काठ निकासी घुस प्रकरण : ३ जनालाई कैद र जरिवानाको फैसला

काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले घुस प्रकरणमा जोडिएका तीन जनालाई दोषी ठहर गरेको हो । अदालतले पूर्ण शङ्कर यादवलाई १ वर्ष ३ महिना कैद र २ लाख ४२ हजार ३ सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।
त्यस्तै किशन सिंह साउद र प्रेमसिंह ठगुन्नालाई जनही १ वर्ष कैद र २ लाख ४२ हजार ३ सय ३३ रुपैयाँ जरिवाना सुनाएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषका लागि जनही ९६ हजार ९ सय ३३ रुपैयाँ क्षतिपूर्ति शुल्क समेत भराउने फैसला गरेको छ ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रहेका प्रेम सिंह ठगुन्नाको लागि भन्दै प्रतिवादी पूर्ण शङ्कर यादवले उजुरीकर्ता किशन सिंह साउद (विशाल) बाट ७ लाख २७ हजार रुपैयाँ घूस लिएका थिए । सो रकम वनको घाटगद्दी गरिएको काठको विमा र छोडपुर्जीका लागि माग गरिएको थियो । अख्तियारको टोलीले उक्त रकम यादवको कार्यकक्षबाटै बरामद गरेको थियो ।
प्रतिवादीहरूले अदालतमा बयान फेरे तापनि अख्तियारले सङ्कलन गरेको अडियो रेकर्ड, टेलिफोन संवादको ट्रान्सक्रिप्ट र विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनका आधारमा उनीहरू दोषी देखिएका हुन् । बरामद भएको नोटको नम्बर र उजुरीकर्तासँगको फोन संवादलाई अदालतले मुख्य प्रमाणको रूपमा लिएको छ ।



