मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
भूमे पूजा : देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परा कायमै – Pradesh Dristhi
देश

भूमे पूजा : देवतालाई खुसी बनाउन मोसो दल्ने परम्परा कायमै

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ वर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिइएको छ । आधुनिकताको प्रभावले मौलिक कला र संस्कृति हराएर जान थालेको अवस्थामा चिमखोलावासीले भने भूमे पूजामा हुने सांस्कृतिक पाटोलाई जीवन्त राखेका हुन् ।

हरेक वर्षको चैतको उजेली मङ्गलबारको दिन चिम खोलाको सेवाङ्ग धुरीमा रहेको भूमे थानमा विधिपूर्वक प्रकृति पूजाको रूपमा भूमे देवताको पूजाआजा गरेपछि स्थानीयले देवतालाई खुसी बनाउन मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने चलन रही आएको रघुगङ्गा–७ का वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिनुभयो ।

‘पुर्खादेखि नै चल्नै आएको परम्परा र मान्यता बमोजिम भूमे पूजा हुँदै आएको छ, अग्रजहरूले गर्दै आएको चलनलाई अहिले निरन्तरता दिइएको छ’,  उहाँले भन्नुभयो । भूमे थानमा पुन थरका पुजारीले पूजा गराउने चलन छ भने पूजामा सहभागी हुन देश तथा विदेशमा रहेका चिमखोलावासीका साथै छिमेकी गाउँबाट ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

मङ्गलवार सयौँको सङ्ख्यामा भूमे थानमा पुगेका स्थानीयवासीले पुरानो परम्परालाई निरन्तरता दिएर भूमे देवताको पूजा गरेका छन् । भूमे पूजामा सेदो भाकामा गीत गाएर देवीदेवतालाई पुकार्ने परम्परालाई निरन्तरता दिएको चिम खोलाका ८४ वर्षीय लबहादुर पुनले बताउनुभयो ।

भूमेलाई साँढको बली दिएर पूजा गरेपछि छेमा र पुजारीले राखेको जाँड चढाउने गरिन्छ । त्यसपछि जाँडको छ्याङ खाने र एकापसमा मोसो लगाएर नाचगानसहित रमाइलो गर्ने चलन छ । वनजङ्गल छेउछाउ बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपद् नहोस्, खेती बाली राम्रो होस् भन्ने कामनाले भूमे पूजा गर्ने चलन रहेको स्थानीय ध्रुवकुमार पाइजाले बताउनुभयो ।

गाउँ भेलाबाट भूमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने गर्छन् । छेमाहरुले एक महिनाअघि राखेको जाँडलाई भूमे थानमा विधिपूर्वक चढाएर खाने, सोही छ्याङ र खाना पकाउँदा अगेनामा आउने अङ्गार एक अर्कालाई दलेर नाचगान गरी भूमे पूजा गर्ने चिमखोलामा चल्दै आएको परम्परा हो । भूमे थानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुर्ख्यौली सेदो गीत गाउँदै थान परिसरमा भान्सा चलाएका सबै चुला फन्को मारेर चुला उठाउने गरिन्छ । भूमे थानबाट गाउँ फर्कने क्रममा पञ्चेबाजा रसेदो भाकाका साथै भैच मायाले (साइँलो भाका) मा दोहोरी गाउँदै नाचगान गरिन्छ ।

यसरी गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी, जनप्रतिनिधि र अगुवालाई काँधमा बोकेर सम्मानसहित गाउँमा पुर्‍याउने गर्दछन् ।

 

 

अन्तिम अपडेट: चैत २५, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker