आगामी आर्थिक वर्षदेखि लागू गर्न सातौँ भन्सार सुधार योजना बन्दै, निजी क्षेत्रसँग सुझाव माग

काठमाडौँ । भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३–८४ देखि सातौँ भन्सार सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने भएको छ । चालु आर्थिक वर्षमा छैटौँ पञ्चवर्षीय भन्सार सुधार योजना सम्पन्न हुन लागेकाले विभागले नयाँ रणनीतिक योजनाको तयारी थालेको हो
उद्योगी तथा व्यवसायीहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले नयाँ भन्सार योजना बनाउने काम चलिरहेको बताए । उनकाअनुसार आगामी योजनाको मुख्य लक्ष्य ‘उत्पादनमुखी अर्थतन्त्र’ निर्माणमा केन्द्रित हुनेछ ।
महानिर्देशक भण्डारीकाअनुसार सातौँ सुधार योजनाले भन्सारका दरहरूको पुनरावलोकन र व्यापार सहरीकरणलाई प्राथमिकता दिनेछ । नयाँ योजना र आगामी बजेटको तयारी भइरहेको बेला विभागले निजी क्षेत्रबाट ठोस सुझावको अपेक्षा गरेको छ । भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राजश्व परामर्श समिति अन्तर्गतको उपसमितिले यसबारे काम गरिरहेको जानकारी दिँदै भण्डारीले शुक्रबार बस्ने उपसमितिको बैठकअघि नै सुझाव उपलब्ध गराउन आग्रह गरे ।
मुलुकमा हाल कायम रहेको राजनीतिक र नीतिगत स्थिरतालाई निजी क्षेत्रले सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । स्थायित्व भएको सरकार र संसद् पाएको अवस्थामा भन्सार प्रशासनलाई उद्योगीमैत्री बनाउन र दीर्घकालीन नीति तय गर्न यो उपयुक्त समय भएको उनको भनाइ थियो ।



