मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
जलवायु परिवर्तन वातावरणीय मात्र होइन, आर्थिक र सामाजिक संकट पनि हो : मन्त्री चौधरी – Pradesh Dristhi
देश

जलवायु परिवर्तन वातावरणीय मात्र होइन, आर्थिक र सामाजिक संकट पनि हो : मन्त्री चौधरी

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन अब वातावरणीय समस्यामा मात्र सीमित नरहेर गम्भीर आर्थिक र सामाजिक संकटको रूपमा देखापरेको बताएकी छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जलवायु परिवर्तनले मानव अधिकार र विकासका समग्र पाटालाई प्रत्यक्ष असर गरिरहेको तर्फ विश्वको ध्यानाकर्षण गराएकी हुन्।

नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा अत्यन्तै न्यून भूमिका खेले पनि जलवायु परिवर्तनको चर्को मूल्य चुकाउनु परिरहेको यथार्थ मन्त्री चौधरीले प्रस्तुत गरिन्। उनले तीव्र गतिमा हिमनदीहरू पग्लिने, बेमौसमी वर्षा हुने, बाढीपहिरो र खडेरी जस्ता प्राकृतिक विपत्तिहरू बढ्दै गएको उल्लेख गर्दै यसले जनजीवन र मुलुकको विकास यात्रामा गम्भीर अवरोध सिर्जना गरेको उल्लेख गरिन्। यस्ता समस्याहरू दिनप्रतिदिन बढ्दै जानुले नेपालको कृषि र वातावरणीय सुरक्षामा ठूलो चुनौती थपेको उनको विश्लेषण छ।

जलवायु संकटको सामना गर्न नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार राष्ट्रिय निर्धारित योगदान (एनडिसी) तयार गरी समयमै पेस गरिसकेको मन्त्री चौधरीले जानकारी दिइन्। तर, दस्तावेज तयार गर्नु मात्रै ठूलो कुरा नभई त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको उनले बताइन्। उनले अबको सम्पूर्ण ध्यान र लगानी एनडिसीको सफल कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

जलवायु परिवर्तनको असरलाई कम गर्न र दिगो समाधान खोज्नका लागि एक्लो प्रयास पर्याप्त नहुने भन्दै मन्त्री चौधरीले तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमबीच बलियो सहकार्य हुनुपर्ने धारणा राखिन्। संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले मात्रै स्थानीय स्तरमा जलवायु अनुकूलनका कार्यक्रमहरू प्रभावकारी हुन सक्ने उनको ठम्याइ छ। साथै, सञ्चारमाध्यम र नागरिक समाजले जनचेतना फैलाउन सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिइन्।

वन तथा जैविक विविधता संरक्षणको क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिलाई अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गरेको मन्त्री चौधरीले चर्चा गरिन्। नेपालले वन क्षेत्र जोगाउन र वातावरणीय सन्तुलन कायम राख्न गरेका प्रयासहरूले विश्व समुदायलाई महत्वपूर्ण सन्देश दिएको उनको दाबी छ। वातावरणीय सन्तुलन कायम राख्नु र जलवायु परिवर्तनको सामना गर्नु कसै एकको नभई सबैको साझा जिम्मेवारी भएको भन्दै उनले सरोकारवाला सबैलाई उत्तरदायी बन्न आग्रह गरिन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker