर व्यवस्थित हुँदै गएपछि रोकिएको उनले बताए । अब धेरै स्थानीयले गाउँमै बस्ने सोच बनाएको उनको भनाइ छ ।
चालिसेले भने, ‘पहिला त हामी निकै समस्यामा थियौँ । बुटवल जानका लागि पोखरा पुग्नु पर्थ्यो । पोखरा पुग्न यहाँबाट एक दिनजस्तो लाग्थ्यो । अहिले कोरिडोर हुँदै दैनिक दर्जनौँ गाडी बुटवलबाट आउँछन् । त्यसले गर्दा गाउँमै केही व्यवसाय गर्ने, गाउँमै बस्ने सोच बनाएका छौँ ।’
- बजारीकरणका लागि सहजता
कोरिडोरले व्यावसायिक तरकारी खेती र दुग्ध उत्पादन गर्दै आएका किसानलाई सिधा बजारसँग जोडेको छ । दुई वर्ष अगाडिसम्म उत्पादित वस्तुलाई डोकोमा बोकेर बजार पठाउने गरेका किसान हिजोआज गाडीमा पठाउन थालेका छन् ।
स्थानीय प्रेम थापाले कोरिडोरले गाउँको उत्पादन बुटवल, भैरहवा र पोखरा पठाउन सहज बनाएको बताए । कोरिडोर व्यवस्थित भएपछि धेरै किसान उत्साहित भएको भन्दै उनले अब राज्यले उचित मूल्य दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।
‘कालीगण्डकी कोरिडोरले त हाम्रो गाउँ ठाउँलाई सुगम बनायो । दिनानुदिन गाडी ओहोरदोहोर गर्छन् । यात्रुले यहाँ उत्पादन भएका सामान किनेर लैजान्छन् । पहिले बुटवल, भैरहवा पुग्न एक दिन लाग्थ्यो भने अहिले चार÷पाँच घण्टामै पुग्न सकिन्छ’ उनले भने, ‘बुढापाकाहरू अहिलेको यो विकास देखेर दङ्ग पर्छन् ।’
- लुम्बिनी–मुक्तिनाथ जोड्ने धार्मिक मार्ग
हरेक वर्ष हजारौँको संख्यामा भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथ पुग्छन् । त्यसरी नै चिनियाँ पर्यटक लुम्बिनी जान्छन् । लुम्बिनी र मुक्तिनाथलाई सिधा र छोटो दूरीमा जोड्ने प्रमुख मार्ग कालीगण्डकी कोरिडोर हो । त्यतिमात्रै नभएर मानसरोवर पुग्ने पर्यटकका लागि पनि कोरिडोर उपयुक्त मार्ग हो ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कालीगण्डकी कोरिडोर धार्मिक मार्गका रूपमा विकास हुन थालेको बताए । कोरिडोरले सिधा भारत र चीनलाई जोडेका हुँदा हिन्दु र बौद्ध धर्मवालम्बीहरूका लागि महत्त्वपूर्ण मार्ग बन्ने उनको भनाइ छ ।
उपप्रमुख शर्माले भने, ‘कोरिडोर धार्मिक पर्यटनसँग जोडिएको हुँदा यहाँ थुप्रै सम्भावना जागृत भएका छन्, हाम्रो क्षेत्रमै जैमिनी धाम छ । यसको महत्त्व पनि निकै छ । मुक्तिनाथ र लुम्बिनी जाने पर्यटक अब बागलुङ हुँदै आवतजावत गर्ने छन् । यो मार्गको महत्त्व पनि छुट्टै हुने भयो ।’
उनले कालीगण्डकीमा स्नान गर्दा पुण्य कमाउने विश्वास लाखौँ हिन्दु धर्मावलम्बीमा रहेको भन्दै कोरिडोरमा यात्रा गर्ने तीर्थयात्रीले जहाँ पनि गाडी रोकेर स्नान गर्न सक्ने बताए । अब स्थानीय सरकारले पर्यटकीय तथा धार्मिक स्थलको प्रचारप्रसार गर्ने र बाह्य पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।
दक्षिण बागलुङलाई समृद्धिसँग जोड्न कालीगण्डकी कोरिडोरले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए । अब बागलुङका हरेक नागरिक व्यापार र व्यवसायसँग जोडिएर कोरिडोरबाट ठुलो लाभ लिन सक्ने उनको भनाइ छ ।
कोरिडोरले जैमिनी नगरपालिकामा १९.५ किलोमिटर र बागलुङ नगरपालिकामा १४.५ क्षेत्र जोडेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्ट्याइदिएको छ ।



