इलामका दुवै क्षेत्रमा एमाले अगाडि, रास्वपा चौथो

काठमाडौँ । जारी मतगणनामा इलामका दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार क्षेत्र नम्बर १ मा एमालेका काजीमान कागतेले अग्रता लिएका हन् भने क्षेत्र नम्बर २ मा सुहाङ नेम्बाङ अगाडि छन् ।
क्षेत्र नम्बर १ मा कागतेले हालसम्म २ हजार ८०३ मत पाएका छन् । यसअघि श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले अग्रता लिँदै आएकोमा अहिले कागते अघि लागेका हुन् । श्रम संस्कृति पार्टीका लिम्बू भने तेस्रो स्थानमा झरेका छन् । दोस्रो स्थानमा कांग्रेसका निश्कल राई आएका छन् । उनले हालसम्म २ हजार ५८९ मत पाउँदा विनोद नेम्बाङले २ हजार ५४६ मत पाएका छन् । उक्त क्षेत्रमा रास्वपाका विमल गदालले १ हजार २४४ मत पाउँदा नेकपाका रनबहादुर राईले भने ९६९ मत पाएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर २ मा एमालेका सुहाङले १२ हजार ५७५ मत ल्याएर अग्रता बनाउँदा श्रम संस्कृतिका सुदीप राई १० हजार ८३६ मतसहित दोस्रो स्थानमा छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका भेषराज आचार्यले ६ हजार ८७१ मतसहित तेस्रो स्थान बनाउँदा जारी मतगणनामा रास्वपाका गोकुल राई ३ हजार ४५१ मतसहित चौथो स्थानमा छन् ।



