मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
खरानीबाट उठ्दै भाटभटेनी : मीन बहादुरको आँट र निजी क्षेत्रको संरक्षणमा चुकेका राजनीतिक दल – Pradesh Dristhi
देश

खरानीबाट उठ्दै भाटभटेनी : मीन बहादुरको आँट र निजी क्षेत्रको संरक्षणमा चुकेका राजनीतिक दल

जतिखेर राजनीतिक दलहरू चुनावको तयारीस्वरुप आफ्ना घोषणापत्र, वाचापत्र अनि करारपत्र नामका सपनाका पुलिन्दा लेख्दै थिए। एउटा उद्यमी आफ्नामात्र होइन आफूमा आश्रित हजारौंको रोजगारीको जोहो गर्दै थिए, जलेर खरानी भएको आफ्ना व्यवसायलाई उठाउँदै थिए।

कुशासन र बढ्दो बेरोजगारीविरुद्ध भदौ २३ गते उर्लेको युवा आन्दोलनमा घुसपैठ गरेर भदौ २४ गते हजारौँलाई रोजगारी दिने उद्यम तथा व्यावसायिक प्रतिष्ठानहरू जलाउनेलगायतका राजनीतिक दलहरू उग्र, उत्तेजित र सस्ता भाषण गर्दै हिँडिरहँदा उनी एक्लै रोजगारी जोगाउन भिडिरहेका थिए।

यो कथा होइन, नेपालको प्रचलित खुद्रा व्यापारिक प्रतिष्ठान भाटभटेनी र त्यसका अध्यक्ष मीन बहादुर गुरुङको वास्तविकता हो।

युवा आन्दोलनका घुसपैठियाको आक्रमण तथा आगलागीबाट ध्वस्त भएको करिब छ महिनापछि, उपभोक्ता अर्थतन्त्रको प्रतीक भाटभटेनी सुपर स्टोरका नीला र पहेंला टावरहरू त्यही लगानशील उद्यमीको सहासका कारण फेरि उठ्न थालेका छन्।

अनि, मीन बहादुर गुरुङले यसै मेसोमा आज (बिहीबार) महाराजगन्ज भाटभटेनी पुनः सञ्चालनमा ल्याएका छन्। यसअघि माघ २४ गते उनले कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा ल्याएका थिए।

तत्कालीन सरकारको नालायकीको पराकाष्ठाका कारण भएको भदौ २३–२४ को उथलपुथलको आपाधापीमा घुसपैठीयाको तारो बनेर पूर्ण रूपमा जलाइएको भाटभटेनी सुपरमार्केटको महाराजगञ्ज भवन अत्याधुनिक प्रविधिसहित पुनर्निर्माणपछि आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ।

निर्माण सम्पन्न भएपछि परम्पराअनुसार आइतबार विधिवत् रूपमा वास्तु शान्ति तथा रुद्री पूजा गरिएको थियो। उक्त अवसरमा यस परियोजनामा संलग्न करिब २,००० देखि २,५०० निर्माण श्रमिकलाई सम्मान पनि गरिएको थियो।

बिहीबार आफ्नो अनवरत लगनशीलताका कारण यति चाँडै पुनर्निर्माणपछि सञ्चालनमा आएको महाराजगञ्जको भाटभटेनी सुपरमार्केट अगाडि हल्का थकित तर हिम्मत नहारेका गुरुङले सुस्तरी भने, खरानीबाट उठेर फेरि सेवा सुरु गर्न पाउनु ‘गहिरो पीडाबाट निको भइसकेपछि दुई कदम अगाडि बढेजस्तै अनुभूति’ भएको छ।

‘भदौ २४ को घटना सम्झनसमेत चाहन्नँ, त्यो दुर्लभ र कल्पनाभन्दा बाहिरको घटना थियो,” गुरुङ भन्छन्, “जसरी युद्धले सन् १९४५ मा जापानको नागासाकी वा १९४४ मा म्युनिख तहसनहस भयो, भदौ २४ गते पनि यहाँ युद्धभूमि जस्तै अवस्था थियो। तर हामी त्यो खरानीको थुप्रोबाटबाट फेरि उठ्यौँ।’

उमेरले ६० नाघेका गुरुङले आगलागीले आफ्नो वर्षौँको मेहनत खरानी बनाइदिए पनि त्यसले आफूभित्र २५–२६ वर्षे युवाको ऊर्जा र सकारात्मक आक्रोशसहितको दृढ संकल्प जागृत गराएको बताउँछन्। ‘मसँग जित्नुबाहेक अर्को विकल्प छैन। म कहाँ भागेर जानु?,’ उनले भने, ‘म यही देश र यही माटोमा बाँच्नुपर्छ।’

उनले पुन निर्मित भवन केवल व्यापारिक केन्द्र मात्र नभई हजारौँ मानिसको आवागमन हुने स्थान भएकाले ‘पूर्ण सुरक्षा’ सुनिश्चित गरिएकोमा पनि जोड दिए।

आजको दिनसम्म भदौ २४को विध्वंसमा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएका १२ भाटभटेनीमध्ये दुई वटा औपचारिक रूपमा पुनः सञ्चालनमा आएका छन्।

भाटभटेनीले आगजनी भएको ठीक तीन महिनापछि मंसिर १८ गते कम्पनीको बलुवाटारस्थित केन्द्रीय गोदाम पुनः सञ्चालनमा ल्याएको थियो। यस्तै, कोटेश्वर भाटभटेनी पनि पाँच महिनाको पुनर्निर्माणपछि माघ २४ गतेदेखि पुनः सञ्चालनमा आइसकेको छ।

हालसम्म पूर्ण रूपमा ध्वस्त भएका भाटभटेनीहरूमध्ये यी दुई मात्रै पुनः सञ्चालनमा आए पनि, क्षति नपुगेका सात र आंशिक रूपमा तोडफोड भएका नौ गरी अन्य १६ शाखाले भदौको आन्दोलनपछि असोजम सेवा सुचारु गरेका थिए। बाँकी १० ध्वस्त भएका भाटभटेनी आउटलेटको पुनर्निर्माण तीव्र गतिमा जारी रहेको गुरुङ बताउँछन्।

बौद्ध शाखा पनि चैत मसान्तसम्ममा पुनः सञ्चालनमा ल्याउने तालिका छ, उनी पटक्कै निराश नभईकन बताउँछन्। पोखरा, धरान र विराटनगरसहित बाँकी सबै भाटभटेनीहरू आउँदो दशैँसम्ममा ‘झन् भव्य स्वरूपमा’ सञ्चालनमा ल्याउने रणनीतिक रोडम्याप पनि गुरुङले सुनाए।

तत्कालीन सरकारको डिजिटल सेन्सरशिप र भ्रष्टाचारविरुद्ध युवाहरूले थालेको आन्दोलनमा क्रमशः घुसपैठ हुँदै नेपालको इतिहासकै विनाशकारी ध्वंसमा परिणत भयो। भाटभटेनी सबैको तारो बन्यो, १२ आउटलेट खरानी भए, नौ वटा तोडफोड र लुटपाटमा परे र हजारौँ युवाको रोजगारी अचानक अनिश्चिततामा पर्यो। यी आक्रमणहरू आकस्मिक थिएनन्।

किनकि लामो समयदेखि नेपाली समाजमा राजनीतिक दलहरूद्वारा निर्मित गलत भाष्यले नागरिकको मनमस्तिष्कमा निजी क्षेत्रप्रति नकारात्मक धारण बनेको थियो। जुन नेताहरूको कुनै निश्चित आयस्रोत छैन, नियमित आम्दानी छैन उनैले लामो समयदेखि जोखिम मोलेर व्यवसाय गर्ने, नाफा कमाउने र सरकारलाई कर तिर्ने अनि रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई दोहन गर्न उनीहरू विरुद्ध नकारात्मक भाष्य सिर्जना गरिरहेका थिए। त्यसैको फलस्वरुप यी आक्रमण भएका थिए।

वि.सं. २०४८ सालको आर्थिक उदारीकरणले नेपालमा सामान्य गरिखाने वर्गका लागि पनि आर्थिक अवसर सिर्जना गर्यो। धेरै व्यवसाय तथा उद्यम त्यसपछि उदाए। यसै मेसोमा गुरुङको उदय नेपालको आर्थिक रूपान्तरणको एउटा कथा हो।

खोटाङको सामान्य किसान परिवारमा जन्मिएका गुरुङले २०३७ सालतिर आफूले खाइपाइ आएको बैंकिङ जागिर छोडेर खुद्रा व्यापारमा होमिए। विसं २०४१ सालमा उनले पत्नी सबित्री गुरुङको बिहेको गहना बेचेर नक्सालस्थित भाटभटेनी मन्दिर नजिक सानो कोल्ड स्टोर खोले। अनि जब नेपालमा आर्थिक उदारीकरणको लहर आयो, उनको सपनाले पनि स्वतन्त्र उडान गर्ने अवसर पायो।

आज चार दशकपछि, त्यो सानो व्यापार झण्डै ३० आउटलेट भएको सञ्जालका रुपमा दशैभर फैलिएको छ। यसले वार्षिक अर्बौँ रुपैयाँको कारोबार गर्दै आएको छ, दैनिक दशौँ हजार ग्राहकलाई सेवा पनि दिएको छ र सरकारलाई कर पनि तिर्दै आएको छ।

करिब १७ वर्षअघि आजदेखि पुनः सञ्चालनमा आएको त्यहि महाराजगञ्ज सुपरस्टोर खुलेपछि उनको जीवनमा एउटा टर्निङ प्वाइन्ट आयो। गुरुङको जीवनमा मात्र नभएर नेपाली उपभोक्तामाझ पनि यो एउटा यस्तो घुम्ती थियो, जसले नेपाली खुद्रा व्यापारको आकार र सुविधामा नयाँ मापदण्ड स्थापित गर्‍यो। त्यसपछिकका वर्षमा त भाटभटेनी सहरी उपभोगको मेरुदण्ड, ठूलो करदाता र स्वदेशी उत्पादक तथा बहुराष्ट्रिय ब्रान्डका लागि प्रमुख वितरण संयन्त्र बन्यो।

तर पछिल्ला वर्षहरूमा, विशेषतः २०६४ सालपछि नेपालको अर्थतन्त्रमा सैद्धान्तिक र व्यावहारिक विचालन आउन थाल्यो। त्यो विचलन २०७२ सालपछि चरमोत्कर्षमा पुग्यो। खुला बजार तथा निजी क्षेत्रका नाममा केहि सीमित विचौलिया सरकारको सहयोगमा बजारमा कब्जा गर्ने तर वास्तविक निजी क्षेत्र पीडित हुने स्थिती सिर्जना भयो। तत्कालीन सरकारप्रमुख केपी शर्मा ओलीको नेतृत्वमा निजीक्षेत्रको नाममा विचौलियाको दबदबा यति बढ्यो कि समाजमा झन् निजीक्षेत्रप्रति नकारात्मक धारणा जरो गाड्न थाल्यो।

यसै मेसोमा बढ्दो बेरोजगारी तथा जीवनयापन लागत, समाजमा जरो गाडेको नातावाद तथा कृपावाद र विचौलियाको कब्जाका कारण आर्थिक लाभबाट बहिष्कृत भएको अनुभूति गरेका युवा सरकारका कुशासनविरुद्ध गहिरो असन्तुष्टि बढ्न थाल्यो। सरकारले ती असन्तोषमा आफ्नो विरोधमात्र देख्यो आफ्ना विकृत नीति तथा विचौलियातन्त्रको जगजगी देखिने।

त्यसैमाथि आफ्ना विरोधी तह लगाउन तत्कालीन सरकारद्वारा प्रमुख सामाजिक सञ्जाल प्लेटफर्ममाथि लगाइएको प्रतिबन्धलाई युवाहरूले राजनीतिक उच्च वर्गको आलोचना दबाउने प्रयासका रूपमा बुझे। अनि  भदौ २३ गते युवाहरू सडकमा आए, आन्दोलन भयोे। सरकारले आफ्ना नागरिकका मर्का बुझ्नुको सट्टा दिनदहाडे गोली चलाएर दर्जनौं युवाको हत्या गर्यो। त्यसपछि मौका कुरेर बसेका घुसपैठीयालाई पनि सहज भयो। घुसपैठ यसरी भयो कि नेपालको इतिहासमा भदौ २४ गते एक विध्वंस, एक कालोदिनको रुपमा सधैं स्मरण रहनेछ।

त्यसै तनावपूर्ण वातावरणमा गुरुङजस्ता निजीक्षेत्रका रोजगारदाताका प्रगतिमा जलेका तथा नेपालको अर्थतन्त्रका जरा काट्न पाए नेपालीलाई सधै गरिब अनि दास बनाउन सकिन्छ भन्ने कुत्सित विचार बोकेका हुलले नेपाली झण्डा ओडेर नेपाललाई अर्को एक दशक पछाडी धकल्ने प्रयास गरे।

बहाना गुरुङको सत्तासँगको सार्वजनिक निकटता बनाइयो। किनकि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेकपा (एमाले) को केन्द्रीय कार्यालयका लागि गुरुङले जग्गा र आर्थिक सहयोग गरेका थिए।

यसै घटनालाई ब्यवासायिक–राजनीतिक संरक्षणको प्रतीकका रूपमा अथ्र्याइयो। त्यसमाथि ललिता निवास जग्गा प्रकरणको आरोप त छँदै थियो। मानौ गुरुङले आफैले ललिता निवास जग्गाको नक्कली लालपुर्जा बनाएका हुन्, मालपोत कार्यालयमा कर तिरेर पास गरेको जग्गामा विवाद बढ्दा, मान्छे हेरेर कानुनको व्याख्या भयो। गुरुङलाई जेल हालियो तर, उनकै जस्तो कारोबार गर्नेलाई कुनै कारवाहि भएन।

बहाना जे होस्, भाटभटेनी माथि मात्र होइन, यो आक्रमण निजीक्षेत्रमाथि थियो। प्रदर्शनकारीहरूका बिचमा छिरेका घुसपैठीयकालागि गुरुङ सहज तारो बने। गुरुङकै भरोसामा आफना राजनीतिक पसल चलाएका कोहि पनि उनको बचाउमा आएनन्। उनको मात्र होइन हजारौंलाई रोजगारी दिएको र वर्षैपिच्छे उत्कृष्ट करदाता बनेको भाटभटेनीको बचाउ गर्ने पनि कोही भएनन्।

आज चुनावको मुखमा रोजगारी सिर्जना गर्छौ भनेर करोडौका गाडि चढेर घर, घर, सहर सहर भोट माग्दै हिडिरहेका नयाँ हुन् वा पुराना राजनीतिक दलहरू न त त्यतिबेला उनको व्यवसायको रक्षा गर्न आए न आज तिनका घोषणा पत्रमा उद्योग व्यवसायको रक्षा गर्ने कुनै योजना छ।

निजीक्षेत्र लक्षित भदौ २४ को योजनाबद्ध आगजनी र लुटपाटमा विभिन्न उद्योग तथा व्यवसाय खरानी बने। यसैक्रममा काठमाडौं र विभिन्न जिल्लामा रहेका भाटभटेनीका आउटलेटहरू घण्टौँ, कतिपय ठाउँमा त दिनौँसम्म जलिरहे। त्यतिमात्र नभएर मानवीय क्षति पनि भयो। कतिपय जलेका भवनबाट शव फेला परे। कति  शव त पहिचान नै गर्न नसकिने अवस्थामा पनि थिए।

आर्थिक क्षति अकल्पनीय थियो। भाटभटेनी एक्लैले १० अर्ब ८० करोड रुपैयाँभन्दा बढी क्षति भोग्नुपर्याे। समग्रमा निजी क्षेत्रले मात्रै २ खर्ब रूपैयाँभन्दा बढीको क्षति व्यहोर्नुपर्यो।

आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रूपैयाँ पुगेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ। जसअनुसार भदौ २४ को विध्वंसबाट भएको क्षति कुल अर्थतन्त्रको झण्डै ४ प्रतिशत हुन आउँछ। नेपालको इतिहासमा निजी सम्पत्तिमाथि भएको सबैभन्दा ठूलो विनाश थियो, त्यो। त्यसैकारण विश्व बैंकले पनि चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको आफ्नो अघिल्लो प्रक्षेपण ५.२ प्रतिशतबाट घटाएर २.१ प्रतिशतमा झारेको छ।

भाटभटेनीमाथिको आक्रमणको असर खुद्रा क्षेत्रभन्दा बाहिरसम्म पर्याे। सामान आपूर्तिकर्ता, उत्पादक र बीमाकर्ता सबै प्रभावित भए। नेपालको जोखिम व्यवस्थापन र बीमा संरचनाका कमजोरी पनि यस उदांग भयो।

तर, गुरुङ अबिचलित रहे। आँशु पिएर उनी डटिरहे। कारण उनमा हजारौं युवाहरू आस्रित थिए। त्यसैले यो दुखत घटनापछि गुरुङले आलोचकहरूलाई समेत चकित पार्ने रणनीति अपनाए। करिब १०,००० कर्मचारीमध्ये कसैलाई पनि हटाएनन्। जबकि झण्डै आधा कामदारको रोजगारी आगोको लप्काले खरानी बनाएको थियो। तर, उनले तलब र चाडपर्व भत्ता निरन्तर दिए र कर्मचारीलाई सञ्चालनमा रहेका शाखा वा पुनर्निर्माण कार्यमा खटाए।

गुरुङले भनेझैं उनीसँग फेरि उठ्ने बाहेक अर्को विकल्प थिए। उनी लगातार खटिए। पुनर्निर्माण तीव्र रूपमा अघि बढ्यो। तीन महिनाभित्र ध्वस्त बालुवाटार गोदाम सञ्चालनमा आयो। कोटेश्वरबाट सुरु गर्दै जलेका भाटभटेनीका नीला–पँहेला भवनहरू फेरि उठ्न थाले।

तर, नेपाली समाजमा गुरुङ अझै पनि विरोधाभासको प्रतीक बनेका छन्। उनलाई नजिकबाट चिन्नेहरूका लागि उनी एक सरल र सहज स्वभावका उद्यमी र परोपकारी ब्यक्ति हुन्। उनले नेपालको खुद्रा व्यापार क्षेत्रमा आधुनिकता ल्याए। स्वास्थ्य र शिक्षामा ठूलो लगानी गरे।

आलोचकहरूका लागि भने उनी सत्ता राजनीतिसँग जोडिएका व्यावसायिक शक्तिको एउटा प्रतिनिधि बने। नेपाली समाजले सधै गलत पात्रमा नायकत्व खोज्छ र नायकलाई खलनायक बनाउँछ, गुरुङमात्र नभएर नेपालका अधिकांश व्यवसायीको पीडा हो यो।

साथै, भदौरे आन्दोलनले विचौलियाको कब्जामा जाँदै गरेको अर्थतन्त्रका कारण आर्थिक अवसरबाट आफूलाई बाहिरिएको महसुस गर्ने युवा पुस्ताको र राजनीतिक दलबीचको ठूलो विश्वासको खाडल रहेको सत्य उत्घाटित गर्‍याे।

देशको कुल अर्थतन्त्रको ८१.५५ प्रतिशत हिस्सा ओगटेको तथा रोजगारी सिर्जनामा ८५.६ प्रतिशत योगदान दिँदै आएको निजी क्षेत्रमाथि पछिल्ला वर्षहरूमा भइरहेका लगातार आक्रमणका कारण सरकार हुनु र नहुनु खासै फरक परेको छैन।

त्यसैले, गुरुङ र नेपालको उद्योग व्यावसाय क्षेत्रका लागि पनि भदौ विद्रोहले एउटा स्पष्ट सन्देश दिएको छ, राजनीतिकरूपमा अर्धसचेत समाजमा केवल व्यावसायिक सफलता मात्र पर्याप्त हुँदो रहेनछ। पारदर्शिता, राजनीतिकदलसँगको समदूरी र युवाका आकांक्षासँग अर्थपूर्ण संलग्नता पनि उद्यमको अस्तित्वका लागि निर्णायक बन्दो रहेछ।

अनि, निर्वाचन नजिकिँदै गर्दा सबै राजनीतिक दलले ठूला–ठूला प्रतिबद्धता गरे पनि सरकारमा भएका दिन उद्यमीको लगानीको सुरक्षा सुनिश्चित गर्ने र यस्तो विनाश दोहोरिन नदिने स्पष्ट दाबी आजसम्म कसैले गरेको छैन।

त्यसैले, गुरुङले भाटभटेनीका आफ्ना पुन निर्मित भवनमा राखेको पोष्टरमा भने झैं यतिमात्र भन्न सकिन्छ, हे भगवान्, अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker