धनुषामा निर्वाचन अवधिसम्म भारतीय सीमा नाका सिल

काठमाडाैँ । निर्वाचनको मौन अवधि सुरु भएसँगै धनुषामा रहेका भारतीय सीमा नाकाहरु सिल गरिएको छ । प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले निर्वाचनमा अवाञ्छित गतिविधि हुन नदिने सुरक्षा योजनाअनुसार धनुषा जिल्लाका जटहीलगायतका सीमा नाका बन्द गरिएको जानकारी दिए।
गत रातिबाट नाका बन्द गरिएको सो नाका फागुन २१ गते निर्वाचनको मतदान कार्य सम्पन्न भएपछि मात्रै संचालनमा आउनेछ । प्रहरी नायव उपरीक्षक बमले सीमा नाकाहरुबाट निर्वाचनमा हुने सुरक्षा चुनौतिलाई ध्यानमा राखेर सवारी साधनलगायतका चेकजाँचमा पनि कठाई गरिएको बताए।
उनले भने,‘प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा जिल्लाको भारतीय सीमा क्षेत्रसँग जोडिएको सीमाहरु पूर्ण रुपमा १८ गते हिजो राति १२ बजेदेखि २१ गते रातिसम्म नाका सिल गरिएको अवस्था छ । र अहिले नाकाहरुमा चेकजाँच गरिरहेको अवस्था पनि छ । र कुनैपनि सवारी साधन र मानिसहरुलाई आवातजावत गर्न दिइएको छैन । २१ गते हुने चुनावको सन्दर्भमा एकीकृत सुरक्षा योजना तर्जुमा गरेर कार्यान्वयन भइरहेको छ । सोही अनुसारको जनशक्तिहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षा निकायहरुबाट जनशक्ति परिचालन भईसकेको छ ।’
नेपाल–भारतबिचको सीमा नाकामा दुवै देशका सुरक्षा अधिकारीहरुको बैठकले निर्वाचनमा केन्द्रित सुरक्षा योजना बनाएको र सोही अनुसार सो नाका बन्द गर्ने काम गरिएको हो । त्यसैगरी एकीकृत सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना र राष्टित«य अनुसन्धान विभागका जनशक्तिहरु निर्वाचनका लागि परिचालन गरिएको प्रहरी नायव उपरीक्षक बमले बताए।



