काठमाडौँ उपत्यकाका कांग्रेस उम्मेदवारले ‘भिजन-१०’ सार्वजनिक गर्दै
काठमाडौँ उपत्यकाअर्तगतका नेपाली कांग्रेसका उम्मेदवारले आज चुनावी घोषणापत्र ‘भिजन-१०’ सार्वजनिक गर्ने भएका छन्।
काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँमा १०, ललितपुरमा तीन र भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन्। कांग्रेसका १५ वटै उम्मेदवारले आज झापा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हुन्।
कांग्रेस महामन्त्री प्रदीप पौडेलको पहलमा सबै उम्मेदवारले आज दिउँसो १ बजे प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका छन्। पौडेल काठमाडौँ-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार गरिएको पौडेलले बताए। संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दामा उम्मेदवारबीच परामर्शपश्चात खाका तयार पारिएको उनले बताए।
‘समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ। एक्लाएक्लै भन्दा साझा रुपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हौँ’, पौडेलले भने।
आज हुने कार्यक्रममा तीन वटै जिल्लाका उम्मेदवार उपस्थित हुने कांग्रेस काठमाडौँका सचिव सुशन वैद्यले जानकारी दिए।



