मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
बादललाई सम्झाउँदै सुरेन्द्र पाण्डेले भने– अतिवादी र उग्र दृष्टिकोणले पार्टीलाई झन् पछि धकेल्छ – Pradesh Dristhi
देश

बादललाई सम्झाउँदै सुरेन्द्र पाण्डेले भने– अतिवादी र उग्र दृष्टिकोणले पार्टीलाई झन् पछि धकेल्छ

नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले बुधबार कास्कीमा दिएको अभिव्यक्ति पार्टीभित्रै विवादमा परेको छ। पार्टीका नेताहरूले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका हुन्।

पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले ‘माओवादी जनयुद्ध’ को भाष्य एमालेको आधिकारिक भाष्य हुन नसक्ने भन्दै पार्टी जनताको बहुदलीय जनवादको लाइनमा रहेको सम्झाएका हुन्।

‘राजनीतिमा वैचारिक स्पष्टता सबैभन्दा ठूलो शक्ति हो। नेकपा (एमाले) को आफ्नै गौरवशाली इतिहास, आफ्नै संघर्षको जग र आफ्नै मौलिक सिद्धान्त छ। हामीले स्पष्ट हुनुपर्छ – माओवादी जनयुद्धको भाष्य एमालेको आधिकारिक भाष्य होइन र हुन सक्दैन। एमालेको मूल बाटो जनताको बहुदलीय जनवाद (जबज) हो, जसले शान्तिपूर्ण प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता र जनताको मतलाई नै परिवर्तनको अन्तिम आधार मान्छ,’ उनले भनेका छन्।

विभिन्न पृष्ठभूमिबाट आएकाहरूको आफ्ना भोगाइ र बुझाइ हुन सक्ने तर जब एामालेको झण्डामुनि गोलबद्ध भइसकेपछि बोली र व्यवहार पार्टीको दस्तावेजसँग मेल खानुपर्ने उनको तर्क छ।

‘संसदमा वा सार्वजनिक मञ्चमा व्यक्त हुने व्यक्तिगत भावनाहरूलाई पार्टी लाइन भनेर व्याख्या गर्दा त्यसले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास मात्र पैदा गर्छ। त्यसमाथि, यस्ता अतिवादी र उग्र दृष्टिकोणहरूले हाम्रो पार्टीलाई समयको गतिसँगै अगाडि लैजानुको साटो झन् पछाडि धकेल्नेछन्,’ उनले भने।

आजको आवश्यकता विगतका द्वन्द्वकालीन बाटोहरूको गौरवगाथा गाउनु नभएको बरु शान्तिपूर्ण लोकतान्त्रिक पद्धतिबाटै मुलुकको आर्थिक रूपान्तरण कसरी गर्ने भन्नेमा केन्द्रित हुनु रहेको पाण्डेको भनाइ छ।

‘एमालेलाई एमालेकै रूपमा मौलिक र सुदृढ राख्न हामीले आफ्नो वैचारिक धरातल कहिल्यै बिर्सनु हुँदैन,’ उनले भने।

बुधबार कास्की जिल्ला भेलामा बादलले पार्टीका दुस्मनहरूलाई वडावडाबाट घेरा हाल्दै आक्रमण गर्नुपर्ने बताएका थिए।

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker