हर्क साम्पाङका प्रतिस्पर्धी डा. रक्षकुमार राईको चुनाव खर्च : मःम, चाउमिन र बदाम जुसमा ४० हजार खर्च

काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार उनले चुनाव प्रचारका क्रममा कुल ४० हजार ७४० रुपैयाँ खर्च गरेका छन् ।
उनको खर्चको मुख्य शीर्षकमा पेट्रोल, विभिन्न परिकारका चाउमिन र मःम, तथा पेय पदार्थहरू समावेश छन् । खर्च विवरणअनुसार, डा. राईले ५० लिटर तेल, १० प्लेट चिकेन चाउमिन, १२ प्लेट पोर्क झोल मःम, २० प्लेट चिकेन स्टिम मःम र ६ प्लेट पोर्क बारबिक्यूमा खर्च गरेका छन् । पेय पदार्थतर्फ ५ बोतल कोक, १५ बोतल ‘एक्सट्रिम’, १० बोतल बदाम जुस र १० बोतल पानीको खर्च देखाइएको छ ।
खाजाबाहेक, उनले सय छाक सादा खानामा १५ हजार रुपैयाँ र ५० लिटर पेट्रोलमा ८ हजार २५० रुपैयाँ खर्च भएको जानकारी दिएका छन्
३९ वर्षीय डा. राईले यस निर्वाचनमा जम्मा १७ मत प्राप्त गरेका थिए । यसै क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कसाम्पाङ ३५ हजार ७४१ मतसहित विजयी भएका छन् ।
डा.राईले भड्किलो प्रचारप्रसारमा खर्च नगरेको र त्यसरी बचेको रकम युवा रोजगारीमा लगाउने घोषणा गरेका छन् । आयोगमा पेस गरिएको फारमको नोटमा उनले अनावश्यक भौतिक प्रचार सामग्रीको खर्च कटौती गरी उक्त रकम युवालाई रोजगारी दिलाउन प्रयोग गर्ने उल्लेख गरेका छन् ।
_7wwQYdX0mO.png)



