जसले हराए राजेन्द्र लिङ्देन

विराटनगर । झापा– ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठक निर्वाचित भएका छन् । पाठकले ३८ हजार ६७४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी लिङ्देनले १७ हजार २९४ मत मात्रै ल्याउन सके । पाठकले लिङ्देनलाई २१ हजार ३८० मतले पराजित गरेका हुन् ।
यसअघि २०७४ सालको निर्वाचन र २०७९ सालको निर्वाचनमा लिङ्देनले एमालेसँग गठबन्धन गरेर विजयी बनेका थिए । २०७४ सालको निर्वाचनमा राप्रपाबाट एक्लै प्रत्यक्ष जितेका लिङ्देन त्यही बलमा पार्टीको अध्यक्षसमेत भए । तर, यस पटक रास्वपाको लहरकाबिच लिङ्देन पराजित भए पनि उनीमाथि नैतिक प्रश्न उठेको छ ।
को हुन् पाठक ?
२०४५ साल साउन १ गते झापाको बाह्रदशी गाउँपालिका घाग्रामा जन्मिएका पाठकले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उनी रास्वपा हुनुअगाडि विभिन्न सञ्चारमाध्यममा पत्रकारको भूमिकामा १४ वर्ष काम गरेका थिए ।
त्यसक्रममा उनले रेडियोको एंकरिङ तथा नेतृत्व तालिममा अनुभव, कृषि तथा शिक्षा क्षेत्रमा नीतिगत विश्लेषण र रणनीतिक परामर्श प्रदान गर्ने क्षमता उनीसँग छ । त्यस्तै, उनले रवि लामिछानेकै पहलमा स्थापना भएको ग्यालेक्सी फोर के टेलिभिजनको वरिष्ठ उपसम्पादक, रेडियो कान्तिपुरको उपसम्पादक, रेडियो अन्नपूर्णको समाचार निर्माता भएर काम गरेका थिए ।
उनले शिक्षामा समान पाठ्यक्रम र एकरुप पोशाक प्रणालीको प्रबद्र्धनका लागि अभियानमा सक्रिय रहेको, बाढी पहिरो लगायत विपद् व्यवस्थापनमा सहायता तथा समन्वय प्रणाली स्थापना गरेको, सामाजिक मुद्दा सम्बन्धी अनुसन्धान, तथ्यपरक विश्लेषण तथा जनचेतना अभिवृद्धिमा दक्षता रहेको बताएका छन् ।
आफू निर्वाचित भएपछि नीतिगत समझ, सञ्चार नेतृत्व र सामाजिक उत्तरदायित्वलाई समन्वय गर्दै सार्वजनिक सरोकारका विषयमा संस्थागत तथा दीर्घकालीन प्रभाव सिर्जना गर्ने प्रतिबद्ध व्यक्त गरेका छन् ।



