मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अमेरिकामा सोधपुछ पछि चिनियाँ अनुसन्धानकर्ताको मृत्यु, बेइजिङमा आक्रोश – Pradesh Dristhi
देश

अमेरिकामा सोधपुछ पछि चिनियाँ अनुसन्धानकर्ताको मृत्यु, बेइजिङमा आक्रोश

बेइजिङ । अमेरिकामा एक चिनियाँ सेमिकन्डक्टर अनुसन्धानकर्ताको मृत्यु भएपछि चीनले गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको पूर्ण छानबिन गर्न अमेरिकासँग माग गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृतक अनुसन्धानकर्ता दानहाओ वाङ हुन् । उनी मिसिगन विश्वविद्यालयसँग आबद्ध थिए ।

रिपोर्टअनुसार, सङ्घीय अनुसन्धानकर्तासँग कडा सोधपुछपछि उनको मृत्यु भएको हो । विश्वविद्यालयले भने १९ मार्चमा क्याम्पस भवनबाट खसेर एक अनुसन्धानकर्ताको मृत्यु भएको पुष्टि गर्दै आत्महत्याको सम्भावित घटनाका रूपमा अनुसन्धान भइरहेको जनाएको छ ।

अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेन्ग्यूले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै चिनियाँ सरकारले सम्बन्धित अमेरिकी निकाय र विश्वविद्यालयसँग पटक–पटक औपचारिक ध्यानाकर्षण गराएको बताएका छन् ।

साथै, पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइरहेको पनि जनाइएको छ । चिनियाँ पक्षले अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरूलाई सतर्क रहन र कानुन कार्यान्वयन निकायसँग व्यवहार गर्दा सावधानी अपनाउन समेत आग्रह गरेको छ । यद्यपि, गोपनीयता र पारिवारिक सम्मानका कारण विश्वविद्यालय र चिनियाँ विदेश मन्त्रालयले आधिकारिक रूपमा मृतकको पहिचान पुष्टि गरेका छैनन् ।

विश्वविद्यालयको वेबसाइट अनुसार, वाङ विद्युत् तथा कम्प्युटर इन्जिनियरिङका सहायक अनुसन्धान वैज्ञानिक थिए र उनको अनुसन्धान क्षेत्र सेमिकन्डक्टर प्रविधिसँग सम्बन्धित थियो । चिनियाँ विदेश मन्त्रालयले यस घटनाबारे पहिलो पटक २७ मार्चमा प्रतिक्रिया दिँदै अमेरिकी कानुन कार्यान्वयन निकायको शत्रुतापूर्ण सोधपुछ पछि एक चिनियाँ विद्वानले आत्महत्या गरेको जनाएको थियो ।

यस्तो व्यवहारले चिनियाँ नागरिकको वैधानिक अधिकार उल्लङ्घन गर्ने र दुई देशबिचको जनस्तरको सम्बन्धमा नकारात्मक प्रभाव पार्ने पनि मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पनि अमेरिकासँग पूर्ण छानबिन र स्पष्ट जवाफ दिन माग दोहोर्‍याएकी छिन् । वाङको मृत्युले अमेरिका–चीनबिच बढ्दो तनावबिच अमेरिकामा अध्ययन तथा अनुसन्धान गरिरहेका चिनियाँ विद्वानहरूको अवस्थाबारे फेरि बहस सुरु गराएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker