‘पूर्वराजाको जस्तो देखिने’ पोशाक विवादमा मनोज गजुरेलले माफी मागे

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ को तेस्रो सिजन घोषणा समारोहमा कलाकार तथा जज मनोज गजुरेलले लगाएको पोशाकले विवाद निम्त्याएको छ । कार्यक्रममा उनी पूर्वराजाको पहिरन झल्किने शैलीमा देखिएका थिए, जसको तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र विशेषगरी पूर्वराजावादी वृत्तमा प्रतिक्रिया देखियो ।
विवाद चर्किएपछि गजुरेलले सामाजिक सञ्जालमार्फत आधिकारिक रूपमा क्षमायाचना गरेका छन् । उनले आफ्नो भनाइ सार्वजनिक गर्दै कार्यक्रमको उद्देश्य कसैको भावना आहत पार्ने नभएको स्पष्ट पारेका छन् ।
उनका अनुसार उक्त पोशाक कार्यक्रमको कथ्यअनुसार सिर्जना गरिएको काल्पनिक चरित्रको हिस्सा मात्र थियो । तर, सार्वजनिक संवेदनशीलतालाई लिएर आफ्नो पक्षबाट कमजोरी भएको स्वीकार गर्दै उनले खुला हृदयले क्षमा मागेका छन् ।
साथै, उनले आफ्ना कमजोरी औंल्याएर सचेत गराउने सबैप्रति आभार व्यक्त गरेका छन् । ‘कमेडी दरबार’को तेस्रो सिजन शुक्रबारदेखि प्रसारण तयारीमा छ ।



