सुधन गुरुङ मलाई पनि खासै मन पर्दैन

म पनि यही समाजको उत्पादन हुँ । जातीय मानसिक संरचनाको त्यही कथन, त्यही आधार, त्यही अवचेतन बोकेर बाँचिरहेको सामान्य नागरिक हुँ । त्यसैले म निःसङ्कोच भन्छु– मलाई पनि सुधन गुरुङ मन पर्दैन ।
तर यो अस्वीकृति व्यक्तिप्रतिको होइन । मभित्र बाँचिरहेको सामाजिक चेतना फक्रिएर बोलेको हो । रास्वपाका नेता–कार्यकर्तालाई पनि सुधन गुरुङलाई गृह मन्त्रालयजस्तो संवेदनशील, शक्तिशाली र रणनीतिक केन्द्रको नेतृत्व दिएको फिटिक्कै मन परेको छैन । उनीहरू बोल्न डराइरहेका छन् ।
मलाई सुधन मन नपर्नुको कारण थाहा छ । त्यसैले अपरीक्षित पात्रबारे उनको कार्यसम्पादन नहेरी मूल्याङ्कन गर्नु पूर्वाग्रह हो भन्ने कम्तीमा म ज्ञान राख्दछु । तसर्थ निरपेक्ष विरोध गर्नु हुँदैन । समस्या सुधनमा होइन, हाम्रो हेर्ने दृष्टिकोणमा छ । यो आलेख परीक्षित बन्नुअगावै समाजले गुरुङप्रति बनाएको शास्त्रीय र जातीय श्रेणीक्रमको दृष्टिकोणमा आधारित छ ।
- पहिचानसँग जुधिरहेको चेतना
हामीले नेतृत्वको एउटा निश्चित छवि निर्माण गरेका छौँ । समाजले दशकौँदेखि एउटा खास शासकीय स्वरूप र पात्र देख्दै आएको छ । थरले मान्यता दिने, भाषाले स्तर निर्धारण गर्ने र हुलियाले योग्यता प्रमाणित गर्ने । यस्तो संरचनामा हुर्किएको मन र मनस्थितिले अलि फरक पृष्ठभूमिबाट आएको व्यक्तिलाई सहजै स्वीकार्दैन । सुधन गुरुङजस्ता पात्रहरू यही स्थापित मानक भत्काएर आएका हुन् । त्यसैले उनीप्रति असहज हुनु स्वाभाविक छ ।
तर यो स्वाभाविकता खतरनाक छ, किनकि यसले हाम्रो सोचमा गहिरो रूपमा गढिएको विभेदको सामान्यीकरण गर्छ । हामी अनायासै उनको थरबाट, हुलियाबाट, भाषाबाट, शैलीबाट, बडी ल्याङ्ग्वेजबाट योग्यताको मापन गर्न थाल्छौँ । कार्यसम्पादनअघि नै फलानो जिम्मेवारीका लागि अयोग्य रहेको घोषणा गर्नतर्फ लाग्छौँ ।
यो व्यक्तिगत कमजोरी होइन, सामाजिक संरचनाले मस्तिष्कमा पारेको प्रभाव हो । त्यसैले सुधन गुरुङजस्ता पात्रहरू, जो परम्परागत राजनीतिक श्रेणीक्रमभन्दा बाहिरबाट आएका छन्, उनीहरूलाई स्वीकार्न हाम्रो अवचेतन मस्तिष्कलाई गाह्रो लाग्छ । उनको योग्यताभन्दा पनि थर वा पृष्ठभूमिका आधारमा प्रश्न उठ्नु सामाजिक संरचनाकै उपज हो । त्यसैले रास्वपाका हजारौँ नेता–कार्यकर्तालाई पनि सुधन मन नपरेको सत्य हो ।
- हुलिया र शैलीको राजनीति
हामी मन्त्री भन्नेबित्तिकै प्रायशः औपचारिक छवि, दौरा–सुरुवालमा ठाँटिएको, रातोपिरो खस आर्य समुदायको व्यक्ति वा पटक–पटक सत्तामा गएको राजनीतिक विरासत भएको जनजाति या मधेसीको कल्पना गर्छौं । टाई–सुट, अड्कलिएको कुटिल भाषा र दूरी कायम राखी गरिने व्यवहारको हामी अपेक्षा गर्छौँ । सार्वजनिक मञ्चमा गजक्क परेर बस्ने र आफ्नो माहात्म्य सुनाएर हिँड्ने व्यक्ति हाम्रो छविमा मन्त्री या नेताको हो । जब सडकबाट आएको, सिधा बोल्ने, आडम्बरविहीन व्यक्ति त्यही ठाउँमा पुग्छ, हाम्रो चेतना विचलित हुन्छ ।
हामी त्यसलाई पचाउन नसकेर अनेकौँ परम्परागत मानक र औपचारिकता नमिलेको ट्याग भिराएर अवमूल्यन गर्छौं । यो केवल शैलीको प्रश्न होइन; यो कसको शैलीलाई मान्यता दिने ? र, कसको शैलीलाई मान्यता नदिने भन्ने राजनीतिक–सांस्कृतिक चिन्तनबाट प्रभावित हुन्छ । जहाँ सादगीलाई कमजोरी र आडम्बरलाई क्षमता मानिन्छ ।
यसकारण सुधन गुरुङहरू अयोग्य देख्न थालिन्छ । कुनै व्यक्तिप्रति हाम्रो धारणा सधैँ उसको वास्तविक क्षमतामा आधारित हुँदैन; धेरैजसो अवस्थामा त्यो हाम्रो चेतनाभन्दा गहिरो तहमा बसेका पूर्वनिर्धारित भाष्य, अनुभव र संरचनाबाट निर्देशित र पोषित हुन्छ ।
आममानिसलाई उनी मन नपर्नुको कारण उनी स्वयं होइनन्, बरु उनी हाम्रो समाजले बनाएको ‘स्वीकार्य नेतृत्व’को परम्परागत छविसँग मेल नखानु हो । हामीले लामो समयदेखि एउटा निश्चित ढाँचामा शक्ति र नेतृत्वको कल्पना गरेका छौँ । जहाँ थर, पृष्ठभूमि, भाषा र व्यवहारले नै व्यक्तिको योग्यता मापन गरिन्छ । यसैकारण, कुनै फरक पृष्ठभूमिबाट आएको व्यक्तिले नेतृत्वको उच्च तहमा पुग्दा हाम्रो चेतनाले हत्तपत्त स्वीकार गर्न इन्कार गरिरहन्छ ।
चुनावमा पार्टीहरूले टिकट दिने बेलामा समेत जात, पहुँच र पैसाको आधारमा दिने गरिन्छ । कतिपय जातजाति, महिला र अल्पसङ्ख्यकलाई चुनाव जित्ने हैसियत नै नभएको निर्क्योल चुनावअघि नै निकालिन्छ र प्रतिस्पर्धाको मैदानमा अयोग्य बनाइन्छ । हामी कसैको थर, लिङ्ग, हुलिया र आवरण हेरेर योग्यताको मापन गर्न थाल्छौँ, जुन हाम्रो समाजमा जरा गाडेर बसेको जातीय पदानुक्रमको जड सङ्केत हो । यो केवल व्यक्तिगत पूर्वाग्रह होइन, यो हाम्रो सामूहिक मनोविज्ञानको प्रतिबिम्ब हो ।
सुधनको थर र खानदान सुन्नेबित्तिकै हामी उसको योग्यतामा प्रश्न गर्छौं । हाम्रो संरचनाले विद्वत्ता र नेतृत्वलाई एउटा निश्चित वर्ग वा समुदायको पेवाजस्तो बनाएको छ ।
जब कुनै भुइँमान्छे वा पछाडि पारिएको समुदायको व्यक्ति उच्च ओहोदामा पुग्छ, तब समाजले उसको क्षमतालाई होइन, उसको उत्पत्तिलाई हेरेर न्याय गर्न खोज्छ । यस्तो न्याय एन्टोनियो ग्राम्सीले भनेझैँ सांस्कृतिक प्रभुत्व हो, जहाँ शासक वर्गले आफ्नो मूल्य–मान्यतालाई नै एक मात्र सत्यका रूपमा स्थापित गरिदिएको हुन्छ । सुधनको जस्तो शैलीलाई अपरिपक्व वा हलुका देख्नु हाम्रो परम्परागत सामन्ती चेतनाको प्रारूप हो ।
- अनुभवहीनता र टिमको महत्त्व
शासकीय अनुभव नहुँदा प्रणाली बुझ्न समय लाग्न सक्छ । शासकीय अनुभव नहुनु एउटा वास्तविक प्रश्न हो । राज्य सञ्चालन जटिल प्रक्रिया हो र अनुभवको आफ्नै विशेष मूल्य हुन्छ । तथापि असल नियत र राम्रो टिम नै यसको अचुक औषधि हो । मन्त्रीले विज्ञहरूको सल्लाह सुन्ने र संस्थागत स्मृतिलाई उपयोग गर्न सक्ने टिम बनाउन सके भने अनुभवहीनतालाई क्षमताले प्रतिस्थापन गर्न सकिन्छ ।
शासकीय अनुभवको अभावप्रति शङ्का स्वाभाविक भए पनि, असल नियत र सक्षम टोली भएमा त्यस्तो कमी धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ । समस्या तब सुरु हुन्छ, जब अनुभवको प्रश्न क्षमता परीक्षण नभएर अस्वीकारको आधार बन्छ । शासन व्यक्तिगत प्रतिभा मात्र होइन, सामूहिक क्षमताको परिणाम हो । त्यसैले प्रश्न अनुभवको मात्र होइन, प्रश्न हो– हामी कसरी मूल्याङ्कन गर्छौँ ?
प्रजातन्त्रमा नागरिकले शासकलाई ‘ब्लाइन्ड चेक’ दिनु हुँदैन । शङ्काको प्रशस्त सुविधासहितको शुभकामना नै सबैभन्दा सन्तुलित दृष्टिकोण हो । यसले उनीहरूलाई काम गर्ने अवसर पनि दिन्छ र साथसाथै खबरदारी पनि गरिरहन्छ । नयाँ मन्त्रिपरिषद्ले प्रशासनिक संयन्त्रलाई आफ्नो भिजनअनुसार चलाउन सक्ला ? वा अनुभवहीनताकै कारण कर्मचारीतन्त्र उनीहरूमाथि हावी होला ? यो प्रश्न भने जबर्जस्त आइरहने प्रश्न हो ।
गुरुङका मानवीय कमजोरी वा कार्यक्षमतामाथि प्रश्न उठाउनु लोकतान्त्रिक अधिकार हो । तर, उनको हुलिया र पृष्ठभूमिकै आधारमा उनलाई निषेध गर्न खोज्नु संरचनागत पूर्वाग्रह नै हो । यो मन्त्रिपरिषद्ले यदि यी अपरीक्षित पात्रहरूलाई निर्बाध काम गर्ने ठाउँ दियो भने, यसले भविष्यमा नेपालको शासकीय स्वरूपलाई अझ बढी समावेशी र भुइँ–स्तरको बनाउन मद्दत पुर्याउनेछ । सुधन गुरुङको हुलिया, बोल्ने शैली र खानदानप्रति हाम्रो समाजले गर्ने टिप्पणी केवल व्यक्तिगत मनमुटाव मात्र होइन, यो त हाम्रो संरचनागत चिन्तनको उपज हो ।
लोकतन्त्रमा नागरिकले प्रश्न उठाउनै पर्छ । तर प्रश्न र पूर्वाग्रहबीचको भिन्नता स्पष्ट हुनुपर्छ । शङ्काको सुविधा दिनु भनेको अवसर दिनु हो । काम गर्न, प्रमाणित गर्न र असफल भए आलोचना सहन सिकाउनु हो । तर सुरुवातमै निष्कर्ष निकाल्नु भनेको लोकतान्त्रिक प्रक्रियालाई नै अवरुद्ध गर्नु हो ।
- खतरा कहाँ छ ?
सुधन गुरुङ मन नपर्नु कुनै अनौठो विषय होइन, ठूलो कुरा के हो भने हामी किन मन पराउँदैनौँ ? कारण उनको काम होइन, उनको थर, शैली, पृष्ठभूमि र हाम्रो अभ्यस्त मानसिकता हो । खतरा हाम्रो नियत हो । हामी नयाँलाई अस्वीकार गर्ने बानीबाट बाहिर ननिस्किएसम्म कुनै पनि परिवर्तन केवल नाम मात्रको हुनेछ । त्यसैले अहिलेको सबैभन्दा जिम्मेवार दृष्टिकोण के हो भने न अन्ध समर्थन, न अन्ध विरोध । बरु, सजग आलोचना र सम्भावनाप्रति खुला मनले स्वीकार भाव प्रकट गर्नु हो ।
जनप्रतिनिधि कुनै राजदरबारमा योजनाबद्ध रूपमा उत्पादन गरिएका व्यक्ति होइनन् । झन् रास्वपा गठनको चार वर्षसमेत पुगेको छैन । उनीहरू समाजको बहुविध धरातलबाट उदाएका पात्र हुन् । राजपरिवारका सदस्यहरू भने भविष्यमा राजा, युवराज वा राजकुमारी बन्ने निश्चित भूमिकाका लागि सानैदेखि विशेष ढङ्गले तयार पारिन्छन् । उनीहरूको शिक्षादेखि व्यवहारसम्म कसरी बोल्ने, कहाँ बोल्ने, कोसँग घुलमिल हुने सबै कुरा निश्चित प्रोटोकल र अनुशासनभित्र प्रशिक्षण गरिन्छ ।
उनीहरूको जीवन पूर्वनिर्धारित मार्गमा अगाडि बढाइन्छ । तर जनप्रतिनिधिहरूको यात्रा बिलकुल फरक हुन्छ । उनीहरू कोही सामाजिक सेवाबाट, कोही आन्दोलन र अभियानबाट, कोही शैक्षिक, धार्मिक वा पेसागत क्षेत्रबाट राजनीतिमा प्रवेश गर्छन् । त्यसैले उनीहरूको व्यक्तित्व, सोच र अभिव्यक्ति पनि विविध हुन्छ । यही विविधता नै लोकतन्त्रको शक्ति हो, कमजोरी होइन । यस सन्दर्भमा गुरुङ पनि त्यही प्रक्रियाबाट आएका एक प्रतिनिधि हुन् ।
उनी कुनै विशेष राजसी प्रशिक्षणबाट आएका होइनन्, बरु सामाजिक–राजनीतिक प्रक्रियामा सक्रिय हुँदै जनताको अनुमोदन प्राप्त गरेर संसद्सम्म पुगेका व्यक्ति हुन् । उनीजस्तै अन्य सांसदहरू पनि जनताकै दैलोबाट वैधता प्राप्त गरेर आएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी आफैँमा युवा ऊर्जा र नयाँ सोचको प्रतिनिधित्व गर्ने दल हो, जहाँ युवाहरूको उल्लेख्य उपस्थिति छ । सुधन गुरुङ पनि त्यही पुस्ताका एक प्रतिनिधि हुन् । त्यसैले उनको योग्यता र क्षमता आजकै आधारमा अन्तिम निष्कर्ष निकाल्नु हतारो हुनेछ । लोकतान्त्रिक अभ्यासमा कुनै पनि जनप्रतिनिधिको मूल्याङ्कन उनको विगतको प्रोटोकल होइन, वर्तमानको कार्यसम्पादन र भविष्यको योगदानले निर्धारण गर्छ । त्यसैले सुधन गुरुङको मूल्याङ्कन पनि उनले गर्ने काम, लिने निर्णय र जनताप्रतिको उत्तरदायित्वको आधारमा गर्नु न्यायोचित हुन्छ ।
- प्रोटोकल र संस्थागत गरिमा
व्यक्तिगत स्वभाव भलाद्मी हुनु एउटा पक्ष हो, तर महत्त्वपूर्ण पदमा पुगेपछि केही निश्चित मर्यादा र प्रोटोकलहरूको पालना गर्नु अपरिहार्य हुन्छ । प्रोटोकल किन ? यो केवल व्यक्तिगत प्रदर्शनका लागि होइन, बरु उनले प्रतिनिधित्व गर्ने संस्थाको गरिमा र अन्तर्राष्ट्रिय छवि जोगाउनका लागि हो ।
सन्तुलनको आवश्यकता सुधनका लागि अहिलेको मुख्य चुनौती भनेको आफ्नो मौलिक भुइँ–स्वभाव नत्यागी राजकीय जिम्मेवारीका प्रोटोकलहरूलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने नै हो । हाम्रो समाजले सुन्ने गरेको भाष्य र सुधनले देखाएको यथार्थबीचको खाडललाई उनले आफ्नो कार्यशैलीबाटै पुर्नुपर्ने देखिन्छ ।
यदि उनले पदको मर्यादा राख्दै आफ्नो इमानदार स्वभावलाई काममा बदल्न सके भने, यसले नेपालको राजनीतिमा नयाँ शासकीय संस्कृतिको जग बसाल्नेछ । मलाई थाहा छैन सुधनले कस्तो काम गर्छन् । मेरो चासो कति मात्र हो भने उनको पद बहालीलाई लिएर हाम्रो समाजले उनीप्रति कस्तो प्रतिक्रिया दियो र किन पूर्वाग्रह राख्यो । हामी दलित, जनजाति, मधेसी, महिला र अल्पसङ्ख्यकप्रति कस्तो मनोवैज्ञानिक विकार पालेर बसेका छौँ र किन ?
सुधन लोकतान्त्रिक प्रक्रियाको सबैभन्दा स्वच्छ चुनावमार्फत विजयी भएर आएका जनप्रतिनिधि हुन् । यसअघि जसरी शेरबहादुर देउवा, खुमबहादुर खड्का, भीमबहादुर रावल, रामबहादुर थापा, शक्ति बस्नेत, रवि लामिछाने र रमेश लेखकलगायत गृहमन्त्री बनेका थिए ।
सुधनले गलत काम गरेमा दण्डभागी हुनेछन् । राम्रो काम गरे सम्मानित । उनको कामको घाटा रास्वपा पार्टी, सभापतिको रूपमा रवि लामिछाने र प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहलाई हुनेछ । रास्वपाले बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारलाई नकाम गर्ने छुट मात्रै नभएको होइन, काम नगरी बस्ने छुट पनि छैन ।



