सरकारी जागिर छाडेर चलाए होटल, अहिले भयो ५ अर्बको ब्रान्ड

‘जंगलमा गैंडाले लखेट्न सक्छ, त्यस्तो अवस्थामा रूख चढ्नू। बाघ आयो भने पनि रूख चढ्नू, तर अलि टुप्पोतिर। हात्ती आयो भने घुमेर तेर्पाइ–तेर्पाइ भएर भाग्नू।’
चितवन राष्ट्रिय निकुञ्जमा पोखराबाट पहिलो पटक जापानी पर्यटक घुमाउन लगेका ओम पाण्डेलाई जंगल गाइडले यसरी सम्झाएका थिए।
उनीहरू डराई–डराई निकुञ्ज घुमिरहेका थिए। अचानक एउटा गैंडा आयो। गाइडले सम्झाए अनुसार ओम रूख चढे। उनले लगेका दुई जना जापानी पर्यटक पनि रूख चढे।
करिब एक घन्टासम्म गैंडा त्यही बस्यो। उनीहरू रूखमै बसे। गैंडा आफ्नो बाटो लागेपछि ओम र उनका पर्यटक होटल फर्किए।
यो घटनापछि ओम र ती जापानी पर्यटकको सम्बन्ध प्रगाढ बन्यो। ती जापानी नेपाल घुम्न आउँदा भेटघाट गर्छन्। पुराना दिनहरू सम्झिन्छन्।
ओम यसरी पर्यटकसँग खेल्न थालेको ३८ वर्ष भयो।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ भगवतीका ओम २०४५ भदौ १९ गते पहिलो पटक पोखरा आएका थिए।
त्यो बेला उनको एउटै उद्देश्य थियो — पृथ्वीनारायण क्याम्पसमा विज्ञान पढ्ने। गाउँको स्कुलमा विज्ञान र गणित विषयको शिक्षक बन्ने।
पोखरा आउनुअघि एसएलसी (एसइई) दिएपछि खाली समयमा काम गर्न उनी गाउँका दाजुहरूसँग भारत गएका थिए। पाँचतारे होटलमा काम पाएका उनी एसएलसी नतिजा आएपछि गाउँ फर्किए।
पोखरा आएर क्याम्पस भर्ना हुनासाथ उनले काम खोजे। केही महिनापछि महेन्द्रपुलको गुराँस गेस्ट हाउसमा काम पाए। बसपार्कबाट पर्यटकलाई होटलसम्म ल्याउने उनको काम थियो।
‘होटलका कोठा खाली भएका बेला नाइट बसमा आउने पर्यटक खोज्न रातभर बसपार्कमा बसेँ। यसरी काम गर्दा मासिक १ हजार रूपैयाँ तलब पाइन्थ्यो,’ ओमले सुनाए।


नेपालका पदमार्गहरू त्यति बेलै प्रख्यात थिए। पदयात्रा गर्न फागुन, चैत, वैशाख, जेठ, असोज, कात्तिक र मंसिरमा पर्यटक खचाखच हुन्थे।
पोखरामा त्यति बेला होटलहरू भने धेरै थिएनन्। उनी काम गर्ने गेस्ट हाउस तुलनात्मक रूपमा राम्रो मानिन्थ्यो।
‘एक कोठामा बस्न रातको २०० देखि २५० रूपैयाँसम्म पर्थ्यो। पर्यटकहरू पैसाको खास मतलब गर्थेनन्। सफा, सुग्घर र तातोपानी भए पुग्थ्यो,’ उनी सम्झिन्छन्, ‘पैसाको चिन्ता नगर्नू, सुविधा राम्रो दिनू भन्थे।’
बसपार्कबाट होटल ल्याएका कतिपय पर्यटकले उनलाई पदयात्रामा पनि सँगै जान आग्रह गर्थे। उनी सराङकोटसम्म गए पनि। अलि टाढा भनेको तिनै जापानी पर्यटकसँग चितवन राष्ट्रिय निकुञ्ज हो जहाँ उनीहरूले गैंडा भेटेका थिए।
यसरी काम गर्दै पढिरहेका ओमले भाइ चेतनाथ (सिएन) पाण्डेलाई पनि पोखरा बोलाए। सिएनले कानुन विषय पढे। ओमका दाजु मुक्तिराम गाउँकै स्कुलमा शिक्षक थिए। २०५४ सालको स्थानीय निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर मुक्तिरामले गाविस अध्यक्ष जितेका थिए।
होटल प्रतिनिधि बनेर काम गर्दागर्दै ओमले आफै लेकसाइडको कोर्डियल होटल भाडामा लिएर चलाए। उक्त होटलमा उनले १ लाख २० हजार रूपैयाँ लगानी गरे। यो पैसा उनले गेस्ट हाउसमा काम गरेर र पर्यटकले दिएका टिप्सबाट बचत गरेका थिए।
होटलमा उनलाई भाइ सिएनले पनि सघाउन थाले।
ओमको आमाबुबा भने उनीहरूले सरकारी जागिर खाएको हेर्न चाहन्थे। त्यसैले ओमले परीक्षा दिए र लेखा अधिकृतमा नाम निकाले। उनको जागिर मनाङमा पर्यो।
‘पर्यटकसँग भुलिरहेको थिएँ। त्यो बेला मनाङ जान मन लागेन। सरकारी जागिर हापिदिएँ,’ उनले भने।
२०५२ सालपछि गाउँ गाउँमा माओवादी युद्ध चर्किँदै थियो। फरक पार्टीका मान्छे माओवादीले मन पराउँथेनन्। नेकपा एमालेबाट गाविस अध्यक्ष जितेका दाजु मुक्तिराम गाउँबाट विस्थापित हुने अवस्था आयो।
ओमले दाजुलाई पनि पोखरा बोलाए। होटल व्यवसायमा मुक्तिरामले पनि सहयोग गर्न थाले।
ओमका अनुसार त्यति बेला होटल भाडामा लिँदा ५ वर्षको सम्झौता हुन्थ्यो। कोर्डियलसँगको सम्झौता सकिएपछि उनीहरूले लेकसाइडमा सहाना होटल भाडामा लिए। यो अहिले पोखरा भिलेज होटल भएको छ।
होटल व्यवसायसँगै उनीहरूले सम्राट टुर्स एन्ड ट्राभल कम्पनी खोले र पर्यटकलाई नेपाल घुम्ने प्याकेज बेच्न थाले। ट्राभल कम्पनीबाट विशेषगरी भारतीय पर्यटक नेपाल ल्याउने र घुमाउने उद्देश्य थियो।
‘हाम्रो कम्पनीले विशेषगरी भारतीय पर्यटकलाई लक्ष्य गरेको थियो। अहिले पनि भारतमा धेरै साथीहरू जोडिनुभएको छ,’ उनले भने, ‘भारतीय पर्यटक ल्याउन त्यहाँका ट्राभल कम्पनीहरूसँग निरन्तर सहयोग आदानप्रदान भइराखेको छ।’
सहाना होटल चल्न थालेपछि उनीहरूले पृथ्वीचोकमा सयपत्री होटल चलाउन थाले। सहानासँगको सम्झौता सकिएपछि लेकसाइडमै गौरीशंकर गेस्ट हाउस र होटल लेकसाइड चलाए। यसपछि होटल खुकुरी चलाए।
यसरी पोखरामा होटल व्यवसायमा जमिरहेका ओमलाई तिनै जापानी पर्यटक साथीले आफ्नो देश बोलाए। राम्रो तलब–सुविधासहित जागिर लगाइदिने आश्वासन दिए। अरूले बोलाउँदा नगएका ओम जापान जान तयार भए। त्यहाँ पाँचतारे होटलमा काम पाए।
जापानमा करिब ११ महिना काम गरेपछि उनी नेपाल फर्किए। फेरि भिसा लगाएर आउन जापानी साथीले भनेका थिए। नेपाल फर्केपछि कुरा गरौंला भनेर उनी आए।


पोखरामा होटल भाइले धानेका थिए। जापानबाट कमाएर ल्याएको पैसा र पोखराको व्यवसायबाट आर्जन गरेको रकम खर्चेर उनीहरूले होटल किन्ने योजना बनाए। जापानी साथीलाई अब नेपालमै बस्ने जबाफ पठाए।
ओमका दाजुभाइ मिलेर लेकसाइडको केन्द्र मानिने बाराहीघाटमा होटल हंग्री आई किने। २३ वटा कोठा र करिब ४ रोपनी जमिन भएको उक्त होटल उनीहरूले २०६५ सालमा करिब ६ करोड रूपैयाँमा किनेका थिए।
‘धेरै पैसा बैंकबाट ऋण लिएका थियौं,’ ओमले भने, ‘आफ्नै होटल भएपछि लगानी थप्दै लग्यौं। होटलसँगै जोडिएको १ रोपनी जग्गा किन्यौं।’
होटलको नाम उनीहरूले ल्यान्डमार्क राखे। आफ्नै ट्राभल कम्पनी र होटल भएपछि उनीहरूको व्यवसायले फड्को हान्न थाल्यो।
भारतीय होस् वा तेस्रो मुलुकका पदयात्री पर्यटक, अधिकांश पोखरा घुमेपछि चितवन जान रूचाउँथे। त्यति बेला चितवनमा गुणस्तरीय होटल कम थिए। त्यसैले चितवनमा पनि होटल खोल्नुपर्ने निष्कर्षमा ओम पुगे। अनि सौराहामा २०७० सालमा जग्गा किनेर होटल ल्यान्डमार्क फरेस्ट पार्क बनाए।
यसरी पोखराबाट सुरू भएको होटल ल्यान्डमार्क अहिले ६ ठाउँमा पुगिसकेको छ — पोखरा, चितवन, काठमाडौं, भैरहवा, भरतपुर र देवघाटमा। यसमध्ये भैरहवा, भरतपुर र देवघाटमा भाडामा लिएर चलाएका हुन् भने बाँकी आफ्नै सम्पत्ति हुन्।
अन्य ठाउँमा पनि व्यवस्थापन हेर्ने गरी होटल थप्ने सोच बनाएको ओमले बताए।
‘नयाँ होटल बनाउन अहिले तत्काल लगानीको वातावरण बनिसकेको छैन। व्यवस्थापन हेर्ने गरी चलाउन अरू ठाउँमा पनि होटल र जग्गा हेरिराखेका छौं,’ उनले भने।
लुम्बिनी र बर्दियामा पाँचतारे होटल बनाउने उनीहरूको दीर्घकालीन योजना छ। त्यसअघि मुस्ताङमा होटल खोल्न चाहन्छन्। तत्काल लगानी गर्न भने डराएका छन्।
होटल ल्यान्डमार्कको चेनमा उनीहरूले करिब ५ अर्ब रूपैयाँ लगानी गरेका छन्। यी सबै ठाउँमा गरी ४५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको ओमले बताए।
ओमको परिवार नै अहिले होटल व्यवसायमै तल्लीन छ। दाइ मुक्तिराम र भाइ सिएन काठमाडौंमा छन् भने ओम चितवन बस्छन्। भैरहवा, पोखरा, चितवन र देवघाट पनि परिवार मिलेर हेर्छन्। यी तीन दाजुभाइका ४ छोरा र ५ छोरी छन्। छोरीहरू सबैको बिहे भइसक्यो। छोराहरू राजु, रमेश, दीपक र सम्राट चारै जना यही व्यवसायमा छन्।


करिब चार दशक लामो व्यावसायिक यात्रामा ओम सबभन्दा राम्रो व्यवसा



