रास्वपा छाडेर कांग्रेसमा फर्किएका पराजुलीले भने: बोल्नै नपाइने अवस्थामा साढे ३ वर्ष बिताउनुपर्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुर जिल्ला सभापति पद त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका भरतप्रसाद पराजुलीले रास्वपामा बोल्नै नपाइने अवस्था रहेको आरोप लगाएका छन्।
बुधबार (आज) बिहान नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पराजुलीले रास्वपामा केन्द्रीय नेताबाहेक अरूले बोल्नै नपाइने स्थिति रहेको दाबी गरेका हुन्।

उनले केन्द्रीय नेतृत्वले जे गरे पनि स्वीकार्य हुने तर तल्लो तहका नेता-कार्यकर्तालाई आफ्ना धारणा राख्नसमेत कठिनाइ हुने अवस्था रहेको आरोप लगाए।
पार्टीभित्र काम गर्दै जाँदा अपेक्षा गरेअनुसार स्पष्ट सिद्धान्त, दृष्टिकोण र दीर्घकालीन योजना नदेखिएको दाबी पनि उनले गरे।
‘पुराना दललाई ठोक्ने र भ्रष्टाचारमुक्त बनाउँछु भन्ने भाषण मात्रै रहेछ, पराजुलीले भने, ‘देश बनाउने ठोस योजना, कार्यविधि र दीर्घकालीन खाका देखिएन। रास्वपा सामाजिक सञ्जाल र भाषणमा जति लोकतान्त्रिक देखिन्छ, व्यवहारमा त्यस्तो छैन। निर्णय प्रक्रियामा पारदर्शिता थिएन, जनमूल्यांकनको प्रणाली पनि गलत रहेछ।’
कांग्रेसमा खुलेर बोल्ने संस्कारमा राजनीति गरेको मान्छे रास्वपामा गएपछि बोल्नै नपाइने अवस्थामा साढे तीन वर्ष बिताउनुपरेको गुनासो उनले गरे।
रास्वपाको संरचना लोकतान्त्रिक प्रणालीअनुसार सञ्चालन नभएको र आन्तरिक बहस-संवादको संस्कार कमजोर रहेको निष्कर्षमा पुगेपछि पुरानै पार्टीमा फर्किने निर्णय गरेको पराजुलीको भनाइ छ।
आफ्नो राजनीतिक पृष्ठभूमि, पसिना र योगदान कांग्रेससँगै जोडिएको कारण फर्किन कुनै असजिलो नलागेको उनले बताए।
कांग्रेस छाडेर रास्वपामा जाँदा गल्ती भएको भन्दै उनले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्नेमा आफ्नो स्वभावका कारण त्यतिबेला रास्वपामा गएको सुनाए।
उनले भने, ‘कांग्रेसमा कमजोरी थिए, तर त्यो कमजोरीसँग भित्रै बसेर लड्नुपर्ने थियो। मेरो स्वभावले त्यो गर्न सकेन, रिसाएर बाहिरिएँ,’ अहिले पनि ती दिन सम्झेर पछुतो लागिरहेको छ।’
वर्तमान कांग्रेस नेतृत्वप्रति विश्वास व्यक्त गर्दै उनले विशेषगरी सभापति गगन थापा नेतृत्वमा युवाहरूको क्षमतावान् टिम तयार भएको र पार्टी सुधारको दिशामा अघि बढिरहेको दाबी उनले गरे।
उनले भने, ‘सुध्रेको कांग्रेसले देशको अभिभावकत्व निभाउन सक्छ र देशलाई सही दिशा दिन सक्छ भन्ने पूर्ण विश्वासका साथ म पुनः कांग्रेसमा प्रवेश गरेको हुँ।’
रास्वपामा प्रवेश गरेपछि उनले जिल्ला सभापतिको जिम्मेवारी पाएका थिए। आफू कुनै विशेष प्रभावशाली व्यक्ति नभए पनि पार्टीले अवसर दिएको उल्लेख गर्दै उनले करिब साढे तीन वर्ष संगठन निर्माणमा निरन्तर मेहनत र संघर्ष गरेको सुनाए।
उनी नेपाली कांग्रेसमा फर्किएसँगै मकवानपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बुद्ध लामालाई सहयोग पुग्ने आकलन गरिएको छ।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजुली मकवानपुर-२ मा रास्वपाबाट उम्मेदवार बनेका थिए।
प्रत्यक्षतर्फ पराजुलीका पक्षमा १४ हजार मत खसेकामा १२ हजार ५९ मत सदर भएका थिए।
पराजुलीका कारण पश्चिमी मकवानपुरको मत कांग्रेसका पक्षमा तान्न सकिने रणनीतिका उनलाई पार्टीमा फर्काइएको कांग्रेसका नेताहरू बताउँछन्।



