होटलमा ठुलो लगानी, तर पर्यटक आगमन अझै रिकभरीकै चरणमा : जोशी

काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले कोभिड–१९ महामारीपछि विश्व पर्यटन क्षेत्र पूर्ण रूपमा लयमा फर्किसक्दा पनि नेपाल अझै रिकभरी कै चरणमा रहेको बताएका छन्।
उनका अनुसार सन् २०२५ मा विश्व पर्यटन कोभिडअघिको अवस्थाभन्दा करिब ४ प्रतिशतले वृद्धि भइसकेको छ, तर नेपाल भने अझै २ प्रतिशतले पछाडि छ। सन् २०२६ मा पनि नेपालले पूर्ण रिकभरी गर्न नसक्ने अवस्था देखिएको उनले उल्लेख गरे।
उनका अनुसार नेपालले पनि २०२५ मा १५ प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरेको थियो। सोहीअनुसार पर्यटन बोर्डले प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेको थियो। तर, ‘जेन–जी मुभमेन्ट’ र दसैँ–तिहारको समयमा गएको बाढी पहिरो, सडक अवरोध र उडान रद्द हुँदा पर्यटन क्षेत्रमा असर परेको उनले बताए।
पर्यटक आगमन कमजोर देखिए पनि यस क्षेत्रको लगानीमा भने उल्लेखनीय प्रगति भएको उनको भनाइ छ। विशेषगरी कोभिडपछि होटल तथा रिसोर्टमा ठुलो लगानी भित्रिएको छ । उनका अनुसार कोभिडअघि करिब १०–१२ वटा मात्रै पाँचतारे होटल रहेकोमा हाल १५ भन्दा बढी सञ्चालनमा छन्। साथै, अन्तर्राष्ट्रिय चेन होटल र लक्जरी सेगमेन्टमा समेत विस्तार भएको उनले जानकारी दिए।
यद्यपि, जेन–जी आन्दोलनले पर्यटन क्षेत्रमा दीर्घकालीन नकारात्मक असर भने नपारेको उनले बताए। सुशासनका लागि भएको आन्दोलन भन्ने सन्देश गएकाले पर्यटन छिट्टै लयमा फर्किएको उनको भनाइ छ। उनले भने, ‘हामीले ३० प्रतिशत आगमन घट्छ कि भन्ने सोचेका थियौँ। सेप्टेम्बरमा आगमन घटे पनि त्यसपछि हाम्रो रिकभरी अलि छिटो भयो।’
पश्चिम एसियाको तनावले नेपालको पर्यटन क्षेत्रमा नयाँ चुनौती
पर्यटनका लागि सन् २०२६ को सुरुवात सकारात्मक देखिए पनि नयाँ चुनौतीहरू थपिएको उनले बताए। पश्चिम एसियामा देखिएको तनावका कारण नेपालको पर्यटन क्षेत्रमा ठुलो चुनौती खडा भएको उनको भनाइ छ। उनका अनुसार जनवरीमा १५।७ प्रतिशत र फेब्रुअरीमा ८ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको थियो।
तर, मार्चमा पश्चिम एसिया सङ्कटका कारण हवाई मार्गमा भएको अवरोध र इन्धन सङ्कटले आगमनमा कमी आएको छ। इन्धन महँगिँदा हवाई भाडा बढ्ने र यो अवस्था लम्बिएमा यातायात, होटल र रेस्टुरेन्ट सेवा महँगो हुने उनले बताए। यसको प्रत्यक्ष असर पर्यटकमा पर्ने उनको भनाइ छ।
उनले भने, ‘हामीले सुधार्नुपर्ने साना कुरा नै हुन्। साना कुरा राम्रो भयो भने ठुला चिजका लागि जग तयार हुन्छ। साना कमजोरीले हामीलाई अनावश्यक झमेला बढाएको छ र नकारात्मक सन्देश पनि गएको छ। नेपालमा राम्रो व्यवस्थापन छैन भन्ने बुझाइ छ। यसका लागि हामीले प्राथमिकता पहिचान गरेर काम गर्नुपर्छ। राम्रो सडक यातायात पर्यटनसँग जोडिएको मुख्य पूर्वाधार हो। त्यस्तै अध्यागमनको सेवा, संरक्षित क्षेत्रको सुविधा र आन्तरिक उडानमा हुने व्यापक ढिलाइ सुधार्नुपर्छ। हाम्रो कारणले पर्यटकको यात्रा लम्ब्याउनुपर्ने अवस्था आयो भने राम्रो हुँदैन।’
नयाँ पर्यटकीय क्षेत्रको ब्रान्डिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ
नेपालले पर्यटकीय उत्पादनको पहिचान र नयाँ प्याकेजिङमा ध्यान दिनुपर्ने आवश्यकता रहेको जोशीले बताए। हाल काठमाडौँ, पोखरा र चितवनजस्ता परम्परागत गन्तव्यमा मात्रै पर्यटन प्रवर्द्धन सीमित रहेको भन्दै उनले यसको विविधीकरण गर्नुपर्ने बताए।
सामुदायिक वनमा चराचुरुङ्गी अवलोकन तथा नदीमा ‘एङ्गलिङ’ (माछा मार्ने पर्यटन) जस्ता नयाँ सम्भावना रहेको उनको भनाइ छ। सेती नदीमा १०० भन्दा बढी ‘गोल्डेन महाशिर’ पाइने उल्लेख गर्दै उनले यस्ता अद्वितीय र दिगो पर्यटकीय प्रडक्टको प्रवर्द्धन गर्न सके नयाँ अवसर सिर्जना हुने बताए।
उनले भने, ‘नेपालको पर्यटन क्षेत्रमा हामीले अझै धेरै गर्न बाँकी छ। भएका चिजलाई पनि नयाँ प्याकेजिङ गर्ने कुरा हामीकहाँ कम छ। अहिले पनि हामीले परम्परागत प्याकेज नै बढी बेचिरहेका छौँ। काठमाडौँ, पोखरा, चितवनमा मात्र सीमित छौँ। पछिल्ला २५–३० वर्षमा हामीसँग २० हजारभन्दा बढी सामुदायिक वन विकास भए । त्यहाँ ‘कार्बन न्युट्रल’ वा ‘ग्रिन टुरिजम’ प्याकेज ल्याउन सकिने प्रशस्त ठाउँ छन्। चराहरूको सङ्ख्या बढेको छ। हामीले हालै सेती नदीमा ‘एङ्गलिङ’ (माछा समाउने) इभेन्ट गरेका थियौँ। युरोपमा यो एकदमै चल्तीको एक्टिभिटी हो। नेपालको सेती नदीमा सयभन्दा बढी गोल्डेन महाशिर छन्। यो हाम्रा लागि सगरमाथाजस्तै हो। यस्ता थुप्रै युनिक चिज छन्, जसको खोजी र प्रचार गर्नुपर्नेछ।’
पर्यटकलाई दुःख दिने काम गर्न नहुने उनले बताए। पोखरामा पर्यटक बसिरहेकै बेला होटलमा डोजर चलाइएको प्रसङ्ग उल्लेख गर्दै उनले यस्ता विषयमा पर्यटकलाई अग्रिम सूचना दिनुपर्ने बताए।
उनले भने, ‘विगतमा मजदुर आन्दोलन हुँदा बसिरहेका पाहुनालाई बाहिर निकालेर होटल बन्द गरिदिने काम हुन्थ्यो। हाल पोखरामा केही होटलमा डोजर चल्यो। एक दिनअगाडि गएर पर्यटकलाई सम्बन्धित निकायले सूचना दिनुपर्थ्यो। तपाईंहरू सुरक्षित बस्नुहोस्, यो मापदण्ड विपरीत भएकाले भत्काउन लाग्दै छौँ भन्ने जानकारी दिनुपर्छ।’
पर्यटकको सहजताका लागि पर्यटन बोर्डले ‘क्राइसिस कोअर्डिनेसन सेल’ स्थापना गरेको पनि उनले जानकारी दिए। हड्ताल, कर्फ्यु वा सडक अवरोधका बेला विमानस्थलदेखि होटलसम्म सटल बस सञ्चालन गर्ने तथा प्राकृतिक विपद्का समयमा स्थानीय सरकार, प्रशासन, पर्यटन प्रहरी र निजी क्षेत्रसँग सहकार्य गरी उद्धार तथा समन्वयको व्यवस्था मिलाइएको उनले बताए। बजेट र जनशक्ति अभावका कारण बोर्डले चाहेर पनि धेरै काम गर्न नसकेको र केही नीतिगत समस्यासमेत रहेको उनको भनाइ छ।



