वैदेशिक रोजगारीको प्रलोभन देखाई लाखौँ ठगी गर्ने तीन जना प्रहरी फन्दामा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको लोभ देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा बझाङ घर भई ललितपुर बस्ने नरेन्द्र बहादुर धमेना, कैलाली घर भई ललितपुर बस्ने दर्शना भण्डारी र रौतहट घर भई भक्तपुर बस्ने राजु प्रसाद कुसवाहा रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये २१ वर्षीय नरेन्द्रले बुल्गेरिया पठाइदिने बहानामा तीन जना पीडितबाट ४ लाख रुपैयाँ ठगी गरेका थिए।
त्यस्तै, २७ वर्षीया दर्शनाले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख रुपैयाँ र ५० वर्षीय राजु प्रसादले बेलायत पठाउने प्रलोभन देखाएर एक जना व्यक्तिबाट ४५ लाख १६ हजार ८९१ रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितहरूले आफूहरू ठगिएको भन्दै उजुरी दिएपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो।
पक्राउ परेका नरेन्द्रलाई काठमाडौँको भोटेबहालबाट मंगलबार नियन्त्रणमा लिइएको हो भने दर्शना र राजु प्रसादलाई बुधबार क्रमशः ललितपुरको महालक्ष्मी र काठमाडौँको दरवारमार्ग क्षेत्रबाट पक्राउ गरिएको हो। विदेश पठाउने नाममा मोटो रकम असुलेर फरार हुने उनीहरूमाथि थप अनुसन्धान आवश्यक देखिएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।



