रुकुमपूर्वमा सडक मिचेर मन्दिर परिसरमा संरचना बनाउन थालेपछि विवाद

४ चैत, रुकुमपूर्व । सिस्ने गाउँपालिका–६ छिप्रिदहस्थित विन्ध्यावासिनी मन्दिर पुनर्निर्माण योजनाले सडक मापदण्ड उल्लंघन गरेको आरोप लागेसँग विवाद सिर्जना भएको छ ।
मन्दिर परिसरभित्र सटरसहितका संरचना निर्माण गर्ने तयारी भएपछि स्थानीयवासी र व्यवसायीहरूले विरोध गरेका छन् ।
अघि सडक मापदण्ड उल्लंघनकै कारण ‘रुकुमकोट महिला बहुदलीय सहकारी संस्था लिमिटेड’को भवन स्थानीय सरकारद्वारा भत्काइएको थियो ।
उद्योग वाणिज्य संघ रुकुमपूर्वसहित बजारका व्यवसायीहरूले मन्दिर पुनर्निर्माणलाई समर्थन गरे पनि व्यावसायिक उद्देश्य राखेर सटर निर्माण गर्नु अनुचित भएको बताएका छन् ।
उनीहरुले मन्दिरलाई धार्मिक आस्थाको केन्द्रकै रूपमा विकास गर्नुपर्ने बताउँदै व्यापारिक गतिविधि जोडेर यसको मूल स्वरूप परिवर्तन गर्न नहुने बताएका छन् ।
मन्दिर व्यवस्थापन समितिले भने आरोप अस्वीकार गर्दै परियोजना विधिसम्मत रहेको दाबी गरेको छ । समितिका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ र कम्पाउण्ड क्षेत्रभित्र सीमित सटर निर्माण गर्ने योजना अघि बढाइएको हो । ६ वटा सटर निर्माणका लागि लुम्बिनी प्रदेश सांसद कोषमार्फत बोलपत्र आह्वान भइसकेको पनि जानकारी दिइएको छ ।
समितिले प्रस्तावित संरचना नवदुर्गा अवधारणामा आधारित रहेको, नौ दिशामा नौ देवी स्थापना गरिने र बहुभुज शिखर तथा प्यागोडा शैलीमा मन्दिर निर्माण गरिने जनाएको छ । धातु संरचनालाई प्राथमिकता दिइएको र यसले दीर्घकालीन रूपमा टिकाउ तथा भूकम्प प्रतिरोधी हुने दाबी गरिएको छ ।
तर, स्थानीय सरकार, सिस्ने गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले विवादबारे हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । यसले झन् अन्योल बढाएको छ। सरोकारवालाबीच समन्वय र पारदर्शिता अभाव हुँदा विवाद थप चर्किने संकेत देखिएको छ ।
मन्दिर पुनर्निर्माण जस्तो संवेदनशील विषयमा कानुनी मापदण्ड र स्थानीय सहमति दुवैलाई बेवास्ता गरिए परिणाम गम्भीर हुन सक्ने भन्दै स्थानीयले तत्काल खुला छलफल र स्पष्टीकरणको माग गरेका छन् ।



