मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सुदूरपश्चिमका हिमाली ट्रेकिङ रुटलाई व्यवस्थित गर्ने सरकारको योजनाले उत्साह – Pradesh Dristhi
देश

सुदूरपश्चिमका हिमाली ट्रेकिङ रुटलाई व्यवस्थित गर्ने सरकारको योजनाले उत्साह

धनगढी । बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सुदूरपश्चिममा रहेका प्रमुख महत्त्वपूर्ण पर्यटकस्थलसम्म जोड्ने टे«किङ रुटलाई व्यवस्थित गर्ने योजना घोषणा गरेको छ । सम्भावना धेरै तर वर्षौंदेखि ओझेलमा परेका यी पर्यटकस्थलमा एक महिनामै ट्रेकिङ रुट व्यवस्थित गर्ने सरकारको योजनाले सुदूरपश्चिममा केही आशा पनि पलाएको छ ।

सरकारले अघि सारेको शासकीय सुधारका १ सय दिने कार्ययोजनामा अछामको रामारोशन, बाजुराको बडिमालिका र दार्चुलाको अपि हिमाल ट्रेकिङ रुटलाई व्यवस्थित गर्ने उल्लेख छ । यसका लागि एक महिनाभित्र कार्यान्वयन गर्न सकिने स्पष्ट खाका तयार पार्ने सङ्कल्प गरिएको छ ।

सुदूरपश्चिमकै कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद केपी खनालका अनुसार सरकारले यो विषयमा तीव्र रूपमा काम गरिरहेको छ । ‘सुदूरपश्चिमको विकासका लागि पर्यटन नै प्रमुख आधार हो । यसका लागि हामीले आवश्यक अध्ययन र योजना बनाउने काम सुरु गरिसकेका छौँ । काम अगाडि बढिरहेको छ,’ उनले भने

सरकार गठन भएको १०० दिनमा यी रुटका लागि सरकारले कस्तो काम गर्ला भन्नेमा चासो बढेको छ । खासगरी सुदूरपश्चिममा वर्षौंदेखि पर्यटन क्षेत्रको विकासका लागि लागिपरेका व्यक्ति सरकारको यो घोषणाबाट उत्साहित छन् ।

दार्चुलाका स्थानीय गोपी धामीले सरकारको यो निर्णय सुदूरपश्चिममा पर्यटकको चहलपहल हुन्छ भन्ने आशा पलाएको बताए । उनले भने, ‘सरकारले काम गर्छु भनेको छ । हेरौँ, केही न केही परिवर्तन हुन्छ कि !’

बझाङको साइपाल र दार्चुलाको अपि हिमाललाई लुकेको हिरा मानिन्छ । ७ हजार १३२ मिटर अग्लो अपि र ७ हजार ३१ मिटर अग्लो साइपाल हिमाल यस प्रदेशका पर्यटक भित्र्याउने मुख्य आधार हुन् । यी हिमालका आधार शिविर पुग्ने बाटोमा भेटिने तालतलैया, झरना, रङ्गीचङ्गी फूलले ढाकेका पाटन र जैविक विविधताले जोकोहीलाई मन्त्रमुग्ध पार्छन् ।

करिब १४ दिन लामो अपि–साइपाल पदयात्राका क्रममा पर्यटकले नेपालको राष्ट्रिय चरा डाँफे, मुनाल तथा नाउर र झारलजस्ता वन्यजन्तु प्रत्यक्ष देख्न पाउँछन् । हिमालमात्र नभई यहाँको संस्कृति पनि उत्तिकै लोभलाग्दो छ । देउडा खेल, दार्चुलाको मलेसी र बझाङको धुलेली संस्कृतिले पर्यटकलाई फरक र आत्मीय स्वाद दिन्छ ।

सम्भावना हुँदाहुँदै पनि पूर्वाधारको अभावमा सुदूरपश्चिमले पर्यटनबाट सोचेजस्तो लाभ भने लिन सकेको छैन । पर्यटन विभागको तथ्याङ्क हेर्ने हो भने पर्वतारोहणबाट आउने राजस्वमा सुदूरपश्चिमको हिस्सा निकै कम छ । वेबपोर्टल पिकभाइजरका अनुसार सुदूरपश्चिममा ५ हजार ५ सय मिटरभन्दा माथिका करिब २०० वटा हिमाल छन्, तर अहिलेसम्म ७१ वटाको मात्र नामकरण भएको छ । धेरैजसो चुचुरा अझै गुमनाम छन् ।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार पर्यटकका लागि सुरक्षित पदमार्ग, बस्नका लागि होटल वा टि–हाउस सञ्चार सुविधा र दिशा देखाउने संकेत चिह्नहरूको ठुलो अभाव छ । दार्चुलाको अपि हिमाल गाउँपालिकाका अध्यक्ष भरतसिंह ठेकेरे बोहराका अनुसार प्रदेशमा प्राकृतिक सम्पदा त छन् तर पर्यटकलाई बस्न र खान व्यवस्थित ठाउँ छैन । पर्यटक भित्र्याउने आधार नहुँदा यी ठाउँ ओझेलमा परेको उनले जानकारी दिए ।

उता बझाङमा पनि हिमालहरूको उचाइ मापन र प्रोफाइल तयार पार्नुपर्ने पनि देखिन्छ । स्थानीयस्तरमा तालिमप्राप्त गाइड र भरिया नहुनु पनि अर्काे समस्या भएको त्यहाँका स्थानीयको भनाइ छ ।

पछिल्लो समयमा जलवायु परिवर्तनको असरले यहाँका हिमालहरू बिस्तारै काला पहाडमा परिणत हुन थालेका छन् । जडीबुटी सङ्कलनका नाममा हुने चोरीसिकार र आगलागीले जैविक विविधतामा सङ्कट थपेको छ । फोहोर व्यवस्थापनको उचित प्रबन्ध नहुँदा हिमनदी र जलस्रोतहरू सुक्दै जानु चिन्ताको विषय हो ।

वातावरणविदहरूले यो क्षेत्रलाई संरक्षण क्षेत्र वा राष्ट्रिय निकुञ्ज घोषणा गरेर व्यवस्थित गर्न सुझाव दिँदै आएका छन् । यो क्षेत्र पर्यावरणमा कुनै पनि समस्या नआउने गरी विज्ञहरूको सुझावका आधारमा पर्यटक भित्र्याउने आधार खोज्नुपर्ने साइपाल गाउँपालिकाका स्थानीय मदन धामीको भनाइ छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker