बोलिभियामा बैंकका नोट बोकेको विमान दुर्घटना : छरिएका नोट टिप्न खोज्ने भीड हटाउन प्रहरीद्वारा अश्रुग्यास प्रहार
बोलिभियामा बैंकका नोट बोकेको मालवाहक विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । सान्ताक्रुस शहरबाट उडेर एल अल्टो विमानस्थलमा अवतरण गर्ने क्रममा बोलिभियन एअर फोर्सको विमान दुर्घटना भएको हो ।
विमान धावनमार्गबाट चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको र कैयौँ गाडीसँग ठोक्किएको बीबीसीले जनाएको छ । बोलिभियाको रक्षा मन्त्रालयका अनुसार विमानले देशको केन्द्रीय बैंकका लागि नोटहरू ओसारिरहेको थियो ।
विमान दुर्घटना लगत्तै वरपर छरिएका नोटहरू टिप्न भीड जम्मा भएपछि मानिसहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ । केही व्यक्तिहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेर पनि नोट टिप्ने प्रयास गरेका भिडियोहरु सार्वजनिक भएका छन् ।
तर केन्द्रीय बैंकले नोटमा सिरियल नम्बर राखेर जारी गर्न बाँकी रहेको कारण त्यो पैसाको वैधता नहुने जनाएको छ । दुर्घटना भएर कठिन अवस्थामा सुरक्षा घेरा तोडेर नोट टिप्ने प्रयास नगर्न रक्षा मन्त्रालयले अनुरोध गरेको छ ।
अन्तिम अपडेट: फागुन १६, २०८२



