मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
दुई दिन बिदा दिने सरकारको निर्णयप्रति राष्ट्रिय सभामा आक्रोश – Pradesh Dristhi
देश

दुई दिन बिदा दिने सरकारको निर्णयप्रति राष्ट्रिय सभामा आक्रोश

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सो निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

सोमबार बसेको बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले सरकारको यो कदमले मुलुकमा बेथिति निम्त्याउने जिकिर गरे। उनले सरकारी कर्मचारीलाई हप्तामा तीन दिनसम्म बेरोजगार राखेर सरकारले के गर्न खोजेको भन्दै प्रश्न समेत गरे।

पश्चिम एसियाको युद्धलाई बहाना बनाएर शिक्षण संस्था र सरकारी कार्यालय बन्द गर्नु न्यायोचित नभएको उनको तर्क छ। विश्वकर्माले विशेषगरी विद्यार्थीहरूको पठनपाठनमा पर्ने असरबारे सरकारलाई सचेत गराए।

नेपाल पहाडी र गरिबीले घेरिएको मुलुक भएकाले अधिकांश विद्यार्थी पैदल हिँडेर विद्यालय जाने गरेको तथ्य प्रस्तुत गर्दै उनले सार्वजनिक यातायात सुचारु रहने तर विद्यालय बन्द गर्ने सरकारको दोहोरो चरित्रको आलोचना गरे। उनले कर्मचारी र विद्यार्थीलाई लामो समय फुर्सदिलो बनाउँदा शैक्षिक र प्रशासनिक क्षेत्रमा गम्भीर असर पर्ने भन्दै यो निर्णय तत्काल खारेज गर्न सरकारसँग जोडदार माग गरे।

यसैगरी बैठकमा सांसद सावित्री मल्लले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराइन्। अन्तर्राष्ट्रिय बजारको बहाना देखाएर आयल निगमले गरेको अत्यधिक मूल्यवृद्धिका कारण यातायात र ढुवानी भाडा बढेको र त्यसको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुमा परेको उनले बताइन्।

बजारमा महँगी र उपभोग्य वस्तुको अभावले आम नागरिकको जीवन कष्टकर बनेको उल्लेख गर्दै उनले मूल्यवृद्धि तत्काल समायोजन गर्न सरकारलाई दबाब दिइन्। सांसद मल्लले बजारमा देखिएको कृत्रिम अभाव र मूल्यवृद्धिलाई नियन्त्रण गरी सर्वसाधारणलाई राहत दिन सरकारले विशेष कदम चाल्नुपर्नेमा जोड दिइन्।

अन्तर्राष्ट्रिय कारण देखाएर पन्छिनु भन्दा पनि आन्तरिक व्यवस्थापनमार्फत जनतालाई महँगीको मारबाट जोगाउनु सरकारको मुख्य दायित्व हुने उनको भनाइ छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker