मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
नैकापमा गाडी आगजनी गर्ने युवक जेनजी आन्दोलनका घाइते – Pradesh Dristhi
देश

नैकापमा गाडी आगजनी गर्ने युवक जेनजी आन्दोलनका घाइते

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको दुई दिनअघि काठमाडौँको नैकाप र महाराजगन्जमा दुई वटा गाडी आगजनी गरेको अवस्थामा भेटियो । नैकापस्थित सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिक मूल सडकमा बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा.७ च. १४०१ नम्बरको मारुती भ्यान आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएर चन्द्रागिरि नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ घर भएका ५५ वर्षीय कृष्ण मिजार छन् । उनीहरूलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आगजनीमा संलग्न सुमन बोहरा भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका घाइते हुन् । नेप्लीज बिजेनस डाइरेक्टरी, वान क्लब र युकेबाट प्रदान गरिएको ‘गो फन्ड’ मार्फत एउटा समूहले उनलाई २५ हजार नगद सहयोग गरेको थियो । सहयोग रकम हस्तान्तरण गरेको भिडियो इन्स्टाग्राममा राखिएको छ । सो भिडियोमा बोहराले आफ्नो परिचय दिँदै भनेका छन्, ‘आन्दोलनमा मान्छे बचाउँदै गर्दा अर्को समूहले तलबाट आगो लगाएपछि दुई तलाबाट हाम्फाल्दा मेरो खुट्टा भाँचिएको हो ।’

जेनजी आन्दोलनमा खुट्टा भाँचिएर उपचार गराएका बोहरा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आवद्ध भएको अनुसन्धानबाट थाहा भएको छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने प्रसाईं समूहको घोषणा अनुसार बोहराले फागुन १९ मा बिहान नैकापमा बिएए २८३६ नम्बरको टोयोटा कार आगजनी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जेनजी आन्दोलनका घाइते बोहराको साथबाट लागुऔषध ट्रामाडोल पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने– ‘उनको साथमा १० ट्याब्लेट ट्रामाडोल भेटिएको छ ।’

प्रहरीले उनीविरुद्ध आगजनी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । गाडी आगजनी गरिएको ठाउँबाट प्रहरीले दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको पर्चा बरामद गरेको थियो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker