संसद्को पहिलो बैठक : बोलक्कड महावीर र मौन बालेन !

कल्पना गर्नुस् त, चुनावपछिको पहिलो संसद् बैठक ! रास्वपाका धेरै सांसदहरू कक्षाको पहिलो विद्यार्थी झैँ फुरफुर हुँदै अगाडिको बेञ्च ओगटेर बसेका । कोही मोबाइल निकालेर सेल्फी खिच्दै, कोही छेउको साथीलाई जिस्काउँदै, कोही कुर्सी घुमाउँदै ।
हर्क साम्पाङ र उनका सांसदहरू उत्साहका साथ अघिल्तिर हेरिरहेका । अनि कांग्रेस, एमाले, नेकपा र राप्रपाका सांसदहरू चुपचाप पछिल्तिर बेञ्चमा बसेका ।
संसद्को सबैभन्दा जेठो सदस्यको हैसियतले महावीर पुनले बैठक सञ्चालन गर्न थाले ।
महावीर पुन : भाग्य त मैले पो लिएर आएको रैछु । मन्त्रीबाट सांसद भएँ, सांसदबाट फेरि सभामुख । ल है माननीयज्यूहरू बस्न मन लाग्ने बस्नुस्, उठ्न मन लाग्ने उठ्नुस् । तर हल्ला चाहिँ नगर्नुस् है । यो संसद् हो, मेलापात होइन ।
अगाडिको बेञ्चमा बसेका केही सांसद हाँस्न थाले ।
एक सांसद : सभामुखज्यू, सेल्फी खिच्न पाइन्छ कि नाइँ ?
महावीर पुन : मलाई सभामुखज्यू भनिरहनु पर्दैन । ए सभामुख मात्रै भने नि हुन्छ । अँ सेल्फी ? संसदमा ? खिच्नुस् खिच्नुस्न् । अलि छिटो, पालैपालो गर्नुस् । तर सेल्फीमा फिल्टर चाहिँ नलगाउनुस् । देशको अवस्था जस्तो छ, त्यस्तै देखिनुपर्छ ।
अघिल्लो बेञ्चमा चुपचाप बसिरहेका बालेन शाहले हातको इशाराले सबैलाई बस्न भने ।
अगाडिका सांसदहरू अलमल परे ।
एक सांसद : उहाँले के भन्नुभयो ? बस्न भन्नुभयो कि नाच्न ?
अर्को सांसद : मलाई त डान्स गर्ने इशारा जस्तो लाग्यो ।
तेस्रो : हैन होला, संसदमा डान्स कसरी ?
त्यत्तिकैमा रवि लामिछाने उठे ।
रवि : उहाँले बस्न भन्नुभएको हो ।
त्यसपछि सबै चुपचाप बसे ।
एक सांसद : सभामुखज्यू, हाम्रो संसद् बैठकले के गर्छ त ?
महावीर पुन : म भगवान् हो र अहिले नै यो यो गर्छ भन्नलाई । केही न केही होला त । ल आज चाहिँ पहिलो बैठक भएकाले गर्नुपर्ने कुरा केही छैन । साह्रै बोर भयो । यहाँ गाउने, नाच्ने पनि हुनुहुन्छ क्यारे । म त चिन्दिनँ । लौ, एकछिन गीत गाउनुस् न ।
अगाडिको बेञ्चमा हल्ला मच्चियो ।
एक सांसद : कुन गीत गाउने ? चुनावी गीत कि प्रेम गीत ?
अर्को सांसद : जनता तिमी महान् भन्ने गाऊँ कि ?
तेस्रो सांसद : हैन, हामी जित्यौँ भन्ने गाऊँ ।
पछाडिबाट कांग्रेस र एमालेका सांसद बिस्तारै बोले : हामीलाई त ‘हामी हार्याैँ’ भन्ने गीत गाउन मन लाग्यो ।
सबै हाँस्न थाले ।
केही समयपछि महावीर पुन फेरि बोले : सधैँ सभामुख भइरहन पाइने हैन होला । अहिलेलाई पो सबैभन्दा बुढो भनेर जिम्मेवारी दिए । अब जोसुकैले जेसुकै भनून्, मलाई संसद्को यतै कतै कुनामा खान र सुत्ने व्यवस्था मिलाउनुपर्याे ।
त्यत्तिकैमा आशिका तामाङ उठिन् : सुत्न त सुत्नु क्या बाजे । तर जथाभाबी फोहोर गर्न चाहिँ पाइँदैन नि । संसद् पनि सफा हुनुपर्छ ।
सबैले टाउको हल्लाए ।
त्यत्तिकैमा हर्क साम्पाङ उठे : ए गुइँठे हो, खान, बस्न, सुत्न र फोहोर गर्नका लागि पहिले संसद् भवन त हुनुपर्याे नि ।
सबै चुप ।
हर्क साम्पाङ : लौ पहिले ढुङ्गा बोकौँ । संसद् भवन बनाऔँ । अनि जे गरे पनि गरौँला ।
एक सांसद : ढुङ्गा बोक्न चाहिँ सकिँदैन है माननीयज्यू । जाने, नजानेको सबै काम चुनाव प्रचारकै बेला गरियो । चुनाव जितेपछि त कानून बनाउने हो ! हाम्रो काम कानून पास गर्ने ।
पछाडिको कुनामा बसेका कांग्रेस, एमाले र नेकपाका सांसदहरू कानेखुशी गर्न थाले ।
त्यत्तिकैमा प्रचण्ड कुर्सीबाट उठे : यसरी केटाकेटी खेलेर हुँदैन क्या साथी हो । संसद् र देश चलाउन अनुभव चाहिन्छ ।
अघिल्तिर बसेका नयाँ सांसदहरू हाँस्न थाले ।
प्रचण्ड : मलाई दिनुस् जिम्मा । संसद् र सरकार मात्रै होइन, तपाईंहरूको पार्टी पनि मैले नै चलाउनुपर्ने अवस्था देख्न थालेँ मैले त ।
अगाडिको बेञ्चमा फेरि हाँसो गुञ्जियो ।
रवि लामिछाने उठे : काम्रेड, तपाईंले चलाएको पार्टी सबैले देखिसके । हाम्रो पार्टी हामी नै चलाऔँल, तै पनि यति धेरै फिक्री गर्नुभो, धन्यवाद छ !
प्रचण्ड : खै के गर्नुहुन्छ त तपाईंहरूले ? धन्यवाद भनेर पार्टी चल्दैन क्या ।
रवि : झन्डै दुईतिहाइको बल छ, जे पनि गर्न सक्छौँ । अब चुनावमा वाचा गरेका सबै कुरा पूरा हुन्छ । एक–एकको हिसाब हुन्छ ।
त्यत्तिकैमा राप्रपाका ज्ञानेन्द्र शाही उठे : दुईतिहाइको बल छ भन्दैमा धेरै ताउरमाउर नगर साथी हो । पहिले पनि हेरेकै हो यस्ता दुईतिहाइ ।
सभामुख : कृपया शान्त हुनुहोस् । यो संसद् बैठक हो, कमेडी शो होइन ।
हर्क साम्पाङ : कमेडी शो भए टिकट बेचेर राजस्व पनि उठ्थ्यो ।
महावीर पुन : अनि त्यही पैसाले अनुसन्धान पनि हुन्थ्यो ।
आशिका तामाङ : फोहोर पनि सफा हुन्थ्यो ।
बालेन शाह : (फेरि हातले बस्नुस् भन्ने इशारा)
एक सांसद फेरि सोध्छन् : अब चाहिँ बस्ने कि नाच्ने ?
सभाभित्र फेरि हाँसो गुञ्जिन्छ ।
महावीर पुनले बैठक समापन गर्दै भन्छन् : ल साथीहरू बस्न मन लागे बस्नुस्, नाच्न मन लागे नाच्नुस् । तपाईंहरू सबै जना अहिले लाइनमा बस्नुस्, मेरो किताब किन्न । म पालैपालो किताब बेच्दै आइपुग्छु । तपाईं सबैले एक/एक वटा किताब किनेपछि आजको बैठक अन्ते गर्न म फेरि सभामुखको कुर्सीमा फर्काैँला !
अन्तिम अपडेट: चैत १, २०८२



