मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थमा दबाब: भारतमा कडाइ, नेपालमा ग्यास आपूर्ति कति सहज? – Pradesh Dristhi
देश

अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थमा दबाब: भारतमा कडाइ, नेपालमा ग्यास आपूर्ति कति सहज?

अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि तेलमार्गको रूपमा चिनिने होर्मुज मार्ग अवरोध भएको छ।

इरानका तेल प्रशोधन क्षेत्रमा समेत हमला भइरहेको खबर बाहिरीएपछि विश्वभर पेट्रोलियम पद्धार्थको भाउ बढिरहेको छ।

यसकारण पेट्रोल, डिजेल र ग्यासको माग तथा खपत पनि बढिरहेको छ।

पेट्रोल र डिजेलको तुलना एलपी (खाना पकाउने) ग्यासको भण्डार क्षमता कम हुने भएकाले यसको आपूर्ति व्यवस्थापन अझ संवेदनशील मानिन्छ।

अहिले एलपिजीको वैकल्पिक आपूर्तिकर्ता उत्तर अमेरिका पनि टाढा पर्छ। त्यसैले घरेलु उपभोक्तालाई ग्यास आपूर्ति अवरूद्ध नहोस् भन्ने सुनिश्चित गर्न भारत सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेको हो।

भारतमा घरेलु प्रयोगका एलपिजी सिलिन्डर रिफिल बुकिङ गर्न पाइने न्यूनतम अवधि २१ दिनबाट बढाएर २५ दिन पुर्‍याइएको छ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्न सक्ने भन्दै अनावश्यक भण्डारण रोक्न यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

भारतमा करिब छ हप्तामा एक घरलाई एउटा खाना पकाउने ग्यास सिलिन्डर आवश्यक पर्ने गरेको मानिएको छ।

त्यसैले २५ दिनको बुकिङ सीमा प्रयोगकर्ताका लागि सहज हुने भारतीय सञ्चार माध्यम एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ।

यहाँ पनि पेट्रोलियम पदार्थ भारतबाटै आयात हुने हो। नेपाल आयल निगम (एनओसी) ले यहाँ आवश्यक हुने पेट्रोलियम पदार्थ भारत सरकारको स्वामित्व भएको इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ल्याउँछ।

भारतमै ग्यासको अभाव भएपछि यहाँ आपूर्तिमा असर पार्छ कि पार्दैन? यस विषयमा हामीले एनओसीका प्रवक्ता मनोज ठाकुरसाई सोधेका छौं।

आइओसीले नेपाललाई मागअनुसार ग्यास उपलब्ध गराउने जनाएको ठाकुरले सेतोपाटीलाई बताए।

‘हामी दैनिक छलफलमै छौं। उनीहरूले नेपाललाई माग अनुसार ग्यास दिने बताएका छन्,’ उनले भने।

उनका अनुसार अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वभर पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आउन सक्ने अनुमान गरिएको छ।

त्यसैले भारत मात्र होइन, अन्य देशहरूले पनि पेट्रोलियम पदार्थको खपत कम गर्ने रणनीति अपनाउन थालेका छन्।

पाकिस्तानले त ऊर्जा खपत घटाउन ‘वर्क फ्रम होम’ नीति समेत लागु गरेको छ।

भारतले पनि प्रयोग गर्ने ग्यासमध्ये करिब ८० प्रतिशत आयात नै गर्छ। तर, भारतको एक दिनको ग्यास खपत नै नेपालको वर्षभरको खपत बराबर हुने भएकाले नेपाललाई आपूर्ति नरोक्ने बताइएको छ।

आइओसीले ग्यासको मूल्य बढाएर पठाए पनि आफूहरूले मूल्य नबढाएको समेत उनले बताए।

‘३० तारिखमा आइओसीले ग्यासको मूल्य बढाएको थियो। तर हामीले बढाएनौं। उपभोक्तालाई सहज होस् भनेर त्यसमा हामीले घाटा खाएका छौं,’ उनले भने।

उनका अनुसार अहिले निगमलाई ग्यासमा प्रतिसिलिण्डर दुई सय १६ रूपैयाँ घाटा छ।

आगामी दिनमा ग्यास बिक्री गर्दा उद्योगी र बिक्रेतालाई रेकर्ड राखेर मात्र दिन निर्देशन दिइएको पनि निगमका प्रवक्ता मनोज ठाकुरले बताए।

‘हिजो उद्योगी, व्यवसायीसँग छलफल थियो। हामीले उपभोक्ताको नाम, फोन नम्बर लगायतका रेकर्ड राखेर मात्रै ग्यास दिन निर्देशन दिएका छौं,’ उनले भने।

निगमबाट उद्योगी, उद्योगीबाट बिक्रेता र बिक्रेता मार्फत उपभोक्तासम्म ग्यास वितरण भइरहे पनि उपभोक्ताको गुनासो भने अझै पूर्ण रूपमा नहटेको उनी बताउँछन्।

यसलाई व्यवस्थित गर्न अब ग्यास बिक्री गर्दा स्पष्ट रेकर्ड राख्न निर्देशन दिइएको छ।

डिलरले बिक्रेतालाई र बिक्रेताले उपभोक्तालाई ग्यास दिँदा रेकर्ड राख्नुपर्ने व्यवस्था गरिएको छ। साथै, होटल तथा रेष्टुरेन्टभन्दा घरायसी उपभोक्तालाई प्राथमिकता दिन पनि निर्देशन दिइएको उनले जानकारी दिए।

‘ग्यास आयात प्रत्येक महिना बढेको छ तर पनि उपभोक्ताको गुनासो पूर्ण रूपमा हटेको छैन,’ उनले भने।

नेपालमा दैनिक करिब १ लाख ५ हजार ग्यास सिलिन्डरको माग छ। आयात तथ्यांकअनुसार पुस महिनामा करिब ४७ हजार ५ सय मेट्रिक टन, माघमा करिब ४६ हजार ५ सय मेट्रिक टन ग्यास आयात भएको छ।

फागुन २५ गतेसम्ममा करिब ४३ हजार ५ सय मेट्रिक टन ग्यास आयात भइसकेको छ भने महिनाको अन्त्यसम्ममा करिब ५० हजार मेट्रिक टन पुग्ने अनुमान गरिएको छ।

उनले अनावश्यक रूपमा घरमा ग्यास थुपारेर नराख्न उपभोक्तालाई आग्रह गरेका छन्।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवन बहादुर चन्द पनि ग्यासको समस्या नहुने भएकाले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न सुझाउँछन्।

‘निगमले ग्यास आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। ग्यासको समस्या हुँदैन,’ उनले भने।

आगामी दिन ग्यासको खपत क्रमशः घट्दै जाने उनको अनुमान छ।

संघका अध्यक्ष चन्दका अनुसार सामान्यतया जाडोयाममा ग्यासको खपत २० देखि २५ प्रतिशतसम्म बढ्ने गर्छ। तर गर्मीयाम सुरू भएसँगै खपत स्वाभाविक रूपमा घट्न थाल्छ।

अहिले बजारमा देखिएको अभाव वास्तविकभन्दा पनि केही उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास घरमा मौज्दात राखेकाले यस्तो समस्या निम्तिएको उनले बताए।

‘विस्तारै अवस्था सामान्य हुँदै जान्छ। युद्ध पनि रोक्ने बुझिएको छ। ग्यासको समस्या हुँदैन,’ चन्दले भने।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker