अस्पताल उद्घाटनमा जुनियर एनटीआर पुग्दा तोडफोड, भीड नियन्त्रण गर्न लाठीचार्ज

बैंगलोर । साउथ स्टार जुनियर एनटीआर सहभागी एक अस्पतालको उद्घाटन समारोहमा प्रशंसकको अनियन्त्रित भीडले तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको छ।
मार्च ८ मा बैंग्लोरस्थित केआईएमएस सुपर स्पेसियालिटी अस्पतालको उद्घाटनका लागि अभिनेता पुगेका थिए। उनलाई हेर्न जम्मा भएको हजारौँको भीडका कारण अस्पताल परिसरमा ठूलो क्षति पुगेको छ।
जुनियर एनटीआर आउने खबर पाएलगत्तै अस्पताल बाहिर प्रशंसकहरूको बाक्लो उपस्थिति थियो। अभिनेता आइपुग्ने बित्तिकै उनीसँग नजिकिन खोज्नेहरूको धक्कामुक्कीले भागदौड मच्चियो, जसमा जुनियर एनटीआर आफैँ पनि केही बेर भीडमा फसेका थिए।
सुरक्षाकर्मी र स्थानीय प्रशासनले निकै मिहिनेत गरेर उनलाई सुरक्षित स्थानमा पुर्याएका थिए। सोही क्रममा आक्रोशित र अनियन्त्रित प्रशंसकहरूले अस्पतालको एस्केलेटर समेत फुटाइदिएका छन्।
स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले भीडलाई तितरबितर पार्न लाठीचार्ज गर्नुपरेको थियो। यसअघि पनि दक्षिण भारतीय कलाकारहरूको कार्यक्रममा यस्तै दुखद घटनाहरू भइसकेका छन्।
गत सेप्टेम्बरमा अभिनेता थलापति विजयको राजनीतिक र्यालीमा भागदौड हुँदा ४० जनाको ज्यान गएको थियो भने ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा अल्लू अर्जुन हैदराबादको थिएटर पुग्दा भएको झडपमा एक महिलाको मृत्यु भएको थियो। त्यस घटनापछि अल्लू अर्जुनविरुद्ध उजुरी समेत दर्ता भएको थियो।



