मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
नागढुङ्गा सुरुङमार्ग : कारलाई ६५ र मल्टी एक्सल ट्रकलाई ६०० रुपैयाँसम्म दस्तुर – Pradesh Dristhi
देश

नागढुङ्गा सुरुङमार्ग : कारलाई ६५ र मल्टी एक्सल ट्रकलाई ६०० रुपैयाँसम्म दस्तुर

सरकारले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ६ सय रुपैयाँसम्मको उपभोग दस्तुर (टोल फी) निर्धारण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सवारीको भार र प्रकृतिअनुसार फरक–फरक शुल्क सार्वजनिक गरेको हो।

मन्त्रिपरिषद्को गत साउन २६ को निर्णयअनुसार सडक बोर्ड ऐन, २०५८ को अधिकार प्रयोग गरी यो दस्तुर तोकिएको हो। नयाँ दरअनुसार काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ।

काठमाडौँ प्रवेश गर्दा कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रो बसजस्ता हलुका सवारीले ६५ रुपैयाँ तिर्नुपर्नेछ भने बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । मिनी बस र मिनी ट्रकका लागि प्रवेश शुल्क ११५ र बाहिरिँदा ८० रुपैयाँ कायम गरिएको छ ।

ठूला बस र सिंगल रियर एक्सल भएका ट्रकले सुरुङ मार्ग प्रयोग गरेबापत भित्रिँदा २६० र बाहिरिँदा २०० रुपैयाँ बुझाउनुपर्नेछ। सबैभन्दा महँगो शुल्क भारी उपकरण तथा मल्टी एक्सल ट्रकका लागि तोकिएको छ, जसले काठमाडौँ प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्ने राजपत्रमा उल्लेख छ।

दुई पाङ्ग्रे सवारीका हकमा भने सुरुङमार्ग प्रयोग गर्न पाइने वा नपाइने र शुल्क लाग्ने वा नलाग्नेबारे सूचनामा केही खुलाइएको छैन।

सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेका बेला सरकारले मर्मतसम्भार र व्यवस्थापन खर्च जुटाउन यस्तो दस्तुर उठाउने निर्णय गरेको हो। अब यो मार्ग प्रयोग गर्ने हरेक सवारीले तोकिएको विन्दुमा अनिवार्य रूपमा यो दस्तुर भुक्तानी गर्नुपर्नेछ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker