इरानविरुद्ध इजरायलको सैन्य कारबाही सुरु

इजरायल । इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको जनाएको छ । इजरायलका रक्षामन्त्री इजरेल क्याट्जले आक्रमणको पुष्टि गर्दै देशभर आपतकालीन अवस्था घोषणा गरिएको बताएका छन् । उनका अनुसार इरानबाट ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत प्रतिकारात्मक आक्रमण हुन सक्ने त्रासका कारण देशभर आपतकाल लागू गरिएको हो ।
इरानले इजरायलमाथि हमला गर्ने सूचना पाएपछि त्यसअगावै आफूहरूले हमला गरेको इजरायली अधिकारीहरूले बताएका छन् । आक्रमणपछि इरानको राजधानी तेहरानका विभिन्न भागमा विस्फोट भएको खबर आएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार तेहरानको जम्म्हूरी क्षेत्र र युनिभर्सिटी स्ट्रिट आसपास कैयौँ क्षेप्यास्त्र प्रहार भएका छन् ।
स्थानीय स्रोतहरूले जम्म्हूरी स्क्वायर र हसन आबाद स्क्वायर क्षेत्रमा धुवाँ उडेको बताएका छन् भने पश्चिमी तेहरानमा रहेका एक संवाददाताले कम्तीमा दुईवटा ठूलो विस्फोटको आवाज सुनेको जनाएका बीबीसीले उल्लेख गरेको छ ।
इजरायली सेनाले देशभर साइरन बजाइएको र सर्वसाधारणलाई सुरक्षित स्थाननजिकै बस्न निर्देशन दिइएको जनाएको छ ।
इजरायलका विद्यालयहरू बन्द गरिएका छन् । सार्वजनिक जमघटमा प्रतिबन्ध लगाइएको छ र अत्यावश्यक सेवाबाहेकका कार्यस्थलहरू बन्द गरिएका छन् । थप विवरण आउन बाँकी छ ।



