मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट, नेपालमा घट्छ कि घट्दैन ? – Pradesh Dristhi
देश

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट, नेपालमा घट्छ कि घट्दैन ?

काठमाडौँ । इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सम्झौता भएसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । तर, विश्व बजारको यो राहतको प्रभाव नेपाली उपभोक्ताको भान्सा र सवारी साधनसम्म आइपुग्न भने अझै समय लाग्ने देखिएको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेसँगै इरानमाथि भएको आक्रमणपछि बन्द जस्तै रहेको होर्मुज जलमार्ग खुल्ने भएपछि अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारल ९६.३१ डलर र ब्रेन्ट क्रुडको मूल्य १३ प्रतिशतले ओरालो लागेर ९५.३६ डलरमा झरेको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य घटे पनि नेपालमा भने नघट्ने निगमले संकेत गरेको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले प्राविधिक र वित्तीय कारणहरू औँल्याएका छन् । प्रवक्ता ठाकुरका अनुसार कच्चा तेल  र निगमले खरिद गर्ने प्रशोधित तेलको मूल्यमा अहिले ठुलो अन्तर छ ।

‘यहाँहरूले के बुझ्न जरुरी छ भने कच्चा तेलसँग सिधै हाम्रो लिंक हुँदैन,’ प्रवक्ता ठाकुरले भने, ‘अहिले कच्चा तेल १०० डलर आसपास हुँदा पनि अन्तर्राष्ट्रिय बजारमा डिजेल जस्तो प्रशोधित तेलको मूल्य ३०० डलर पुगेको छ । सामान्य अवस्थामा यो अन्तर २०–२५ डलर मात्र हुन्थ्यो, तर अहिले २०० देखि २५० डलरसम्मको ग्याप छ । त्यसैले कच्चा तेलको मूल्य घट्दैमा हाम्रो खरिद दर तुरुन्तै घट्दैन ।’

साथै सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने निर्णय गरे पनि निगम अझै ठुलो घाटामा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए । उनका अनुसार, पेट्रोलमा  प्रतिलिटर ३४ रुपैयाँ घाटा छ । यस्तै डिजेलमा प्रतिलिटर १२० रुपैयाँ घाटामा रहेको छ ।

सरकारको कर छुटले पेट्रोलमा साढे १७ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ राहत मिले पनि यसले निगमको विशाल घाटालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उनको तर्क छ । ‘सरकारको छुटले १५ दिनमा करिब डेढ अर्ब मात्र रिकभर हुन्छ, जबकि हाम्रो १५ दिनकै घाटा ११ अर्ब ७१ करोड रुपैयाँ छ,’ ठाकुरले थपे ।

निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ मूल्य सूचीको प्रतीक्षा गरिरहेको छ । आगामी १५ तारिख बेलुका आउने नयाँ मूल्यले मात्र नेपालमा इन्धनको भाउ कता जान्छ भन्ने निर्धारण गर्नेछ ।

निगमको पुरानो घाटा र प्रशोधित तेलको उच्च मूल्यका कारण विश्व बजारमा आएको यो गिरावटको लाभ उपभोक्ताले तत्कालै पाउने सम्भावना न्यून देखिएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker