१५ दिन लाइन बस्दा पनि ग्यास नपाइएको भन्दै सांसद राईद्वारा सरकारको आलोचना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी राष्ट्रिय सभा सदस्य जयन्तिदेवी राईले बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेकी छन्। आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले झन्डै तीन महिनादेखि उपभोक्ताले ग्यासका लागि सास्ती भोग्नुपरेको भन्दै सरकारको कडा आलोचना गरिन्।
पैसा तिरेर पनि वस्तु किन्न नपाउने अवस्था लोकतान्त्रिक मुलुकका लागि सुहाउने विषय नभएको भन्दै उनले जनताको आधारभूत आवश्यकताप्रति सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिइन्। सांसद राईले अहिलेको अवस्थामा उपभोक्ताहरू १५ दिनसम्म लाइनमा बस्दा समेत ग्याँस पाउन नसक्ने स्थितिमा पुगेको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
सरकारले विकल्पका रूपमा विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गरे पनि ठुलो परिवार, वृद्धवृद्धा र बालबालिका भएका घरमा विद्युतीय चुल्होले मात्रै समस्या समाधान नगर्ने उनको तर्क छ। विश्वका अन्य मुलुकमा समस्या रहेको बहाना बनाएर सरकार उम्किन नपाउने भन्दै उनले ग्याँस आपूर्ति सहज बनाउन ठोस कदम चाल्न दबाब दिएकी छन्।
विद्युतीय चुल्हो सानो परिवारका लागि केही हदसम्म सहयोगी भए पनि व्यावहारिक रूपमा अझै ग्यासकै निर्भरता बढी रहेकाले सरकारले यसको उचित व्यवस्थापनमा ढिलाइ गर्न नहुने राईले बताइन्। उपभोक्ताले सास्ती भोगिरहँदा पनि सम्बन्धित निकाय मौन बसेकोमा आपत्ति जनाउँदै उनले पैसा तिरेपछि सेवा पाउनु नागरिकको अधिकार भएको स्मरण गराइन्।
ग्याँसको हाहाकारले सर्वसाधारणको भान्सा प्रभावित बनेकाले बजार अनुगमन र आपूर्ति व्यवस्था चुस्त बनाउन उनले सरकारलाई आग्रह गरेकी छन्।



