‘पेलेर’ टिकट लिएका कमल थापाको काठमाडौँ-५ मा जमानत जफत

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका राप्रपाका पूर्वअध्यक्ष कमल थापाले लज्जास्पद हार व्यहोरेका छन् । उनले जमानतसमेत जोगाउन सकेनन्।
पार्टीभित्रका अन्य आकांक्षीलाई पेलेर जबरजस्ती टिकट हत्याएका थापालाई मतदाताले भने अस्वीकृत गरेका छन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल ३० हजार ७३७ मत ल्याएर विजय हासिल छन्। दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत प्राप्त गर्दा नेकपा एमालेका हेभिवेट नेता ईश्वर पोखरेल ४ हजार ७०१ मतसहित तेस्रो स्थानमा खुम्चिए।
तर, राप्रपाको चुनाव चिह्न लिएर उठेका कमल थापाले भने जम्मा १ हजार ९२२ मत मात्र प्राप्त गरे। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेपछि कानुनबमोजिम उनको जमानत जफत भयो ।
काठमाडौँ ५ बाट राप्रपाका तर्फबाट स्थानीय नेता हिक्मतजंग कार्कीले टिकट पाउने निश्चित भइसकेको थियो। तर, अन्तिम समयमा कमल थापाले आफ्नो प्रभाव प्रयोग गर्दै पेलेर उक्त टिकट आफूले लिएको आरोप लागेको थियो । लामो समयदेखि क्षेत्रमा खटिएका कार्कीको टिकट खोसिएपछि आक्रोशित हुँदै उनले राप्रपा नै परित्याग गरेका थिए। स्था
‘हारको शृङ्खला’
कमल थापाले २०४७ सालपछि भएका विभिन्न चुनावमा पटक–पटक उम्मेदवारी दिए पनि प्रत्यक्षतर्फ उनको नतिजा निकै कमजोर रहँदै आएको छ। उनले २०५१ सालबाहेक प्रत्यक्ष निर्वाचनमा जित निकाल्न सकेका छैनन्।
उनको चुनावी इतिहास यस्तो छ:
२०४८ साल (प्रतिनिधिसभा): मकवानपुर–१ बाट एमालेका कृष्णप्रसाद दाहालसँग पराजित।
२०५१ साल (मध्यावधि): मकवानपुर–१ बाट विजयी। तर, सोही चुनावमा मकवानपुर–२ बाट एमालेका विरोध खतिवडासँग पराजित।
२०५६ साल (प्रतिनिधिसभा): मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहाल र मकवानपुर–३ मा एमालेकै वीरबहादुर लामासँग दुवै क्षेत्रमा पराजित।
२०६४ साल (पहिलो संविधानसभा): मकवानपुर–३ मा माओवादीका प्रल्हाद लामिछानेसँग पराजित।
२०७० साल (दोस्रो संविधानसभा): प्रत्यक्ष चुनाव नजिते पनि समानुपातिक सूचीबाट संसद् प्रवेश।
२०७४ साल (प्रतिनिधिसभा): मकवानपुर–१ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित।
२०७९ साल (प्रतिनिधिसभा): मकवानपुर–१ मा राप्रपाकै दीपक सिंहसँग पराजित हुँदै तेस्रो स्थानमा सीमित।



