मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
संसद्को पहिलो बैठक : बोलक्कड महावीर र मौन बालेन ! – Pradesh Dristhi
देश

संसद्को पहिलो बैठक : बोलक्कड महावीर र मौन बालेन !

कल्पना गर्नुस् त, चुनावपछिको पहिलो संसद् बैठक ! रास्वपाका धेरै सांसदहरू कक्षाको पहिलो विद्यार्थी झैँ फुरफुर हुँदै अगाडिको बेञ्च ओगटेर बसेका । कोही मोबाइल निकालेर सेल्फी खिच्दै, कोही छेउको साथीलाई जिस्काउँदै, कोही कुर्सी घुमाउँदै ।

हर्क साम्पाङ र उनका सांसदहरू उत्साहका साथ अघिल्तिर हेरिरहेका । अनि कांग्रेस, एमाले, नेकपा र राप्रपाका सांसदहरू चुपचाप पछिल्तिर बेञ्चमा बसेका ।

संसद्को सबैभन्दा जेठो सदस्यको हैसियतले महावीर पुनले बैठक सञ्चालन गर्न थाले ।

महावीर पुन : भाग्य त मैले पो लिएर आएको रैछु । मन्त्रीबाट सांसद भएँ, सांसदबाट फेरि सभामुख । ल है माननीयज्यूहरू बस्न मन लाग्ने बस्नुस्, उठ्न मन लाग्ने उठ्नुस् । तर हल्ला चाहिँ नगर्नुस् है । यो संसद् हो, मेलापात होइन ।

अगाडिको बेञ्चमा बसेका केही सांसद हाँस्न थाले ।

एक सांसद : सभामुखज्यू, सेल्फी खिच्न पाइन्छ कि नाइँ ?

महावीर पुन : मलाई सभामुखज्यू भनिरहनु पर्दैन । ए सभामुख मात्रै भने नि हुन्छ । अँ सेल्फी ? संसदमा ? खिच्नुस् खिच्नुस्न् । अलि छिटो, पालैपालो गर्नुस् । तर सेल्फीमा फिल्टर चाहिँ नलगाउनुस् । देशको अवस्था जस्तो छ, त्यस्तै देखिनुपर्छ ।

अघिल्लो बेञ्चमा चुपचाप बसिरहेका बालेन शाहले हातको इशाराले सबैलाई बस्न भने ।

अगाडिका सांसदहरू अलमल परे ।

एक सांसद : उहाँले के भन्नुभयो ? बस्न भन्नुभयो कि नाच्न ?

अर्को सांसद : मलाई त डान्स गर्ने इशारा जस्तो लाग्यो ।

तेस्रो : हैन होला, संसदमा डान्स कसरी ?

त्यत्तिकैमा रवि लामिछाने उठे ।

रवि : उहाँले बस्न भन्नुभएको हो ।

त्यसपछि सबै चुपचाप बसे ।

एक सांसद : सभामुखज्यू, हाम्रो संसद् बैठकले के गर्छ त ?

महावीर पुन : म भगवान् हो र अहिले नै यो यो गर्छ भन्नलाई । केही न केही होला त । ल आज चाहिँ पहिलो बैठक भएकाले गर्नुपर्ने कुरा केही छैन । साह्रै बोर भयो । यहाँ गाउने, नाच्ने पनि हुनुहुन्छ क्यारे । म त चिन्दिनँ । लौ, एकछिन गीत गाउनुस् न ।

अगाडिको बेञ्चमा हल्ला मच्चियो ।

एक सांसद : कुन गीत गाउने ? चुनावी गीत कि प्रेम गीत ?

अर्को सांसद : जनता तिमी महान् भन्ने गाऊँ कि ?

तेस्रो सांसद : हैन, हामी जित्यौँ भन्ने गाऊँ ।

पछाडिबाट कांग्रेस र एमालेका सांसद बिस्तारै बोले : हामीलाई त ‘हामी हार्‍याैँ’ भन्ने गीत गाउन मन लाग्यो ।

सबै हाँस्न थाले ।

केही समयपछि महावीर पुन फेरि बोले : सधैँ सभामुख भइरहन पाइने हैन होला । अहिलेलाई पो सबैभन्दा बुढो भनेर जिम्मेवारी दिए । अब जोसुकैले जेसुकै भनून्, मलाई संसद्को यतै कतै कुनामा खान र सुत्ने व्यवस्था मिलाउनुपर्‍याे ।

त्यत्तिकैमा आशिका तामाङ उठिन् : सुत्न त सुत्नु क्या बाजे । तर जथाभाबी फोहोर गर्न चाहिँ पाइँदैन नि । संसद् पनि सफा हुनुपर्छ ।

सबैले टाउको हल्लाए ।

त्यत्तिकैमा हर्क साम्पाङ उठे : ए गुइँठे हो, खान, बस्न, सुत्न र फोहोर गर्नका लागि पहिले संसद् भवन त हुनुपर्‍याे नि ।

सबै चुप ।

हर्क साम्पाङ : लौ पहिले ढुङ्गा बोकौँ । संसद् भवन बनाऔँ । अनि जे गरे पनि गरौँला ।

एक सांसद : ढुङ्गा बोक्न चाहिँ सकिँदैन है माननीयज्यू । जाने, नजानेको सबै काम चुनाव प्रचारकै बेला गरियो । चुनाव जितेपछि त कानून बनाउने हो ! हाम्रो काम कानून पास गर्ने ।

पछाडिको कुनामा बसेका कांग्रेस, एमाले र नेकपाका सांसदहरू कानेखुशी गर्न थाले ।

त्यत्तिकैमा प्रचण्ड कुर्सीबाट उठे : यसरी केटाकेटी खेलेर हुँदैन क्या साथी हो । संसद् र देश चलाउन अनुभव चाहिन्छ ।

अघिल्तिर बसेका नयाँ सांसदहरू हाँस्न थाले ।

प्रचण्ड : मलाई दिनुस् जिम्मा । संसद् र सरकार मात्रै होइन, तपाईंहरूको पार्टी पनि मैले नै चलाउनुपर्ने अवस्था देख्न थालेँ मैले त ।

अगाडिको बेञ्चमा फेरि हाँसो गुञ्जियो ।

रवि लामिछाने उठे : काम्रेड, तपाईंले चलाएको पार्टी सबैले देखिसके । हाम्रो पार्टी हामी नै चलाऔँल, तै पनि यति धेरै फिक्री गर्नुभो, धन्यवाद छ !

प्रचण्ड : खै के गर्नुहुन्छ त तपाईंहरूले ? धन्यवाद भनेर पार्टी चल्दैन क्या ।

रवि : झन्डै दुईतिहाइको बल छ, जे पनि गर्न सक्छौँ । अब चुनावमा वाचा गरेका सबै कुरा पूरा हुन्छ । एक–एकको हिसाब हुन्छ ।

त्यत्तिकैमा राप्रपाका ज्ञानेन्द्र शाही उठे : दुईतिहाइको बल छ भन्दैमा धेरै ताउरमाउर नगर साथी हो । पहिले पनि हेरेकै हो यस्ता दुईतिहाइ ।

सभामुख : कृपया शान्त हुनुहोस् । यो संसद् बैठक हो, कमेडी शो होइन ।

हर्क साम्पाङ : कमेडी शो भए टिकट बेचेर राजस्व पनि उठ्थ्यो ।

महावीर पुन : अनि त्यही पैसाले अनुसन्धान पनि हुन्थ्यो ।

आशिका तामाङ : फोहोर पनि सफा हुन्थ्यो ।

बालेन शाह : (फेरि हातले बस्नुस् भन्ने इशारा)

एक सांसद फेरि सोध्छन् : अब चाहिँ बस्ने कि नाच्ने ?

सभाभित्र फेरि हाँसो गुञ्जिन्छ ।

महावीर पुनले बैठक समापन गर्दै भन्छन् : ल साथीहरू बस्न मन लागे बस्नुस्, नाच्न मन लागे नाच्नुस् । तपाईंहरू सबै जना अहिले लाइनमा बस्नुस्, मेरो किताब किन्न । म पालैपालो किताब बेच्दै आइपुग्छु । तपाईं सबैले एक/एक वटा किताब किनेपछि आजको बैठक अन्ते गर्न म फेरि सभामुखको कुर्सीमा फर्काैँला !

 

अन्तिम अपडेट: चैत १, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker