मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु – Pradesh Dristhi
देश

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु

हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गरिएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको स्वीकृति प्राप्त भएपछि प्रतिष्ठानले यसै शैक्षिक वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालनमा ल्याएको हो । सोमबार नवप्रवेशी विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशका विभिन्न पालिका स्तरमा बनेका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको उल्लेख गर्दै उक्त अभाव पूर्ति गर्न एमबीबीएस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नागरिकलाई व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको संवैधानिक दायित्व भएको बताउँदै हेटौँडा अस्पतालसहित प्रादेशिक अस्पतालको सेवा–सुविधा हरेक वर्ष विस्तार गर्दै लगिएको जानकारी दिए ।

मन्त्री थापाले जिल्ला अस्पतालका रूपमा रहँदा र प्रतिष्ठान मातहत आएपछि हेटौंडा अस्पतालको सेवा र संरचनामा उल्लेखनीय सुधार आएको दाबी गरे । हाल मकवानपुरसहित मधेश प्रदेशका पाँच जिल्लाबाट समेत बिरामी उपचारका लागि हेटौंडा आउने गरेको उनको भनाइ छ । साथै, प्रतिष्ठानबाट अध्ययन पूरा गर्ने विद्यार्थी अन्य प्रतिष्ठानका भन्दा अब्बल चिकित्सकका रूपमा निस्कने अपेक्षा व्यक्त गर्दै हेटौंडालाई स्वास्थ्य क्षेत्रको शैक्षिक हबका रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।

प्रतिष्ठानका संस्थापक कुलपति तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठान स्थापना गर्न निकै ठुलो सङ्घर्ष गर्नुपरेको स्मरण गर्दै विद्यार्थीलाई अनुशासित ढङ्गले अध्ययनमा केन्द्रित हुन आग्रह गरे । उनले अनावश्यक चलखेलमा नलागी पढाइमा मात्रै ध्यान दिन विद्यार्थीलाई सचेत गराउँदै अन्य प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्ने नभई अन्य प्रतिष्ठानले मदन भण्डारीसँग प्रतिस्पर्धा गर्ने वातावरण बनाउनुपर्ने बताए ।

पूर्वमुख्यमन्त्री पौडेलले प्रतिष्ठानलाई विद्यार्थीको पहिलो रोजाइ बन्ने गरी शैक्षिक गतिविधि सञ्चालन गर्ने लक्ष्य रहेको पनि बताए । प्रतिष्ठान हेटौंडाको मात्र नभई समग्र प्रदेशको साझा गौरवका रूपमा विकास हुँदै जाने उनको अपेक्षा छ ।

हाल प्रतिष्ठानका विभिन्न कार्यक्रमहरू हेटौंडाको गौरीटार, हेटौंडा–११ स्थित नलेज भिलेज, हुप्रचौर र कमाने क्षेत्रमा सञ्चालन भइरहेका छन् । छरिएर रहेका कार्यक्रमलाई एउटै भवनबाट सञ्चालन गर्न प्रदेश सरकारको १२ करोड रुपैयाँ लगानीमा नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको उपकुलपति प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिष्ठानमा हाल एमबीबीएससहित बीएससी नर्सिङ, ब्याचलर अफ फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ विषयमा अध्ययन भइरहेको छ । साथै, सात विषयमा एमडी कार्यक्रम सञ्चालनमा रहेको छ । यस वर्ष एमडी कार्यक्रमका लागि थप नौ विषय समावेश गरिएको छ भने सिट सङ्ख्या ८ बाट बढाएर २७ पुर्‍याइएको छ ।

विसं २०७६ असोज २ गते ऐन पारित भएपछि स्थापना भएको प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, अनुसन्धान र दक्ष चिकित्सक उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । हाल प्रतिष्ठानमा चार विदेशीसहित ४६ जना विद्यार्थी एमबीबीएस कार्यक्रममा भर्ना भएका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker