मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
इरान युद्ध र ऊर्जा सङ्कटका बिच ट्रम्प र पुटिनबिच टेलिफोन वार्ता – Pradesh Dristhi
Banner news (with photo)अन्तर्राष्ट्रिय

इरान युद्ध र ऊर्जा सङ्कटका बिच ट्रम्प र पुटिनबिच टेलिफोन वार्ता

मस्को । विश्वभर ऊर्जा सङ्कट चुलिँदै गएको र इरानमा युद्ध जारी रहेको गम्भीर परिस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच सोमबार टेलिफोन वार्ता भएको छ। यस वर्ष यी दुई नेताबिच भएको यो पहिलो वार्ता हो।

वार्तामा मुख्य गरी इरानमा जारी युद्ध, युक्रेनमा शान्तिको सम्भावना र विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको उछालका विषयमा छलफल भएको छ। इरानमा अमेरिका र इजरायलको आक्रमणपछि स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा सन् २०२२ मा युक्रेनमा रुसी आक्रमणपछि देखिएको भन्दा ठुलो ऊर्जा सङ्कट अहिले विश्व अर्थतन्त्रमा देखिएको छ।

फ्लोरिडास्थित आफ्नो गल्फ क्लबमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले पुटिनसँगको कुराकानी फलदायी भएको जानकारी दिएका छन्। ट्रम्पका अनुसार पुटिनले इरान मामिलामा सहयोग गर्न इच्छा देखाएका छन्। जवाफमा ट्रम्पले पुटिनलाई रुस-युक्रेन युद्ध अन्त्य गरेर अझ ठुलो सहयोग गर्न आग्रह गरेको बताएका छन्।

अर्कोतर्फ, रुसी राष्ट्रपति पुटिनले इरानमाथिको युद्धले विश्व ऊर्जा बजारलाई जोखिममा पारेको चेतावनी दिँदै खाडी मुलुकबाट हुने तेल ढुवानी जुनसुकै बेला ठप्प हुन सक्ने बताएका छन्। पुटिनले युरोपेली देशहरू दीर्घकालीन सहकार्यका लागि तयार भए रुस पुनः ग्यास र तेल उपलब्ध गराउन तयार रहेको सङ्केत समेत गरेका छन्।

मध्यपूर्वको द्वन्द्वका कारण तेल आपूर्तिमा आएको अवरोधलाई सम्बोधन गर्न ट्रम्प प्रशासनले रुसमाथि लगाइएका केही कडा प्रतिबन्धहरू खुकुलो बनाउनेबारे गम्भीर विचार गरिरहेको छ। विश्व बजारमा तेलको अभाव कम गर्न रुसी तेललाई बजारमा आउन दिने तयारी अमेरिकाले गरेको हो।

यस अन्तर्गत भारत जस्ता देशहरूले अमेरिकी दण्ड वा शुल्कको डर बिना रुसी तेल किन्न पाउने गरी विशेष सहुलियत दिनेबारे छलफल भइरहेको छ। गत हप्ता मात्रै अमेरिकाले भारतलाई समुद्रमा ट्याङ्करमा रहेका रुसी कच्चा तेल अस्थायी रूपमा खरिद गर्न अनुमति दिएको थियो।

रुसी विदेश नीति सल्लाहकार युरी उसाकोभले यो वार्ता निकै अर्थपूर्ण रहेको र यसले दुई देशबिचको भावी कार्यदिशामा व्यवहारिक महत्त्व राख्ने बताएका छन्। उसाकोभका अनुसार ट्रम्प पनि युक्रेन युद्धमा तत्काल युद्धविराम र दीर्घकालीन समाधानको पक्षमा देखिएका छन्। रुसी सेना युक्रेनमा अगाडि बढिरहेको अवस्थामा किभले अब वार्ताको बाटो रोज्नुपर्ने रुसको बुझाइ छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker